पाल्पा । पाल्पाको सदरमुकाम तानसेनको मुख्य सडक नै धुलाम्य र कष्टकर बन्दै गएको छ । पाल्पा दरवार परिसरको शितलपाटीदेखी जिल्ला प्रशासन गेटसम्मको सुरक्षा पर्खाल निर्माणमा निर्माण व्यवसायीले लापरवाही गर्दा सडक धुलाम्य बनेको हो ।
निर्माणाधीन पर्खाल र यसको दुवैपट्टि फालिएका निर्माण सामग्रीले सर्वसाधारण समस्या परेका छन् । अति व्यस्त सडकमा सवारीका साधनले उडाएको धूलोले तानसेन मखनटोलवासी मर्कामा परेका छन् । निर्माणको ठेक्का पाएको ठेकेदारले वातावरणीय सुरक्षाका लागि धूलो नउड्न सडकमा पर्याप्त पानी नहाल्ने र समयमा काम नगर्दा यस्तो अवस्था आएको स्थानीयले बताए ।
सडकमा धुलो उठ्नुको साथै निर्माण सामाग्री जथाभावी फालिएको छ । जसले गर्दा आवागमनमा समेत असहज भएको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण तानसेन बजार प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सडक छेउमा व्यवसायी गर्ने र यात्रुहरु समस्यामा परेका छन् ।
निर्माण व्यवसायीले गुणस्तरहिन काम गर्नुको साथै सडकमै धुलो तथा निर्माण सामग्री राखी अलपत्र पारेपछि स्थानीय आक्रोसित बनेका छन् । पर्खाल बनाउने क्रममा सडकबाट उडेको धुलो सडक छेउछाउका सर्वसाधारणका आवासीय घरका साथै व्यापारिक सटरमा पस्दा हैरानी खेप्नु परेको स्थानीयको भनाई छ । उनीहरुले तत्काल सडक व्यवस्थित गर्नका लागि पहल गरिदिन वडा नं ४ को कार्यालयलाई अनुरोध समेत गरेका छन् । स्थानीयले एक/दुई दिन भित्र सडक सफा नभए आवत जावत तथा यातयात सेवा अवरुद्ध पार्ने चेतावनी दिएका छन् । दरबार जस्तो महत्वपूर्ण क्षेत्रमा लापरवाही तरीकाबाट काम भएको, पर्खाल लगाउँदा पुरातात्विक महत्वका ढुङ्गाहरु फुटाएर सानो–सानो बनाएको, सिमेन्ट सहितको सुरक्षा पर्खालमा ठेकेदारले नियमित रुपमा पानी नहाल्दा पर्खाल कमजोर भएको, बाटो क्षेत्रमा सयममै काम नगरी महिनौसम्म धुलो तथा निर्माण सामग्रीहरु राखेर सडकलाई कुरुप बनाएको स्थानीयको आरोप छ ।
शितलपाटीदेखि प्रशासन गेटसम्म १२० मिटर ढुङ्गाको पर्खाल लगाउने काम शुरु गरेको महिनौ भए पनि अहिलेसम्म सकिएको छैन् । बाटोभरी धुलो, माटो तथा निर्माण सामग्रीका कारण कयाैँ पटक सवारी दुर्घटना हुनुुको साथै स्वास्थ्यमा समेत असर पु¥याएको स्थानीय दिनेश बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुमभयो ‘हामीले तत्काल निर्माण क्षेत्रको धुलो तथा माटो सफा गर्न वडा कार्यालयमा अनुरोध गरेका छौं, एक/दुई दिन भित्र सफा भएन भने सवारी आवत–जावत नै रोक्छौँ ।’ स्थानीयको आग्रहलाई निर्माण व्यवसायीले वेवास्त गरेमा काम नै रोकेर सडक बन्द गरिने मखनटोल टोल विकास संस्थाकी पूर्व अध्यक्ष ज्योती राजभण्डारीले बताउनुभयो । वडा अध्यक्ष हेमन्तराज शाक्यले भने दरवार क्षेत्रमा भएको काम नगरपालिकाको नभए पनि आफुले निर्माण व्यवसायीलाई तत्काल धुलो सफा गर्न र सामान व्यवस्थित तरिकाले राख्न भनिसकेको बताउनुभयो । दरवार क्षेत्रमा पाँच वटा फरक–फरक क्षेत्रबाट काम भईरहेको छ । जिल्ला प्रशासनदेखी शितलपाटीसम्म घरटहरा भएको क्षेत्रमा तानसेन नगरपालिकाले ढुङ्गा विछ्याउने र दरवार अगाडि सडकमा नाली बनाउने काम गरेको छ । दरवार संग्रहालय अगाडि आगनमा ढुङ्गा विछ्याउने काम पाल्पा दरवार संग्रहालयले शुरु गरे पनि महिनौ वित्दासम्म अलपत्र अवस्थामा रहेको छ ।
दरवार गेटदेखि जिल्ला प्रशासन कार्यालय तर्फको ५० मिटर ढुङ्गाको पर्खालको काम लुम्बिनी प्रदेश सरकार अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयले गर्दै आएको छ । दरवार गेटदेखि शितलपाटी तर्फको ७० मिटर ढुङ्गाको पर्खाल शहरी विकास तथा संघीय कार्यान्वयन ईकाई भैरहवाबाट काम भईरहेको छ । दरवारको मुलढोकाको पुननिर्माणको काम भने पुरातत्व विभागबाट भईरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच