गरिब तथा विपन्नको सहारा बन्दै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले गरिब र असहाय परिवारको घर निर्माण गर्ने अभियानलाई तीव्रता दिँदै गरिब तथा विपन्नहरूको सहारा बनेको छ । दलित उत्थान केन्द्रको व्यवस्थापनमा गाउँपालिकाले गत वर्षदेखि पालिकामा रहेका गरिब र असहाय परिवारको घर र शौचालय निर्माण गर्ने तथा बिजुली बत्ती जडान गर्ने कार्यलाई अगाडि बढाएको छ ।

अभियानअन्तर्गत यस आर्थिक वर्षमा निर्माण गरेका पाँच वटा नयाँ घरमध्ये तीन घर गरिब परिवारलाई हस्तान्तरण गरिएको हो । अर्जुनचौपारी वडा नं ४ दमै चौताराकी ९२ वर्षीय धनकुमारी दर्जी, वडा नं. ५ आरुचौरका ७५ वर्षीय धनबहादुर बिक र वडा नं. ५ मुलाबारीकी फुलमाया दर्जीलाई गाउँपालिकाले नयाँ घर हस्तान्तरण गरेको हो ।

आफ्नो घरबास नहुँदा छिमेकी तथा आफन्तकोमा आश्रय लिएर बस्दै आउनुभएकी दमै चौतारीकी धनकुमारीले रुदै पालिका आफ्ना लागि भगवान् बनेर आएको बताउनुभयो ।

धन कुमारी जस्तै फुलमाया पनि चुहिने घरमै बस्दै आउनुभएको थियो भने पाँच छोरीका बाबु धन बहादुरले पानी पर्दा नजिकै घरमा बस्नु परेको बताउनुभयो । फुलमायाको घर १ लाख ५० हजार रुपियाँमा निर्माण भएको हो भने धनकुमारीको घर १ लाख १८ हजार ५ सय रुपैयाँमा र बिकको घर १ लाख ५० हजार ८ सय रुपैयाँमा निर्माण भएको हो ।

घर निर्माणमा दलित उत्थान केन्द्रले सोही बराबर श्रमदानमा गरेको केन्द्रका दलित उत्थान केन्द्रका अध्यक्ष दिपक सुनारले बताउनुभयो । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाबासी सबैलाई सम्मानजनक रुपमा बस्न पाउने अधिकार रहेको भन्दै विपन्न र गरिब परिवारको साथमा गाउँपालिका सधैं रहेको बताउनुभयो ।

पालिकाले दलित उत्थान केन्द्रको सहजीकरणमा असहाय तथा गरिब परिवारको घर निर्माण गरि हस्तान्तरण गर्ने योजना गत वर्षबाट सुरु गरेको भन्दै पालिका प्रमुख अध्यक्ष तिवारीले यो अभियान हरेक वर्ष रहने र पालिकाबासी कोही पनि घरविहीन नहुने र चुहिने घरमा बस्नु पर्ने अवस्था नआउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पालिकाले यस आर्थिक वर्षमा आठ वटा शौचालय निर्माण गरिदिएको छ भने थप पाँच घर निर्माण गरी १० वटा घर पुर्‍याउने बताएको छ । पालिकाले दलित उत्थान केन्द्रको सहजीकरणमा गत वर्ष पनि आर्थिक अवस्था नाजुक भएका विपन्न परिवारको १० वटा घर, १५ ओटा शौचालय र ३५ घरमा बिजुली जडान गर्ने, न्यानो कपडा वितरण गर्ने, सिलाई मेसिन, आरन पेशाका लागी आवश्यक उपकरण तथा औजारहरु वितरण गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?