काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारीको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकमा राष्ट्रियसभा सदस्यहरूसँग छलफल गरेर उम्मेदवारको टुंगो लगाउनेबारे छलफल भएको जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो, ‘राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिनेबारे छलफल भएको छ । उम्मेदवार कसलाई बनाउने भन्नेबारेमा राष्ट्रिय सभामा पार्टीका सांसदहरूसँग छलफल गरेर अगाडि बढ्नेछौँ ।’ आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पार्टीले उम्मेदवार उठाउने जानकारी दिँदै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले भन्नुभयो, ‘छलफलमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिनुपर्छ भन्ने कुरा उठेको छ । यसका लागि अन्य दलसँग पनि छलफल खुला राखेका छौँ । अन्य दलसँग छलफलपछि राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लाग्छ ।’
राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ मा गर्ने तयारी छ । राष्ट्रियसभा अध्यक्षको चुनावको लागि सोमबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ । राष्ट्रिय सभामा दोस्रो ठूलो दल कांग्रेसका १६ सांसद छन् । सत्तारूढ गठबन्धनबाट राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार बनाउने सहमति भएको छ । राष्ट्रिय सभामा वर्तमान सत्ता गठबन्धनको बहुमत रहेको छ । माओवादी केन्द्र राष्ट्रिय सभाको ठूलो पार्टी हो । माओवादीका राष्ट्रिय सभामा उपाध्यक्षसहित १७ सांसद छन् । राष्ट्रिय सभामा मनोनीत नारायणप्रसाद दाहाल पनि माओवादीका नेता हुनुहुन्छ । त्यस्तै, वर्तमान सत्ता गठबन्धनमा रहेका एमालेका १०, एकीकृत समाजवादीका आठ र जनता समाजवादी पार्टीका तीन सांसद छन् । राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक, राष्ट्रिय जनमोर्चाका एक र मनोनीत दुई सांसद रहेका छन् । राष्ट्रिय सभामा मनोनीत सांसद वामदेव गौतम र नारायण दाहाल हुुनुहुन्छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल फागुन २० मा सकिएको थियो ।
कांग्रेस घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन : शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताउनुभएको छ । कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पु¥याउनेतर्फ नलाग्ने उहाँको दाबी छ । महामन्त्री शर्माले अब जनताका मुद्दाहरू लिएर कांग्रेस संसद्मा बलियो प्रतिपक्षीको भूमिकामा खरो उत्रिने बताउनुभयो । पार्टीको पदाधिकारी बैठकपछि महामन्त्री शर्माले सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने प्रष्ट धारणा बनाएको जानकारी दिँदै भन्नुभयो, ‘हामीले सभापतिज्यूलाई भनेका छौँ । अहिले हामी सरकार बनाउने वा भत्काउने भन्ने खेलमा लाग्दैनौँ । यो गठबन्धन जे बनेको छ, यसले काम गर्ने अवसर पाओस् । हामीमाथि जे अभियोगहरू भनियो, हाम्रा मन्त्रीज्यूहरूले काम गरेनन् भन्ने अभियोग छ । त्यसको परीक्षण हुन्छ ।’ महामन्त्री शर्माले संसद्मा कांग्रेसले ठूलो दलको हिसाबले जिम्मेवारीपूर्ण रूपमा निभाउने दाबी गर्नुभयो ।
संसद्को सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने
संसद्मा प्रमुख प्रतिपक्षी दल बनेसँगै नेपाली कांग्रेसले संसद्को सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सार्वजनिक लेखा समितिको नेतृत्वमा कांग्रेसले दाबी गर्ने जानकारी दिनुभयो । संघीय संसद्का १६ वटा विषयगत समितिमध्ये सबैभन्दा महत्वपूर्ण मानिने गरिएको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने प्रचलन रही आएको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकार रहेका बेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमाले सो समितिको नेतृत्व पाएको थियो । एमाले सांसद ऋषिकेश पोखरेल हाल यो समितिका सभापति रहनुभएको छ । सार्वजनिक निकायका आर्थिक क्रियाकलाप, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू सार्वजनिक लेखा समितिको कार्यक्षेत्र रहेको छ ।
अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ : प्रधान
नेपाली कांग्रेसका नेता तथा पूर्व-रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली राजनीतिमा सबैभन्दा खराब पात्रको रूपमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दर्ज भएको आरोप लगाउनुभएको छ । नेता प्रधानले प्रचण्डलाई अस्थिर नेता मात्रै नभएर धोकेबाज नेताको पनि संज्ञा दिनुभयो । प्रचण्डले अब सबैलाई सधैँ मूर्ख बनाउन नसक्ने दाबी गर्दै नेता प्रधानले नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नो सभापति शेरबहादुर देउवा महामूर्ख नरहेकाले अब झुक्याउने खेला बन्द गरिदिने चेतावनीसमेत दिनुभयो । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन सक्नेमा पनि नेता प्रधानले आशंका व्यक्त गर्नुभयो । नेता प्रधानले अब प्रधानमन्त्री बन्ने पालो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भएको जिकिर गर्दै भन्नुभयो, ‘अहिले प्राकृतिक रूपमा सरकारको नेतृत्वको पालो माधव नेपालको हो । आखिर हाम्रो यसअघिको गठबन्धनमा नौ महिनापछि माधव नेपाल नै प्रधानमन्त्री बन्ने पालो थियो तर उहाँलाई हटाउनको लागि नै प्रचण्डले यो स्टेप चालेको हो ।’
प्रचण्डको नियतमै खोट रहेछ, यो सरकार ढाल्नैपर्छ : चौधरी
सत्तारूढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको आयु एक महिना पनि नभएको दाबी गर्नुभएको छ । प्रचण्ड सरकार नढले मुलुकमा अस्थिरता मच्चिरहने जिकिर गर्दै चौधरीले भन्नुभयो, ‘यो सरकार मुस्किलले टिक्यो भने एक महिना मात्रै हो । अहिले प्रचण्डको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ । म हिजोका दिनमा केपी कमरेडप्रति एकखालको आलोचन गर्थेँ तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे प्रचण्ड । यो समीकरण भत्काउनैपर्छ । यो तरिकाले निर्माण भएको सरकारलाई भत्काउन सकेनौँ भने मुलुकमा अस्थिरता मच्चाइराख्छन् ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरू राफसाफ गर्ने मनसाय राखेको उहाँको टिप्पणी छ ।
गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन : महतो
राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सुरुवात गर्नुभएका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने टिप्पणी गर्नुभएको छ । अहिलेको गठबन्धन पनि लुटतन्त्र मच्चाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने नेता महतोको टिप्पणी छ । गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आइरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको जिकिर गर्दै महतोले भन्नुभयो, ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रूपमा स्थापित हुनु आवश्यक छ । अहिले नेपाल एकल राज्यको रूपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरूको देश बनाउनका लागि एकत्रित रूपमा अन्दोलन गर्नु अहिलेको आवश्यकता छ ।’
कांग्रेसमा संसदीय दलको पदाधिकारी चयनको छलफल सुरु
सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसले संसदीय दलको उपनेता तथा राष्ट्रियसभा संसदीय दलको नेता र राष्ट्रिय सभाको सचेतक चयन गर्ने तयारी थालेको छ । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । तर, कांग्रेसले संसदीय दलको कार्यसमिति, संसदीय दलको उपनेता, राष्ट्रिय सभामा दलको नेता चयन गरेको छैन । कांग्रेसको विधानमा ३१ सदस्यीय संसदीय दलको कार्यसमितिमा संसदीय दलको नेता, उपनेता, राष्ट्रिय सभामा दलको नेता, राष्ट्रिय सभामा सचेतकका साथै निर्वाचित, मनोनीत र पदेन सदस्य रहने प्रावधान छ । संसदीय दलको उपनेतामा उपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालामध्ये कसलाई मनोनीत गर्ने भन्नेमा पार्टी सभापति निष्कर्षमा पुग्नुभएको छैन । कांग्रेसको राष्ट्रिय सभामा पनि दलको नेता र सचेतक पनि रिक्त छ । अहिले संघीय संसद्को प्रतिनिधि सभामा कांग्रेसका ८८ र राष्ट्रिय सभामा १६ जना सांसद छन् । प्रतिनिधि सभामा ८९ सिट जितेको कांग्रेसबाट राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएपछि रिक्त स्थानमा रास्वपाका स्वर्णिम वाग्लेले जितेपछि एक सिट घटेको थियो । मनाङका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि निलम्बित छन् ।
संसदीय दलको नेतामा सिटौला मनोनीत
नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित २०७४) को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई दलको नेता मनोनयन गरेका देउवाका निजी सचिव केशवराज जोशीले जानकारी गराउनभयो । कांग्रेस विधानमा प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने प्रावधान छ । सोहीअनुसार शनिबार देउवाले सिटौलालाई मनोनीत गरेको जोशीले बताउनुभयो । माघमा भएको राष्ट्रियसभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्य तर्फबाट निर्वाचित हुनुभएको थियो । कांग्रेसको यसअघिका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी ६ वर्षको अवधि पूरा गरेपछि बिदा भएपछि उक्त पद रिक्त थियो । कांग्रेस माओवादी गठबन्धन रहँदा सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने गरी चुनावमा सहभागी हुनुभएको थियो । तर, गठबन्धन टुटेपछि कांग्रेससँग राष्ट्रियसभा अध्यक्ष जित्न बहुमत पुग्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच