काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने भन्दै शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । मन्त्री शर्माका अनुसार बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानविन गरी कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिने निर्णयसमेत गरेको छ ।
शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका तर फेल भएका युवाहरूले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीसँगको धरपकडमा दुई युवकको मृत्यु भएको थियो । घटनापछि शुक्रबारै सरकारले सत्यतथ्य छानविन गर्न नेपाल प्रहरीका डिआइजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् । मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा घटनाबारे गम्भीर रूपमा छलफल भएको जानकारी दिँदै भन्नुभयो,‘केही न केही कमजोरी भएर नै घटना भएको छ । त्यहीकारण हाललाई छानविन नटुंगिएसम्म गोली चलाउन आदेश दिने डिएसपी, मन्त्रीका पिएसओ र उपसचिव लगायतका कर्मचारीलाई निलम्बन गरिएको छ । उक्त घटनाको निष्पक्ष छानविन गर्ने र भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बन्ध संयन्त्रहरूलाई थप सतर्क संयमित र प्रभावकारी बनाउने पनि भएको छ ।’
सुरक्षा अधिकारीलाई जिम्मेवारीबाट हटाइयो
दुई युवकको ज्यान जानेगरी बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ । गृह मन्त्रालयले ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई मन्त्रालयमा तानेको हो । शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबीच भएको छलफलमा प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको थियो । शनिबार नै सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदी, ललितपुरका प्रहरी नायव उपरीक्षक उमेशराज लम्साल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका पिएसओ बोधराज दनुवारलाई निलम्बन गरेको छ । त्यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रेड युनियन सम्बद्ध संस्थाको एक कार्यक्रममा बालकुमारी घटनापछि सरकारले केही कदमहरू चालेको बताउनुभएको थियो । घटनाको छानविन प्रतिवेदन नआउँदासम्म केही अधिकारीहरूलाई निलम्बन गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानविनको प्रतिवेदन नआउँदासम्म निलम्बन गर्ने निर्णय गरिएको छ । इपिएस कार्यालयका पदाधिकारीबाट केही कमजोरी भएको महसुस भएर उहाँलाई त्यहाँबाट हटाइसकिएको छ ।’ सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको विषयमा सरकार गम्भीर बनेको बताउनुभएको छ ।
शुक्रबारको घटनामा सुरक्षा कमजोरी भएको र अदालतको फैसला तीन बजे आउने भन्ने कुरालाई पनि राम्रोसँग बुझाउन नसक्दा र संयमता अपनाउन नसक्दा क्षति हुन पुगेको उल्लेख गर्दै प्रवक्ता शर्माले भन्नुभयो,‘केही सुरक्षा कमजोरी भएको छ । मन्त्रीज्यूको गाडीलाई टार्गेट गरिएको भन्दा पनि स्वतःस्फूर्त रूपमा जुलुस भएको हो । करिब तीन बजे अदालतको पूर्ण फैसला आउने भन्दा पनि ठिक ढंगले सञ्चार गर्न सकिएन । आन्दोलनमा उत्तेजना हुने गर्छ । सुरक्षा संयमता अपनाउनुपर्छ भन्नेमा हामीले गम्भीर ढंगले छलफल पनि गरेका छौँ । त्यसमा केही कमजोरी भयो भनेरै गोली चलाउन आदेश दिने डिएसपी, पिएसओ, उपसचिव लगायतका कर्मचारी निलम्बित भएका छन् ।’
गृहको छानविन समिति स्वाभाविक : प्रवक्ता शर्मा
शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले बनाएको समिति मान्दिनँ भन्नु अस्वाभाविक रहेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जिकिर गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले उक्त घटनाको छानविनको लागि गृह मन्त्रालयले बनाएको समिति नमान्ने बताउनुभएको थियो । केही गल्तीहरू भए भनेरै छानविन समिति बनाएको स्पष्ट पार्दै प्रवक्ता शर्माले भन्नुभयो,‘छानविन समितिले के ल्याउँछ । निष्कर्षलाई मान्ने नमान्ने त हुनसक्छ । अब छानविन समिति कहाँबाट लगेर बनाउने त ? गृह अन्तर्गतको समस्या छ । गृह अन्तर्गतको समस्या भइसकेपछि त शान्ति सुरक्षाको विषयमा प्रश्न उठेपछि त गृह मन्त्रालयअन्तर्गत नै बन्छ छानविन समिति । त्यो छानविन समिति मान्दैनौँ भन्ने भन्दा पनि ठिक निष्कर्ष निकाल्नुपर्छ भविष्यमा पनि यस्ता घटना दोहोरिन नदिनको लागि त्यो समाधान आउनुपर्छ भन्नेसम्म माग गर्ने कुरासम्म ठिकै हो । तर, घटनालाई राज्यले गम्भीरतापूर्वक लिएको छ ।’
सुर्खेतमा टायर बालेर प्रदर्शन
शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा टायर बालेर प्रदर्शन भएको छ । मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले सुर्खेतको शनिबार वीरेन्द्रचोक, यरीचोक, मंगलगढी लगायतका चोकमा टायर बालेर प्रदर्शनमा गरेका हुन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेण्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका हुन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेण्टी हुनुपर्ने उनीहरूको माग छ ।
माइतीघरमा प्रदर्शन गर्ने सातजना पक्राउ
बालुकमारी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको शुक्रबारको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा आन्दोलन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । माइतीघरबाट हेमराज थापासहित सात जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो । स्थानीय प्रशासनले मंसिर पाँच गते माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो । पुस चार गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थप दुई महिनाका लागि माइतीघरलाई निषेधित क्षेत्र तोक्नुभएको थियो ।
सरकारले बेवास्ता गरेको आफन्तको गुनासो
कोरियन भाषा परीक्षाका विषयमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका दैलेखका सुजन राउतका आफन्तले सरकारले आफूहरूको पीडा नदेखेको गुनासो गरेका छन् । शनिबार बिहान किष्ट अस्पताल पुग्नुभएका कांग्रेस सांसद उदयशमशेर राणासँगको कुराकानीमा उनीहरूले सरकारले आफूहरूको चीत्कार नसुनेको बताएका हुन् । मृतकका मामा टेकबहादुर कटुवालले भन्नुभयो,‘घटना भएको यतिका समय भइसक्यो, सरकार र सम्बन्धित व्यक्तिहरूले हामीसँग सम्पर्क र छलफल गरेको छैन ।’ उनीहरूले सरकारले छलफल नगरेसम्म अस्पतालबाट मृतकको शव नबुझ्ने चेतावनी दिएका छन् । घटनाबारे छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग आफन्तहरूको छ । मृतकका आफन्तहरूले आफ्नो कुरा सरकारसम्म पु¥याइदिन सांसद जबरालाई आग्रह गरेका छन् । नभए आफूहरू आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ । सांसद राणाले यसमा आफूले सरकार र सम्बन्धित निकायसँग कुरा गर्ने आश्वासन दिँदै भन्नुभयो,‘आन्दोलनले मात्रै समस्याको समाधान हुँदैन, सरकार र सम्बन्धित निकायमा म कुरा राख्छु ।’ शुक्रबार बालकुमारीमा भौतिक पूर्वाधारमन्त्रीको प्रकाश ज्वालाको गाडी जलाएर प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रु ग्यास, लाठीचार्ज र गोलीसमेत चलाएको थियो । सुजन सडकमा ढलेको भेटिएपछि उनका साथीहरूले उनलाई किष्ट अस्पताल पु¥याएका थिए । किष्टमा दिउँसो २ बजे उनको मृत्यु भएको थियो ।
बालकुमारीमा रास्वपाको प्रदर्शन
ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा परी निधन भएका युवालाई शहीद घोषणा गर्नुपर्ने लगायतका मागसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध प्रदर्शन गरेको छ । बालकुमारीस्थित घटनास्थलमा पुगेर रास्वपा जिल्ला कमिटीले शनिबार प्रदर्शन गरेको हो । प्रदर्शनमा रास्वपा सांसद तोसिमा कार्की लगायतको उपस्थिति थियो । रास्वपाले उक्त प्रदर्शनलाई शान्तिपूर्ण सांकेतिक विरोध गरिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच