अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी चोकबाट अवैध लागूऔषध गाँजा २ किलोसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ घर भएका २२ वर्षीय बालकृष्ण श्रेष्ठ भन्ने रोशन श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्रामसहित कैलाली कैलारी गाउँपालिका-१ हसुलिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेकाे बैजनाथ गाउँपालिका-४ नौलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माने भन्ने २१ वर्षीय मिलन थापा र १९ वर्षीय बिमल वली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मिलन थापाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस्तै काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका-११ कपन त्रिवेणी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भएका २३ वर्षीय राम बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कास्कीकाे पोखरा महानगरपालिका-१२ नहरचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र नगद १३ हजार रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० अस्पताल चोक बस्ने ४९ वर्षीय नारायण बहादुर खत्री र स्याङजा घर भएका ५३ वर्षीय लोक बहादुर सेन ठकुरी रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग.१० प ५०६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?