काठमाडौं । इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४ भन्ने नाराका साथ आयोजना हुन गइरहेको तेस्रो लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डका अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र र हरेक सत्रमा तीनवटा समूहगत छलफल हुनेछन् । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीकोे अवसर गरी तीन प्यानलमा छलफल हुनेछन् भने दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी र नेपालको निर्यात प्रवद्र्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृंखलाबारे छलफल हुनेछन् । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यावसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल आयोजना हुने बोर्डले जनाएको छ ।
सम्मेलनका लागि एक सय ५० हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी छ । यसअघि बोर्डले एक सय २५ आयोजना ‘सोकेस’मा लैजाने तयारी गरिरहेकोमा निजी क्षेत्र, प्रदेश र स्थानीय तहका समेत केही आयोजना थपिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।
निजी क्षेत्र, प्रदेश र स्थानीय तहबाट समेत सोकेसका लागि प्रस्ताव गरिएका आयोजनासमेत गरेर एक सय ५० हाराहारी पुगेका छन् । कुन प्रदर्शनी कक्षमा कस्ता आयोजना राख्ने, त्यसको व्यवस्थापन कसरी गर्ने र लगानीकर्तालाई आयोजनाबारे अधिकतम जानकारी कसरी दिन सकिन्छ भनेर पूर्वतयारी चलिरहेको उहाँको भनाइ छ । लगानी सम्मेलनस्थलमा २२ देखि २५ कक्ष रहने गरी तयारी भइरहेको बोर्डले जनाएको छ । सम्मेलनस्थल व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयंसेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाबारे जानकारी दिन कक्ष व्यवस्थापनलगायतका कामको पूर्वतयारी तीव्र बनाइएको बोर्डले जनाएको छ । हालसम्म ३१ देशका दुई सय ६० भन्दा बढी अतिथि सम्मेलनमा आउने टुंगो लागेको बताइएको छ । लगानी सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट-पिडिए) गर्ने तयारी भइरहेको र अहिले विकासकर्ता कम्पनीसँग वार्ता चलिरहेको पनि प्रवक्ता उपाध्यायले बताउनुभएको छ ।
सम्मेलनमा नेपाल-चीन मैत्री औद्योगिक पार्क, अपर मस्र्याङ्दी-२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगंगा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदैछ भने डाबर नेपालसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पिआइए) को तयारी छ । लगानी सम्मेलनअघि प्रधानमन्त्रीको अध्यक्षतामा रहने लगानी बोर्डको बैठक बस्ने तयारी भइरहेको पनि बोर्डले जनाएको छ । सम्मेलनमार्फत् विभिन्न २० आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र माग गरिँदैछ भने सम्भावित आयोजनाका रूपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’ छ । आयोजना पहिचानको प्रारम्भिक चरणका ३३, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटालगायतका आयोजना सोकेसमा राखिने बोर्डले जनाएको छ ।
अर्थमन्त्री पुन अमेरिकातर्फ
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुन चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अमेरिका प्रस्थान गर्नुभएको छ । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका उपसचिव भूपालराज शाक्य छन् । तीनदिने भ्रमणका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीसँग पनि छट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच