पाल्पामा ३ सय ५१ एड्स संक्रमित

समाजमा अझै खुल्न सकेनन् संक्रमित

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पामा ३ सय ५१ एड्स संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीका अनुसार आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्मको तथ्यांक अनुसार १ सय ९६ महिला र १ सय ५५ पुरुष गरी ३ सय ५१ जना एचआईभी संक्रमित रहेका हुन् ।

सो आर्थिक वर्षमा २९ जना नयाँ संक्रमित थपिएका थिए । जसमा १५ वर्ष मुनिका २ जना, १५–४९ वर्षका उमेरका १६ जना र ४९ वर्ष भन्दा माथिका ११ जनामा संक्रमण देखिएको हो । अघिल्लो आर्थिक वर्षको तथ्यांकमा मृत्युको संख्या भने छैन् । जिल्लामा ३ सय ४८ जना संक्रमितले यहाँका तानसेनस्थित युनाइटेड मिसन अस्पताल र रामपुरको रामपुर अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् । जसमा १ सय ९४ महिला र १ सय ५४ जना पुरुषले एचआईभी विरुद्धको एआरटी सेवा लिइरहेको स्वास्थ्य कार्यालयका तथ्याड्ढ अधिकृत टुकप्रसाद पोखरेलले बताउनुुभयो । उहाँका अनुसार संक्रमित मध्ये ३ जनाले उक्त सेवा लिएको देखिँदैन ।

जिल्लामा संक्रमितको संख्या धेरै भएपनि अपमान, भेदभाव र लाञ्छनाका कारण समाजमा खुल्न सकेका छैनन् । एचआईभी संक्रमित गाउँ–गाउँमा रहे पनि उनीहरु डरका कारण अझै रोग पालेर बस्ने गरेका छन् । समाजको तिरस्कारको डरले अझै पनि केही संक्रमितहरु खुल्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख डा.गिरीको भनाई छ । धेरैजसो ज्याला मजदुरीका लागि भारत लगायत अन्य देशमा गएका पुरुष संक्रमित भएर घरमा पत्नीलाई सार्ने गरेको पाइएको स्वास्थ्यकर्मी बताउँछन् । नेपालमा एचआईभी नियन्त्रणको कार्यक्रम सुरु भएको लामो समय भए पनि यौनकर्मी र तीनका ग्राहकले कण्डमबिना नै यौन सम्पर्क राख्दा एचआईभीको संक्रमण भित्रिरहेको तथ्यांक बाहिर आएको छ । नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि विदेशिनेहरू एचआइभीको उच्च जोखिममा छन् । नेपालमा अघिल्लो वर्षको तथ्यांक अनुसार एचआइभीबाट संक्रमित भएकाहरुको संख्या करिब ३० हजारको आसपासमा छ, तर दर्ता नभएकाहरुको संख्यालाई आकलन गर्ने हो भने त्योभन्दा धेरै रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

सरकारले सन् २०३० सम्म एड्स महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । उसले शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्स सम्बन्धी मृत्यु र शून्य एचआईभी सम्बन्धित भेदभाव गर्ने लक्ष्य राखेको जनाएको छ । सरकारी तथ्यांकअनुसार संक्रमितको संख्या घटे पनि उपचार सेवा लिनेको संख्यामा भने कमी आएको देखिँदैन । सरकारले आगामी पाँच वर्षमा आमाबाट बच्चामा हुने एचआईभी संक्रमणको अन्त्य गर्ने लक्ष्य राखेको छ । उसले सन् २०२६ सम्ममा आमाबाट जन्मेको बच्चामा सर्ने एचआईभी संक्रमण अन्त्य गर्ने लक्ष्य राखी कार्ययोजना अगाडि बढाएको हो ।

शुक्रबार नेपालसहित विश्वर एड्स दिवस मनाइएको छ । यस वर्षको एड्स दिवसको नारा ‘समुदायले नेतृत्व गरौं’ भन्ने तय गरिएको छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?