
नर्मलकुमार आचार्य
नारीका हक, अधिकारको आवाज बुलन्द बनाउने उद्देश्यले मनाउने गरिएको अन्तर्राष्ट्रिय नारी दिवस यसपालि यही फागुन २५ गते, शुक्रबार परेको छ । हरेक वर्ष मार्च महिनाको आठ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय दिवसको ठूलो महत्व रहेकामा शंका छैन । यस दिन उर्लाइने नारा पनि निकै गहकिलो हुने गरेको छ तर नारा अनुरूप नारी उत्थानका काम, कारबाही के कतिअघि बढे वा बढेनन् ? भन्नेतर्फ चाहिँ कसैले चासो नलिएको आभास हुन्छ ।
विगत केही वर्षयताका प्रतिबद्धतासूचक नारालाई नै हेरौं ! सन् २०२१ मा १११औं अन्तर्राष्ट्रिय नारी दिवसको राष्ट्रिय नारा थियो, ‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ । सन् २०२२ मा ११२औं नारी दिवसका बेला ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ को नारा गुञ्जाइयो । सन् २०२३ मा ११३औं नारी दिवसका राष्ट्रिय नारा बन्यो ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ । यसपालि सन् २०२४ को ११४औं नारी दिवसका लागि ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ राष्ट्रिय नारा तय गरिएको छ । वर्षेनी तय गरिने यस्ता उम्दा नारा व्यावहारिक धरातलमै अर्थपूर्ण हुनु जरुरी छ । अन्यथा कागजी फूलले बास्ना नदिए झैं उम्दा नारा पनि केवल बुँदामा सीमित हुनपुग्नेछ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिक पहुँचजस्ता तमाम विषयमा नारीलाई अगाडि बढाउनुपर्नेमा कतै विमति देखिँदैन । यस्तो सकारात्मक स्थिति हुँदाहुँदै उबनभ उचयया असुरक्षा, अशिक्षा, गरिबी, रुग्णता, बेरोजगारी र विभेदका नङ, दाह्रा नमेटिनु विडम्बनाकै द्योतक हो ।
अहिलेकै कुरो गरौं ! अब्बल नारा घन्काउँदै ११४औं अन्तर्राष्ट्रिय नारी दिवस धुमधामसाथ मनाउने खबर प्रवाह भइरहेका बखत जीउज्यान सुरक्षित नरहेका नारीका व्यथाले राष्ट्रलाई चिमोटिरहेको दारुण अवस्था देखिएको छ । यतिखेर प्रतिनिधिमूलक दुई घटना उदाहरणीय बनेका छन् : पहिलो घटना चितवनको र दोस्रो घटना संखुवासभाको हो । रत्ननगर, चितवनस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा यही फागुन १२ गते बिहान साढे दश बजे झुण्डिएको अवस्थामा फेला परेकी छात्रा शालिन पोखरेलको मृत्यु–प्रकरणले धेरैको मुटु हल्लाएको छ ।
कक्षा आठमा पढिरहेकी १४ वर्षीया शालिनको असामयिक, मर्मान्तक एवं शंकास्पद अन्त्यले हामीसामु अनेक प्रश्न ठड्याएको छ । हत्या/आत्महत्या जे हो, सम्बन्धित निकायले सत्य, तथ्यको सूक्ष्म अन्वेषण गरी जतिसक्दो छिटो व्यहोरा सार्वजनिक गर्ला नै । त्यो बेग्लै पक्ष हो ! एउटी अवोध एवं निरीह बालिकाको यस प्रकारको अन्त्य हुनुलाई कुनै पनि अर्थमा सहज मान्नसकिँदैन । सन्दर्भ केवल शालिनको मात्रै पनि कहाँ हो र ! एउटी बालिकाको जीउज्यान सुरक्षित रहन नसकेको विद्यमान विषम वस्तुस्थितिलाई यस घटनाले छर्लंग्याइदिएको छ ।
अर्को घटना संखुवासभाको हो । खाँदबारी-७ मा पर्ने आर्मी क्याम्प नजिकै घरेलु झगडा चर्कंदा २६ वर्षीया विना राईले ज्यान गुमाउनु परेको छ । सम्बद्ध जिल्ला प्रहरी कार्यालयका अनुसार उनका २७ वर्षीय पति मंसिरे शेर्पा श्रीमतीको हत्या गरी फरार भएका छन् र निजको खोजी कार्य चलिरहेको छ । यो घटना पनि अघिल्लोभन्दा कम सम्वेदनशील छैन । मानिसको ज्यान जाने जुनसुकै वा जस्तोसुकै घटना होस्, अपूरणीय तथा अत्यन्त कष्टकर हुन्छ नै । विना राईको निधनले घरमा समेत नारी सुरक्षित नरहेको अवस्था खुलस्त पारेको छ । बालिका होऊन् वा किशोरी, युवती वा प्रौढ अथवा वृद्धा, किन सुरक्षित हुनसकिरहेका छैनन् ?
अनुत्तरित प्रश्न बनेको छ । ‘निर्मला हत्याकाण्ड’ कै दृष्टान्त लिँदा हुन्छ, यत्तिका समय बित्यो तर हामी त्यहीँ छौँ, जहाँ थियौं ! दिवंगत १३ वर्षीया निर्मला पन्तले खोइ न्याय पाएको, कहाँ भयो हत्यारालाई सजाय ! संविधान र कानुनमा राम्रो व्यवस्था रहेको देखाएरमात्रै पुग्दैन । दण्डहीनताको अन्त्य सामयिक आवश्यकता बनेको हेक्का सबैमा हुनैपर्छ । संवैधानिक, कानुनी हक, अधिकारको प्रत्याभूति दिनुका साथै तिनको पहुँच आमनारीमाझ पुगे, नपुगेको हेर्ने र सुलभ्य बनाउने तारतम्य पनि उस्तै जरुरी छ । सबैभन्दा पहिले नारीको ज्यान सुरक्षित हुनुप¥यो । घर, परिवार र समाज जहाँसुकै सुरक्षाको बलियो प्रबन्ध हुनसके मात्र अन्य उपलब्धि हात लाग्दै जानेछन् । अतः हरेक उमेर समूहका नारीको बलियो सुरक्षाका लागि आवश्यक अनेक प्रबन्ध मिलाउनेतर्फ सरोकारी सबै पक्ष सदा चनाखो र सक्रिय हुनैपर्छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिक पहुँचजस्ता तमाम विषयमा नारीलाई अगाडि बढाउनुपर्नेमा कतै विमति देखिँदैन । यस्तो सकारात्मक स्थिति हुँदाहुँदै असुरक्षा, अशिक्षा, गरिबी, रुग्णता, बेरोजगारी र विभेदका नङ, दाह्रा नमेटिनु विडम्बनाकै द्योतक हो ।
अन्तर्राष्ट्रिय नारी दिवसलाई यस्ता बेथिति निमिट्यान्न पार्ने दिशामा प्रभावकारी तुल्याउनसके मात्र सफलता हात लाग्नेछ । सन् १९७५ मा संयुक्त राष्ट्र संघले औपचारिक रूपमा मनाउन प्रारम्भ गरेको अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास चाहिँ अझ पुरानो छ । सन् १९०८ मा अमेरिकामा मजदुर आन्दोलन हुँदा सहभागी १५ हजार महिलाले उतिखेरै नारी हकअधिकारका आवाज चर्काएका थिए ।
कामको घण्टा (अवधि) घटाउन, तलब बढाउन र मताधिकार कायम गराउन गुञ्जाइएको स्वरले सुखद् परिणाम दियो । सन् १९०९ मा अमेरिकाको सोसलिष्ट पार्टीले नारी दिवस मनाउने निर्णय गर्नु ऐतिहासिक ठहरियो भने सन् १९१७ मा रुसी नारीले रोटी र शान्तिका लागि गरेको आन्दोलन तथा युरोपमा भएको नारी जागरणका पाइलाले अनुकरणीय रूपरेखा तय गर्दै आयो । अन्तर्राष्ट्रिय रूपमै नारी दिवस मनाउन अग्रणी भूमिका निर्वाह गर्ने श्रेय आन्दोलनकारी क्लारा जेट्किन (जर्मनी/सन् १८५७-१९३३) लाई प्राप्त रहेको छ ।
जागरण, संघर्ष एवं आन्दोलनको ऐतिहासिक यात्रामा नेपाली नारीले खेल्दै आएको भूमिका स्तुत्य छ । राष्ट्रिय विभूति ‘जगज्जननी’ सीता, महाविदुषी गार्गीको प्राचीन परम्परामा ऐतिहासिक योगदान गर्न सक्षम भृकुटी बिर्सनै नसकिने व्यक्तित्व हुन् । काखमा बच्चा च्यापेर युद्धमा अंगे्रजको सातो लिएका वीर नेपाली महिलालाई सम्झनैपर्छ ! नालापानी र काँगडाको युद्धमा इन्द्रेणी थापा, सावित्रीदेवी आदिले देखाएको आँट र साहस न केवल प्रशंसनीय, अपितु पुजनीय छ ।
सन्तोष मान्नुपर्ने वा ढुक्क भएर रहने अवस्था भने पटक्कै छैन, सुखद् पक्ष केवल ढ्याकको एक पाटोमात्र हो, अर्को पाटो नितान्त दुःखद् छ ।
पुरुषले मात्रै राज्य चलाउँदै आएको परिप्रेक्ष्यमा नायब भई देशको शासनसत्ता सहृमाल्ने ‘वीरांगना’ महारानी राजेन्द्रलक्ष्मी नेपालका लागि मात्रै होइन, नजिकको देशका लागि उत्पे्ररकीय थिइन् । ढाल, तरबार आदि भिरेर घोडा चढी सेनाको मनोबल बढाउन पुग्ने राजेन्द्रलक्ष्मीको कीर्ति साँच्चै बेजोड छ । उतिबेलै, उपनिवेशवादको विरोध गर्ने भक्तकुमारी थापा (भीमसेन थापाकी पत्नी) हिम्मत र निर्भीकताकी प्रतिमूर्ति हुन् । नारी जागरण र समाज सुधारका फाँटमा विद्रोही ‘सन्तकवि’ योगमाया न्यौपानेबाट भएको योगदान अपूर्व छ ।
कन्या पाठशाला खोलेर नारीशिक्षाको ज्योति जगाउने चन्द्रकान्ता जोशी (मल्ल) हुन् वा सांगीतिक आकाशमा सदा चम्कन सफल मेलवादेवी गुरुङ, चुनावमा पहिलोचोटि उम्मेदवार भई जित्ने साधना प्रधान (अधिकारी) होऊन् वा उपमन्त्री बन्ने द्वारिकादेवी ठकुरानी यस्ता अनेक अग्रणी महिलाका संघर्ष र प्राप्तिका कथा, व्यथा रोचक तथा प्रेरक छन् ।
अग्रगामिताको यात्रामा प्रथम नेपाली महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रदेश प्रमुख अनुराधा कोइराला, सगरमाथा आरोही पासाङ हृलामु शेर्पा, नेपाल ललितकला प्रज्ञान प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय, नेपाल उद्योग वाणिज्य संघमा अध्यक्ष भवानी राणाका पद चिहृन महत्वपूर्ण छन् । यसरी ज्ञान, विज्ञान, प्रविधि, चिकित्सा, साहित्य, कला, खेलकुद, शिक्षा, अध्यात्म, उद्यम, व्यापार, उड्डयन, चलचित्र, निजामती, सेना, प्रहरी आदि क्षेत्रमा अग्रसर भई अरूका लागिसमेत उत्प्रेरणात्मक देन दिने नारी रहेकै कारण आज मुलुकमा नारीजगत्को बहुआयाम देखिँदैछ ।
राजनीतिक क्षेत्रमा ३३ प्रतिशत मात्रै किन ? जस्ता आवाज मुखरित हुनथाल्नु यसैको शुभलक्षण हो भने देश, विदेशमा नेपाली नारीका कदम उत्तरोत्तर प्रगतिपथमा गतिशील रहनु गौरवको विषय हो । सन्तोष मान्नुपर्ने वा ढुक्क भएर रहने अवस्था भने पटक्कै छैन, सुखद् पक्ष केवल ढ्याकको एक पाटोमात्र हो, अर्को पाटो नितान्त दुःखद् छ । देशभित्र तथा बाहिर नेपाली नारी देह व्यापार गर्न विवश छन्, तिनको मुक्तिका लागि ठोस पहल छैन । जतिसुकै ढ्वाङ फुके पनि गरिबीको मार चर्को छ ।
रोजगारीको अभावमा देश, विदेशमा भौंतारिन र लतारिन बाध्य हुनेको संख्या दिनहुँ थपिँदो छ । हरेक आन्दोलनको प्रत्यक्ष तथा परोक्ष मार खेप्दै आएका नेपाली नारीले अनगिन्ती मूल्य चुकाइरहनुपरेको छ । नारा घन्काइए झैँ अवसर नजुटाइँदा नारीले बलअनुसार उडान भर्न पाएका छैनन् । यो वा त्यो कारणले नारी सशक्तीकरणको भावार्थ समाजमा अनूदित हुनसकेको छैन । दलित, जनजाति, आदिवासी, अल्पसंख्यक समग्रमा भन्ने हो भने पिछडिएका नारी अझै पछ्यौटेपनमै छन् । तसर्थ, नारीको समुत्थानका लागि ओठेनारा वा कागजी प्रगति होइन, तत्काल नतिजामुखी कार्यकुशलता अनिवार्य छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच