शिक्षक धनराज भण्डारीको स्मृतिमा शुक्रबार मेचीनगरका शिक्षण संस्था बन्द

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 3 mins

झापा । नियम विपरीत नदीजन्य पदार्थ निकाल्दा निन्दा खोलामा पारिएको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएका शिक्षक धनराज भण्डारीको स्मृतिमा शुक्रबार (आज ) मेचीनगर नगरपालिकाका शिक्षण संस्था बन्द भएका छन् ।

नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले सूचना निकालेर आज श्रद्धाञ्जलीसभा गरी शिक्षण संस्था एक दिनका लागि छुट्टी गर्न भनेपछि यहाँका शिक्षण संस्था बन्द भएका हुन् ।

शिक्षा शाखा प्रमुख भण्डारीले निकालेको सूचनामा लेखिएको छ, " पेसाप्रति इमानदार र कर्मठ स्थायी शिक्षक धनराजको निधनले ठूलो क्षति पुगेको छ, घटनाबाट नगरपालिका स्तब्ध भएको छ । " अहिले मेचीनगरभर शोकसभा भइरहेको नगर शिक्षा शाखाले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ क्षेत्रीय समितिले शिक्षक भण्डारीको मृत्यु हुनुमा नगरपालिकाको लापरबाहीपूर्ण व्यवहार मुख्य जिम्मेवार रहेको ठहर गरेको छ ।

क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले निकालेको विज्ञप्तिमा लेखिएको छ," ज्यानै जाने घटना हुनुको मुख्यकारण नगरपालिकाको अनुगमन प्रक्रियामा भएको चरम लापरबाही भएको कांग्रेसको ठहर छ ।"

नगरपालिकाले ठेक्का लगाएको नदीजन्य पदार्थको उत्खननको नियमित र प्रभावकारी अनुगमन हुन नसकेकै कारण निन्दा नदीको खाल्डोमा जमेको पानीमा डुबेर मेचीनगर ३ घर भएका शिक्षक भण्डारीको निधन भएको कांग्रेसले दाबी गरेको छ ।

कांग्रेसले घटनाको छानवीन गरी नियम विपरीत गहिरो खाल्डो पार्नेलाई कारबाही गर्न माग गरेको छ । विज्ञप्तिमा जनप्रतिनिधिको गैरजिम्मेवारीका कारण नगरबासीको स्थानीय सरकारप्रति भरोसा टुट्दै गएको उल्लेख गरेको छ ।

गत मंगलबार नवज्योति आधारभूत विद्यालय बाहुनडाँगीका ४० वर्षीय शिक्षक भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको थियोे । पौडी खेल्ने क्रममा नाबालक छोराहरु आपतमा परेको देखेपछि उद्दार गर्न खोलामा पसेका उनले छोराहरुलाई सकुशल उद्दार गरे पनि आफू बच्न सकेनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?