काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शनिबार) जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८)लाई सम्बोधन गर्नुहुने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेटस् (युएई) पुग्नुभएका उहाँले आज सम्मेलनलाई सम्बोधन गर्न लाग्नुभएको हो । कोप-२८ सम्मेलन बिहीबारदेखि दुबईमा सुरु भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायसँग अधिकारको मुद्दा उठाउने बताउँदै आउनुभएको छ । नेपाल अहिले जलवायु परिवर्तनका कारण डरलाग्दो स्थितितिर जाँदै गरेकाले अन्तर्राष्ट्रिय समुदायसँग अधिकारको मुद्दा उठाउने उहाँले बताउँदै आउनुभएको थियो । केही दिनअघि सम्पन्न जलवायु परिवर्तन राष्ट्रिय सम्मेलनले नेपालको स्पष्ट कार्यदिशा सार्वजनिक गरेको थियो । नेपालको हालको अवस्थिति र कोप-२८ मा प्रस्तुत गरिने नेपालका अवस्थितिपत्र तयार पारिएको छ ।
सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड गत बुधबार युएई प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोसमेत सहभागी हुनुहुन्छ । यस्तै, प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गंगा दाहाल र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनुहुन्छ ।
यसअघि उहाँ ‘वल्र्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुनुहुने छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गर्नुभएको थियो भने अवुधाबीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया पनि गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले सम्मेलनकै दौरानमा उच्चस्तरीय साइड इभेन्ट पनि आयोजना गर्दै हुनुहुन्छ । दुबईमा रहँदा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रमसमेत छ । प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने कार्यक्रम छ ।
यी हुुन् नेपालले उठाउने विषय
नेपालले सम्मेलनमा जलवायुवित्त, जलवायु अनुकूलनको लक्ष्य निर्धारण पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सन् २०१० मा नै धनी राष्ट्रले २०२० देखि लगभग सय अर्ब अमेरिकी डलर बराबरको लगानी नेपालजस्ता विकासोन्मुख देशमा गर्ने भनी घोषणा गरिएको थियो । तर, घोषणा गरिएको रकम अहिलेसम्म परिचालन हुन सकेको छैन । यस विषयलाई नेपालले विशेष प्राथमिकताका साथ उठाउने भएको छ ।
जलवायु परिवर्तनले कृषि, स्वास्थ्य, बसाइँसराइलगायत क्षेत्रमा पारेको असरको हानि नोक्सानी तथा जलवायु अनुकूलनका कार्यक्रमका बारेमा पनि सवाल उठाउने नेपालको तयारी छ । सरकारले हानि नोक्सानी, नेपालको पर्वतीय क्षेत्र, अनुकूलन, जलवायुजन्य बसाइँसराइ, न्यूनीकरण र लैंगिक समावेशिता, युवा र आदिवासी गरी ६ वटा विषयलाई प्रमुख एजेण्डा बनाएको जलवायुविज्ञ डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो । सम्मेलनले विश्वव्यापी चासोको रूपमा रहेको जलवायु परिवर्तनसम्बन्धी हाल भइरहेका कार्यहरूको समीक्षा र आगामी कार्यदिशा तय गर्नेछ ।
सम्मेलनमा उच्चस्तरीय सहभागिताका साथै अन्य दृष्टिकोणले पनि नेपालका लागि थप महत्वपूर्ण हुनेछ । सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत कात्तिक १२ गतेदेखि नेपालको चारदिने औपचारिक भ्रमण गर्नुभएको थियो । उहाँले सगरमाथा र अन्नपूर्ण आधारक्षेत्रको स्थलगत भ्रमण गरी जलवायु परिवर्तनको विषयलाई दिएको प्राथमिकताले पनि यस सम्मेलनमा नेपाललाई आफ्ना विषय उजागर गर्न सहज हुने बताइएको छ ।
नेपालमा लगानी गर्न आग्रह
प्रधानमन्त्री प्रचण्डले नेपालमा पुँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । कोप-२८ मा सहभागी हुन अवुधाबी पुग्नुभएका प्रधानमन्त्रीले नेपाल-दुबई व्यापार मञ्चलाई सम्बोधन गर्र्दै नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आहृवान गर्नुभएको हो । दुबई उद्योग वाणिज्य संघ सँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउननेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिनुभएको थियो ।
युएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताउनुभयो ।
दुबई उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य संघ र दुबई उद्योग वाणिज्य संघबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताउनुभएको उक्त दूतावासले जनाएको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएईबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा युएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच