झापा वन कार्यालयको बेइमानी : पक्राउ परेका आरोपीलाई रहस्यमय ढंगमा गुपचुपमै छाडियाे

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 4 mins

झापा । काठ चोरीको आरोपमा पक्राउ परेका पाथीभरा वन उपभोक्ता समूहका व्यक्तिको नाम एकसाताभन्दा लामो समय गोप्य राखेर डिभिजन वन कार्यालय झापाले उनीहरूलाई गुपचुपमा छाडेको रहस्य खुलेको छ ।

पक्राउ परेका मध्ये झापा कचनकवल गाउँपालिका-७ को पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सोमबार गाउँमा नै पुगेपछि उनीहरूलाई गुपचुप छाडिएको रहस्य खुलेको हो ।

डिभिजन वन कार्यालयले जेठ १३ गते सातजना र १८ गते एकजना गरी आठ जना पक्राउ परेका थिए । पक्राउ परेको पुष्टि गरेपनि डिभिजन वन कार्यालय झापाले अदालतबाट फैसला भएर आएपछि मात्र नाम सार्वजनिक गर्न मिल्ने कानुनी प्रावधान रहेको उनीहरूको नाम गोप्य राखेको थियो ।

उनीहरूलाई के सर्तमा छाडिएको खुल्न सकेको छैन । धरौटीमा रिहा भएको चर्चा चलेपनि कति धरौटी हो कसैले खुलाएको छैन । राजनैतिक दबाबमा उनीहरू छुटेको बुझिएको छ ।

सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्ष देवीबहादुर लोहार (लोवा), सकुन्तला पोखरेल, टीका खरेल, भूपाल राई, सुरेन्द्र थेवे, हिमाल दाहाल, श्यामलाल राजवंशी लगायत आठ जना पक्राउ परेका थिए । एकजनाको नाम खुल्न सकेको छैन । अध्यक्ष देवीबहादुर गाउँ पुगेपनि अरू को को छुटेका हुन् स्पष्ट भएको छैन ।

उनीहरू कुनैनकुनै दलको स्थानीय नेता भएकोले नाम खोल्न डिभिजन वन कार्यालय झापा डराएको हो । देवीबहादुर राष्ट्रिय प्रजातन्त्र पार्टी आबद्ध भएको बुझिएको छ । एक स्थानीयका अनुसार वन कार्यालय राजनैतिक दबाबमा मात्रै होइन, उनीहरूलाई छाड्नुको रहस्य अरुपनि हुनसक्ने बताए ।

उनीहरूले २०८० चैत ४ मा वन पैदावार काटी हानी नोक्सानी गरेको तथा कोष हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको वन कार्यालयका एक कर्मचारीले बताए । वनमा केही रुख काटिएका ठुटाहरूको आधारमा र सामुदायिक वनको काठसमेत हराएको आधारमा डिभिजन वन कार्यालय झापाले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू सबैलाई आआफ्नै घरबाट पक्राउ गरिएको हो ।

अहिले तीन वटा मात्र ठुटा भेटिएको वन कार्यालय स्रोतले जनाएको छ । तर हिसाबमा पनि फरक देखिएको छ । उनीहरूले कति परिमाणको काठ बिक्री गरेको खुलाइएको छैन । यद्यपि, अदालतबाट म्याद थप गरी वन कार्यालयले अनुसन्धान गरेको स्रोतको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?