काठमाडौं । नेपालीहरूको दोस्रो महान् पर्व तिहार हाम्रो घरआँगनमा आइपुगेको छ । हाम्रो पात्रोमा शरद ऋतु पर्वै पर्वले भरिएको ऋतु हो । हिन्दू धर्म मान्नेहरूको बाहुल्य भएको नेपालमा नेपालीहरूको महान् पर्व दशैँपछि अर्को महान् पर्व तिहार नेपालीहरूको घरआँगनमा आइसकेको छ । राष्ट्रिय पर्वका रूपमा हर्षोल्लासपूर्ण वातावरणमा मनाइने तिहारको सांस्कृतिक र धार्मिक महत्व छ । यो अत्यन्त महत्वपूर्ण र उल्लासमय पर्व भनेर नेपालीहरूबीच रहिआएको छ । तिहारलाई दीपावली पनि भनिन्छ । यो पर्व पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई ‘पञ्चक’ भनेर पनि भन्ने गरेको पाइन्छ ।
डाँडापाखाभरि ढकमक्क फुलेका फूलहरू, खेतभरि झुलेका धानका बालाहरू, बारीमा झुलेका कोदो, लटरम्म फलेका अम्बा (बेलौती), सुन्तला, जुनार, मौसम, ज्यामिर, भोगटे, बयर, मेवाजस्ता फलहरूले यो मौसममा फूल, माला, झिलिमिली बत्ती र देउसीभैलोका लागि बढी प्रसिद्ध छ । तिहार नेपालीहरूको लौकिक सामाजिक पर्व हो । तिहार दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता बढाउने एक महत्वपूर्ण पर्व पनि हो । यो पर्वमा घर झिलिमिली बत्ती, धेरै थरिका फूलले सिँगार्ने गरिन्छ । शहरबजार पनि बत्ती, फूल, मिठाइ र मसलाको परिकारले सिँगारिएका देख्न सकिन्छ । गरिब, धनी, नेतादेखि सर्वसाधारण नेपालीसम्मको तिहार मनाउने आ-आफ्नो योजना हुन्छ ।
कलाकारहरूलाई पनि तिहार नलाग्ने कुरै भएन । तर, चाडमा पनि चलचित्रकर्मीहरू आफ्नो चलचित्रको प्रमोसनमा व्यस्त हुन्छन् । गायकगायिकाहरू देशविदेशमा सांगीतिक कार्यक्रम गर्नमा व्यस्त हुन्छन् । कतिपय कलाकार भने चाडपर्वमा घरपरिवारसँगै रमाउन चाहन्छन् । सधैँ अरूलाई मनोरञ्जन दिलाउन दिनरात व्यस्त रहने कलाकारको यो तिहार मनाउने योजना कस्तो छ । कलाकारको तिहार योजना उहाँहरूकै शब्दमा :-
तिहारमा रचनात्मक कामहरूलाई नै निरन्तरता दिने योजना छ : मोहन निरौला, अध्यक्ष नेपाल चलचित्र कलाकार संघ
यसपालि हाम्रो तिहार छैन । काका बित्नुभएको हुनाले तिहार छैन । यसपालिको तिहारमा रचनात्मक कामहरूलाई नै निरन्तरता दिने योजना छ । बाँकी रहेका स्क्रिप्ट पूरा गर्ने योजना छ । तिहार हाम्रो सांस्कृतिक पर्व हो । देउसीभैलोले हाम्रो मौलिकता र सांस्कृतिक पक्षलाई उजागर गर्छ । शरद ऋतुको यो मौसममा न जाडो छ, न गर्मी, न त पानी परेको छ वा न हिउँ नै पर्न सुरु भएको छ हिमाली भेगमा । त्यसैले यो शारदीय मौसमले आहृलादित बनाएको छ । तिहारले प्रकृति पुजनलाई जोड दिएको छ । एकातिर यसले धार्मिक र सांस्कृतिक धरोहरको जगेर्ना गरेको देखिन्छ भने अर्कोतिर सामाजिक मनोविज्ञानका आधारमा परिवारमा मिठो खाने र राम्रो लाउने अनि परिवारको जमघट हुने पर्वका रूपमा पनि लिइन्छ । काग, कुकुर, धनधान्यकी देवी लक्ष्मी, गाई, गोरु र भाइ अर्थात् मान्छेलाई एउटै श्रेणीमा राखेर महत्व दिँदै राष्ट्रिय रूपमा पर्व मनाउने सायद हामीमात्र हौँ । तिहार वैदिक, पौराणिक, सांस्कृतिक, सामाजिक, पारिवारिक तथा व्यक्तिगत सम्बन्धको साझा पर्व हो । यसको मौलिकतालाई जोगाउने कर्तव्य तपाईं हामी सबैको हो ।
पुराना साथीभाइसँग भेटघाट गर्ने, रमाइलो गर्ने : लय संग्रौला, विशिष्ट कलाकार
म झापामा छु । यसपालि टीका छैन । तिहार नभए पनि पुराना साथीभाइसँग भेटघाट गर्ने, रमाइलो गर्ने योजना छ । तिहारमा हाम्रोमा विशेष रोटीका परिकार हुन्छन् । सेलरोटी असाध्यै मन पर्छ तर स्वास्थ्यका कारणले खान मिल्दैन । यस्तै यस्तै छ । यस वर्ष तिहारमा विशेष योजना केही छैन । नेपालीहरूलाई धार्मिक, सांस्कृतिक र सामाजिक पुनर्मिलन गराउने यस पर्वको विशिष्ट महत्व रहेको छ । कागतिहार, लक्ष्मीपूजा, गाईतिहार, गोबद्र्धन पूजा हुँदै भाइटीका गरी मनाइने यस पर्वले नेपालको सांस्कृतिक पक्ष र धार्मिक अन्तरसम्बन्धको अन्योन्याश्रित सम्बन्धलाई थप मजबुत बनाएको छ । तिहारलाई सामाजिक कोणबाट दिदीबहिनी र दाजुभाइबीच सद्भाव र पारस्परिक मिलनका रूपमा यसलाई लिइन्छ ।
तिहारको आफ्नै मौलिकता छ : उत्तम केसी, वरिष्ठ कलाकार
दीपावली भनिए पनि हाम्रो तिहारको आफ्नै मौलिकता छ । यो नेपालीको विशेष पर्व हो । दाजुभाइ र दिदीबहिनीको विशेष पर्वका रूपमा यसलाई लिइन्छ । तिहारको पूर्वसन्ध्यामा मेरो स्वास्थ्यमा देखिएको केही समस्याले तिहार खासै उल्लासमय नहुने देखिएको छ । फेरि पनि दिदीबहिनी र दाजुभाइ जम्मा भएर टीका लगाउने छँदैछ । एकजना भाइ र एकजना दिदी अष्ट्रेलियामा हुनुहुन्छ । अरू हामी यतै छौँ । मेरो पुख्र्यौली थलो नेपालटारमा तिहार मनाउँदै छु । उज्यालोको पर्व तिहारमा पाक्ने विशेष रोटीका साथै देउसीभैलोले यो पर्वलाई विशेष बनाएको छ ।
यसपालिको तिहार काठमाडौंमा नै मनाउँदै छु : दीपाश्री निरौला, कलाकार/निर्देशक
हाम्रो दोसो महान् पर्व तिहार सुरु भएको छ । मलाई यो पर्व एकदमै मन पर्छ । उज्याले र रंगको यस पर्वमा झिलिमिली बत्तीले अझ विशेष बनाउँछ । रंगीन चाड हो तिहार । तिहारमा रोटी विशेष हुने गर्दछन् । सेलरोटी अरू बेलाको भन्दा अलिक बढी मन पर्छ । तिहारको रोटीमा अनरसा एकदमै मन पर्छ । शुक्रबारदेखि तिहार सुरु भएको छ । यसपालिको तिहारका लागि भाइलाई निम्तो गरिसकेकी छु । लक्ष्मी पूजाको तयारीमा छु । धनतेरशमा सामान किन्ने योजना छ । यसपालिको तिहारमा म काठमाडौंमा नै छु । एकजना दिदी अमेरिकामा हुनुहुन्छ, उहाँलाई मिस गरिरहेकी छु । हामी दुईजना भाइ र पाँचजना दिदीबहिनी छाँै ।
देउसीभैलो खेल्नका लागि साथीहरूको विशेष जोड रहन्छ : शेखर खनाल, कलाकार/कृषि अभियन्ता
यसपालि तिहार काठमाडौंमा मनाउने योजना छ । तिहार भनेको दाजुभाइ दिदीबहिनीको विशेष पर्व हो । रमाइलो प्राकृतिक वातावरणसँगै बत्तीको उज्यालोले यो पर्वलाई अझ विशेष बनाएको हुन्छ । देउसीभैलो यसको अर्को विशेषता रहेको छ । देउसीभैलो खेल्नका लागि साथीहरूको विशेष जोड रहन्छ । म पनि सरिक हुन्छु । देउसीभैलोमा मैले भट्याउने गरेकाले विशेष हुने गरेको साथीहरूले भन्ने गर्नुहुन्छ । मलाई यसका लागि विशेष साथीहरूले कर गर्ने गर्नुहुन्छ । मलाई पनि रमाइलै लाग्छ । तिहारमा हामीकहाँ पाक्ने गरेका रोटीहरू विशेष हुने गर्दछन् । तिहारका फिनीरोटी, सेलरोटी पकाएको हेर्न मलाई एकदमै रमाइलो लाग्छ । खानेभन्दा पनि घरमा रोटी पाकेको हेरेर आनन्द लिन्छु म । तिहारमा धेरै समय साथीभाइसँग भन्दा पनि दिदीबहिनी, घरपरिवारसँग बस्ने, रमाइलो गर्ने, लक्ष्मीपूजामा विशेष पूजा गर्ने, यस्तै यस्तै हुन्छ । मेरी श्रीमती पनि पूजाआजामा विशेष ध्यान दिने भएकाले हाम्रो लक्ष्मीपूजा विशेष हुने गर्दछ ।
म यो तिहारमा इण्डियातिर जाँदै छु रेकर्डिङका लागि : आनन्द कार्की, गायक
मलाई तिहार विशेष रमाइलो लाग्छ । यो मौसम पनि निकै रमाइलो र राम्रो हुन्छ । मौसम राम्रोसँगै बत्तीको झिलिमिली झनै आकर्षक हुन्छ । घरमा पनि सफा गर्ने, गुरुलाई बोलाएर पूजा गर्ने । म तासजुवा खेल्दिनँ । घरमा सबैसँग रमाइलो गर्ने । दुईजना दिदीहरू बित्नुभएकाले टीका लगाइदिने भने कोही छैन । म यो तिहारमा इण्डियातिर जाँदै छु रेकर्डिङका लागि । तिहारमा लक्ष्मीपूजा गर्ने, धनतेरशमा केही सामान किन्ने ।
तिहारकै बीचमा केही गीतको तयारीमा छु : योगेशकाजी, गायक/संगीतकार
मेरो मन पर्ने चाडमध्ये तिहार पनि एक हो । तिहारको सबै दिनको आ-आफ्नो महत्व भएकाले सबै दिन मन पर्छ । लक्ष्मीपूजा विशेष लाग्छ । तिहारका झिलिमिली मन पर्छ । म यो तिहार काठमाडौंमै मनाउँदै छु । यो बीचमा गीतको तयारीमा छु । मेरो यो वर्षको तिहार योजना खासै यही भन्ने त छैन । फेरि पनि केही केही भने पक्कै छ । देउसी खेल्ने योजना छ । कुनै संघसंस्थामार्फत् देउसीभैलो खेल्दै छौँ ।
कैलालीको अत्तरियामा मनाउँदै छु : सनम कठायत, कलाकार
तिहार कलर र उज्यालोको पर्व हो । हाम्रोतिर दशैँभन्दा तिहार भव्यरूपमा मनाइन्छ । म यो वर्षको तिहार कैलालीको अत्तरियामा मनाउँदै छु । डोटी छोडेर पहिलो तिहार हो यो मेरो । मेरा दुई बहिनी, तीनजना दिदी हुनुहुन्छ । हामी दाजुभाइ तीनजना छौँ । सबै मिलेर यसपालिको तिहार मनाउँदै छु । संघसंस्थासँग मिलेर देउसीभैलो खेल्ने योजना छ । यसपालि नयाँ ठाउँ। नयाँ परिवेश केही फरक होला भन्ने छ । डोटीमा भैलो र त्यहाँका साथीभाइलाई यो तिहारमा मैले मिस गर्दैछु ।
तिहारमा प्रायः देशबाहिर रहँदै आएको भए पनि यस वर्ष घरमै मनाउँदै छु : सहिमा श्रेष्ठ, गायिका
तिहार उज्यालो पर्व हो । यो मलाई धेरै मन पर्छ । यो पटकको तिहारका लागि मेरो त्यस्तो केही योजना छैन । विगतका वर्षझैँ सामान्य तवरले मनाउँछु । म यो तिहारमा बुटवल जाँदैछु । म तिहारमा प्रायः विगत केही वर्षदेखि देशबाहिर रहँदै आएको भए पनि यस वर्ष घरमै मनाउँदै छु । कागदेखि दाजुभाइसम्मको पूजा गर्ने यो अरूभन्दा अलि बेग्लै खालको पर्व हो । देउसीभैलो खेल्न, खेलेको हेर्न, देउसीभैलीलाई दक्षिणा दिने, सेल पकाउने, यस्तै यस्तै छ मेरो यो वर्षको तिहार योजना । हाम्रो महः पूजा विशेष लाग्छ मलाई । नेपाल सम्वत् ११४४ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु ।
यसपालिको तिहारमा केही खास योजना छैन : शान्तिश्री परियार, गायिका
यसपालिको तिहारमा मेरो त्यस्तो केही खास योजना छैन । तिहारको पूर्वसन्ध्यामा पश्चिम नेपालमा आएको भूकम्प र बिहीबारमात्रै मेरो साथी एकदमै राम्रो कलाकार दीपाशा वासुको निधनले मन खुसी छैन । सायद म टीका लगाउँदिन होला । पहिला-पहिला देउसीभैलो खेलिन्थ्यो । तिहार फूल र झिलिमिली बत्तीको पर्व हो । मलाई एकदमै मन पर्ने पर्व हो तिहार । तिहारमा पाक्ने रोटीको आफ्नै महत्व छ । म आफूलाई पनि सेलरोटी पकाउन एकदमै मन पर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच