काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप समन्वय बैठक सुर्खेतमा सम्पन्न भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ सहभागी रहनुभयो ।
बैठकमा प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माणतर्फ आगामी पुस मसान्तभित्र एक अर्ब बजेट सुनिश्चित गरिदिन प्रदेश खेलकुद विकास परिषद् कर्णालीले संघीय सरकारसमक्ष प्रस्ताव राखेको छ । प्रदेश खेलकुद विकास परिषद् कर्णालीका सदस्य-सचिव विश्वमित्र सन्ज्यालले दशौँ राष्ट्रिय खेलकुदको तयारी सम्बन्धमा हालसम्म भएका प्रगति र अवस्थाबारे प्रस्तुति गर्नुभयो ।
हालसम्मको तयारीले कर्णालीमा २८ वटा खेल आयोजना गर्न सकिने तर पूर्वाधार निर्माणका लागि बजेट सुनिश्चित हुनुपर्ने माग गरिएको छ । जिल्लाहरूमा रहेका भौतिक पूर्वाधारको अवस्था तथा बसोबास क्षमताका आधारमा विभिन्न जिल्लाहरूमा प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ ।
बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली जुरुक्क उठेको भन्दै संघीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बैठकमा उठेका प्रश्नहरूको जवाफमा मन्त्री लिम्बूले प्रतियोगिता कुनै पनि अवस्थामा निर्धारित मिति आगामी वर्ष मंसिरमा नै सम्पन्न गर्न तीनै तहको जिम्मेवारी भएको बताउनुभयो । प्रतियोगिताका लागि आवश्यक समन्वय र सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले प्रदेश खेलकुद तथा सरकारको तयारीले राष्ट्रिय खेलकुद परिषद् उत्साहित भएको भन्दै उपसमितिहरू दोहोरो नपर्ने गरी बनाउनुपर्ने बताउनुभयो । व्यवस्थापनसम्बन्धी उपसमितिहरू स्थानीय तहबाटै र प्राविधिक र खेल सञ्चालनसँग सम्बन्धित समितिहरू केन्द्रबाट बनाउनु उपयुक्त हुने सुझाव दिनुभयो । नवौँ राष्ट्रिय खेलकुदमा भएको कमजोरीबाट शिक्षा लिदै दशौँ खेलकुदको तयारी गरिने घिसिङको भनाइ छ ।
प्रदेशका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलको अध्यक्षतामा भएको बैठकमा प्रदेश आर्थिक मामिलामन्त्री वेदराज सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव, विभिन्न जिल्लाका खेलकुद समितिका अध्यक्ष, खेल संघका प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरूले प्रतियोगिता तोकिएकै मितिमा गर्न र आवश्यक सहयोग पुर्याउन संघीय सरकारसँग माग गरेका छन् ।
यस्तै, संघीयमन्त्री र प्रदेश मुख्यमन्त्रीबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विषयमा अन्तरसंवाद भएको छ । दशौँ राष्ट्रिय खेलकुद आयोजनाको तयारी गरिरहेको राखेप र प्रदेश सरकारबीच आवश्यक समन्वय र सहकार्यका लागि छलफल भएको हो । मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा संघीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रदेशको तयारी उत्साहजनक रहेको र केन्द्र सरकारले पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
छलफलमा प्रदेश सरकारका मन्त्रीहरू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेशका प्रमुख सचिव चूडामणि पौडेललगायतको सहभागिता थियो । त्यसक्रममा प्रदेश खेलकुदमा कर्मचारीहरू समायोजन सम्बन्धमा पनि छलफल भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच