भरतपुरमा ३३/११ केभी देवनगर सवस्टेशन उद्घाटन

हिमालय टाइम्स
Read Time = 4 mins

-हाेमनाथ सापकाेटा

चितवन । भरतपुर महानगरपालिका वडा नं ६ देवनगरमा निर्माण भएको ३३/११ केभी २०/२४ एमभीए क्षमताको सवस्टेशन शनिबार उद्घाटन गरिएको छ । महानगरपालिकाकी प्रमुख रेनु दाहाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सवस्टेशनको उद्घाटन गर्नुभएको हो ।

भरतपुर महानगर प्रमुख दाहालले भरतपुरमा भइरहेको तीब्र सहरीकरणसँगै विद्युत आपूर्तीमा देखिएको समस्या समाधान गर्न देवनगर सवस्टेशन सञ्चालनमा ल्याइएको बताउनुभयो । पश्चिम चितवनको मेघौलीमा पनि ४ विघा क्षेत्रफलमा सवस्टेशन निर्माण गर्न लागिएको उहाँको भनाई छ ।

‘मेघौलीको सवस्टेशन सञ्चालनमा आएपछि सबै समस्या हटेर जान्छ,उहाँले भन्नुभयो,‘५० वर्षलाई हेरर भरतपुरको गुरुयोजना निर्माण भएको छ । अबको ५० वर्षसम्म कुनै समस्या आउदैन।’

भरतपुरमा नेपाल विद्युत प्राधिकरणबाट महत्वपूर्ण कामहरु भएको पनि उहाँले स्मरण गर्नुभयो । भरतपुरका मुख्य सहरी क्षेत्र बाईपास रोड, पुलचोक गोन्द्राङ सडकमा भूमिगत विद्युतिकरण, ८० किमिमा स्मार्ट स्ट्रीट लाईट, बासपार्कमा चार्जिङ स्टेशन र फेरि पनि १५० किमी स्ट्रीट लाइटको काम हुन लागेको जानकारी दिनुभयो ।

उहाँले उज्यालो भरतपुर बनाउन आउँदो तिहारसम्म स्ट्रीट लाइटको काम सम्पन्न गर्न प्राधिकरणका निर्देशक घिसिङलाई अनुरोध पनि गर्नुभयो ।

यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरमा प्राधिकरणले कुनै पनि काम गर्दा स्थानीय तहले गर्ने समन्वय देशभरमै उत्कृष्ट पाएको बताउनुभयो ।

भरतपुरलगायत देशका प्रमुख सहरहरुको ५० वर्षिय गुरुयोजना तयार भई त्यही अनुसार काम अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

भरतपुरमा भइरहको तीब्र सहरीकरणका कारण गुरुयोजनालाई थप परिस्कृत र परिमार्जित गरिएकाले ५० वर्षको लागि विद्युत आपूर्तीको समस्या नहुने गरी बनाइएको सो अवसरमा बताउनुभयो ।

उहाँले नेपालको ९९ प्रतिशत जनताको पहुँचमा विद्युत पुगेकाले चितवनका केही स्थान अझै पनि विद्युत नपुगेकाले त्यहाँ छिट्टै पुग्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो । माडीको विद्युतमा देखिएको समस्या समाधान गर्न छिट्टै नयाँ तार बिच्छाइने उहाँको भनाइ थियो । त्यस्तै माडीको बादरझुलामा पनि विद्युत विस्तारको काम अघि बढाइने बताउनुभयो । सवस्टेशनमा ४ वटा फिडर रहेका छन् ।

सवस्टेशनले भरतपुर महानगरको वडा नं. ५,६,८,९, १३, १४, १५, २२ र २३ मा गुणस्तरीय विद्युत सेवा वितरण गर्ने छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेशन निर्माण गरिएको हो ।

गोन्द्राङ-देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेशनको लागत झन्डै साढे ९ करोड रुपैयाँ रहेको आयोजना प्रमुख संगिता कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायतले मन्तव्य राख्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?