![स्वस्थ रहन आजैदेखि लागू गर्नुहोस् यस्ता बानी](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/daily-routine.jpg)
काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन लक्षित मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले सोमबार राति १२ बजेपछि मतदान नहुँदासम्म राष्ट्रियसभा चुनावसम्बन्धी प्रचार प्रसारमा रोक लगाएको हो । आयोगले सोमबार विज्ञप्ति जारी गरेर प्रचारप्रसार रोक्ने अवधिबारे सचेत गराउँदै भनेको छ, ‘राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्सम्वत् २०८० माघ आठ गते राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचार-प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ ।’
११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्थासहितको तयारी कार्य पूरा भएको आयोगले जनाएको छ । यस निर्वाचनमा निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रूपमा उक्त दिन बिहान ९ बजेदेखि अपरान्ह तीन बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को व्यवस्थाबमोजिम मतपत्रमा मत संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने विषयलाई मध्यनजर गरी सम्बन्धित मतदान केन्द्रहरूमा निर्वाचन आयोगले तोकेको कुनै एक परिचयपत्र साथ उपस्थित भई आफ्नो विवेकको गोप्य मताधिकारको प्रयोग गर्नुहुन र यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
६ वर्षे कार्यकाल सकेर फागुन २० गतेदेखि रिक्त हुन लागेका राष्ट्रिय सभाका १९ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो । २० जनाको कार्यकाल सकिए पनि एकजना भने राष्ट्रपतिबाट मनोनीत हुनेछन् । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछन् । १९ पदको लागि विभिन्न राजनीतिक दलका ५१ जना सदस्यहरू चुनावी प्रतिस्पर्धामा छन् ।
दुई फरक मतपत्र हुने
निर्वाचन आयोगले माघ ११ हुने राष्ट्रियसभा चुनावका लागि दुईवटा फरक मतपत्रको व्यवस्था गरेको छ । निर्वाचनमा प्रदेश सभाका सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिहृन रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिहृन रहेको मतपत्रहरूको व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । प्रवक्ता पौडेलले भन्नुभयो, ‘राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरू गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न स्वतन्त्र छन् । तर, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को व्यवस्थाबमोजिम मतपत्रमा मत संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न पाउने छैनन् ।’
कोशीमा एमाले र राप्रपाबीच तालमेल
राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तालमेल गरेका छन् । सोमबारको छलफलपछि दुई दल तालमेल गर्न सहमत भएका हुन् । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाका अनुसार एमालेका मतदाताले राप्रपाको अन्य तर्फका उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्नेछन् । नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले राष्ट्रिययसभा चुनावलाई लिएर एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति भएको जानकारी दिनुभयो । ११ माघमा कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यको दुई सिटका लागि निर्वाचन हुँदै छ । कोशीमा नेकपा एमालेले अन्यतर्फ परशुराम अधिकारी र महिलातर्फ रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ । महिलातर्फ उम्मेदवारी नदिएको राप्रपाले अन्यतर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । सत्तारूढ गठबन्धनले अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलामा माओवादी केन्द्रकी चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनमा कोशीमा ३६७ मतदाता छन् । जसमा ९३ जना प्रदेशसभा सदस्य र १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जना छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । कोशीमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका सात, जनता समाजवादी र राप्रपाका चार-चार र स्वतन्त्र तीनजना छन् ।
कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार चार हजार २४८, कांग्रेसको तीन हजार ६८४, माओवादी केन्द्रको एक हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । कोशी प्रदेशमा एमालेको भन्दा सत्ता गठबन्धनको मतभार एक हजार १८८ ले बढी छ । राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झर्नेछ । सत्ता गठबन्धनसँग पाँच हजार ४३६ मतभार छ । एमाले र राप्रपा तालमेल गरेपछि चार हजार ६४२ मतभार भएको छ ।
सिटौलालाई झस्का
सत्ता गठबन्धनले कोशी प्रदेशमा अन्यतर्फ कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । महिलातर्फ भने माओवादीकी चम्पादेवी कार्कीलाई अघि सारेको छ । एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवार उठाउँदा सहज ठान्नुभएका सिटौलालाई उनीहरूको तालमेलले भने चुनौती थपिएको छ । कांग्रेसभित्रको आन्तरिक किचलो अझै मिलिनसकेको र एकीकृत समाजवादी पनि सत्ता गठबन्धनसँग रुष्ट देखिएकाले सिटौलालाई थप चुनौती देखिएको गठबन्धनकै नेता-कार्यकर्ताको जिकिर छ । अघिल्लोपटक राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार हुनुभएका जसपाका हेमराज राई कम्फर्टेबल बहुमतकै बीच पनि पराजित हुनुभएको थियो । राप्रपा र एमालेको तालमेल हुँदा मतभार धेरै फरक नभएकाले सहजै जित्नेमा ढुक्क रहनुभएका सिटौलालाई समस्या देखिएको छ । गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बन्न कांग्रेसका सांसद केदार कार्कीले पार्टीभित्रैबाट विद्रोह गर्नुभएको थियो । आठ सांसद लिएर विद्रोह गर्नुभएका कार्कीलाई एमालेले समर्थन गरेको थियो । पार्टीमा विद्रोह गरेका आठजना प्रदेशसभा सदस्यलाई कारबाही गर्न पार्टी नेतृत्वलाई सिटौला समूहले दबाब दिएको कांग्रेसभित्र चर्चा भएको थियो । योबाहेक कोशी प्रदेशमा सिटौलानिकट उद्धव थापालाई कोशी प्रदेश संसदीय दलको नेता बनाएकोमा समेत असन्तुष्टि छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच