काठमाडौं । विद्युतीय ट्याक्सी व्यवसायी र पेट्रोलियम ट्याक्सी व्यवसायीबीच तनाव बढ्न थालेको छ । सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदुर संयुक्त संघर्ष समितिद्वारा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका क्रममा दुवै पक्षबीच झडपको अवस्था सिर्जना भएको हो ।
वक्ताका रूपमा बोलाइएका नेपाल राष्ट्रिय मिटर ट्याक्सी चालक सेवा समाजका अध्यक्ष राजकुमार श्रेष्ठमाथि आयोजकहरूले नै हातपातको प्रयास गरेका थिए । श्रेष्ठले अन्य गाडीजस्तै विद्युतीय ट्याक्सीका लगानीकर्ताले राज्यबाट संरक्षण र सुरक्षा पाउनुपर्ने, विद्युतीय ट्याक्सी स्वरोजगार मजदुर तथा व्यवसायीको पनि हक अधिकारको सुरक्षा हुनुपर्ने बताएपछि संघर्ष समितिका मजदुर तथा व्यवसायीहरू श्रेष्ठमाथि खनिएका थिए । निकै चर्चाचर्कीपछि सुरक्षाकर्मीले श्रेष्ठलाई सुरक्षित स्थानतर्फ लगे पनि दुवै पक्षबीचको विवाद रोकिएको थिएन ।
संघर्ष समितिले ट्याक्सीको सट्टाभर्नामा बैंक तथा वित्तीय संस्थाको पुरानो लाखौं ऋण तिर्न नसकिरहेको अवस्थामा नयाँ ट्याक्सी खरिद गर्न सक्ने अवस्था नरहेको भन्दै २० वर्ष पुराना ट्याक्सी पनि विस्थापित गर्न नहुने जनाएको छ । अदालतले दिएको परमादेशको समेत पर्वाह नगरी सरकारले महँगो सवारीसाधन खरिद गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गरेको संघर्ष समितिका संयोजक पपिन्द्र बराकोटी मगरले बताउनुभयो । संघर्ष समितिले सरकारसमक्ष विभिन्न पाँचबुँदे माग राखेको छ । ट्याक्सी सट्टाभर्नामा सबै कम्पनीका सबै किसिमका गाडी बजार प्रतिस्पर्धा गराई पेट्रोलियम पदार्थ, ग्याँसलगायत अन्य वैकल्पिक ऊर्जाबाट चल्ने सवारीसाधन सहज मूल्यमा खरिद गर्न पाउनुपर्ने मापदण्ड लागू गर्नुपर्ने, उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डबारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गर्नुपर्ने, ट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाइएको एकाधिकार (सिण्डिकेट) तत्काल खारेज गरी भिएफटीमार्फत् ट्याक्सीको आयु तोकिनुपर्ने संघर्ष समितिको माग छ ।
त्यस्तै, निजी दुर्ई तथा चारपांग्रे सवारीसाधनले चोक-चोकमा बसेर खुलेआम भाडाको काम गरिरहेको भन्दै उक्त कार्य तत्काल रोकिनुपर्ने, अस्थायी बाटो इजाजत (पटके) अनलाइन वा २४सै घण्टा खुल्ने गरी उपत्यकाको सबै नाकाबाट दिनुपर्ने र एम्बोस्ड नम्बर देवनागरी लिपिमा जारी गरिनुपर्र्ने, प्रशासनिक निकायबाट चालक मजदुरमाथि गरिने अनावश्यक गतिविधि बन्द गरिनुपर्ने पनि समितिका माग रहेका छन् ।
पछिल्लो समय पेट्रोलियम सार्वजनिक सवारीसाधन व्यवसायी तथा मजदुरहरूबाट अवरोध हुन थालेपछि विद्युतीय सार्वजनिक सवारीसाधन व्यवसायी पनि संगठित हुने भएका छन् । एक विद्युतीय सवारीसाधन व्यवसायी तोयानाथ पोखरेलले व्यावसायिकरूपमा पनि पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडी बढी उपयोगी बताउनुभयो । पेट्रोलियम गाडीको इन्धन खर्चले विद्युतीय गाडीको बैंक किस्ता तिर्न सकिने र मर्मतसम्भार खर्च पनि कम हुने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच