नागरिकको दुःखको सारथी बन्दै धनगढीको नगर प्रहरी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । धनगढी उपमहानगरीय प्रहरी बलको भूमिका प्रभावकारी बन्दै गएको छ। नगर प्रहरीले घर तथा समुदायमै पुगेर आवश्यक सहयोग गर्न थालेपछि नगरवासी उत्साहित भएका छन् ।

नगर प्रहरी बल नगरवासीलाई २४ सैं घण्टा सहयोग गर्न तयारी अवस्थामा बस्ने गरेको छ । बिरामी पर्दा, दुर्घटना हुँदा, घरमा सर्प पस्दादेखि प्राकृतिक प्रकोपमासमेत नगर प्रहरी उद्धारमा खटिने गरेको छ। कुनै व्यक्ति बिरामी हुँदा अस्पताल ल्याउनेदेखि अन्तिम संस्कारमासमेत नगर प्रहरीले नगरवासीलाई सहयोग गर्दै आएको छ ।

नगर क्षेत्रबाट सहयोगका लागि फोन आउने बित्तिकै नगर प्रहरी सहयोग गर्न तुरुन्त पुग्ने व्यवस्था मिलाइएको नगर प्रहरी प्रमुख भुपेन्द्र खड्काले बताउनुुभयो । ‘धनगढी उपमहानगरपालिकाकामा हाल ४४ जमा नगर प्रहरी कार्यरत छन् । नगर प्रहरीले एक दर्जनभन्दा बढी काममा नगरवासीलाई सहयोग गर्दै आएको छ ।

कुनै व्यक्ति बिरामी हुँदा अस्पताल ल्याउन, एम्बुलेन्स र दमकल सेवा सञ्चालन गर्न मात्र नभएर घरभित्र पसेको सर्प उद्धारदेखि दाहसंस्कारमासमेत नगर प्रहरीले सहयोग गर्दै आएको छ । नगर प्रहरी निरीक्षक खड्काले चालु आर्थिक वर्षको जेठ २४ गतेसम्म नगर प्रहरीले ६८ सर्पको उद्धार गरेको बताउनुभयो ।

यो नगरबासीको घरभित्र पसेका सर्प उद्धार गरेको तथ्याङ्क हो । यस्तै, नगर प्रहरीले ३ सय जनाको दाहसंस्कारका पाँच हजार रुपैयाँ सहयोग घरमै पुगेर बुझाएको छ भने १८४ जनालाई शववाहन तथा ५७ जनालाई शव चिस्यान सेवा प्रदान गरेको छ। नगर प्रहरीले १५४ वटा आगलागीका घटना नियन्त्रणमा लिएको छ । आकस्मिक बिरामी भएका १३२ जनाला अस्पताल पुगाएर सहयोग गरेको छ ।

नगर प्रहरीले १११ जना आमालाई आमा बचाउ कार्यक्रम अन्तर्गत अस्पताल ल्याउने र घर पुगाउने काम गरेको छ भने २३ जना अलपत्र परेकाहरुको उद्धार गरेको छ। नगर प्रहरीले यो वर्ष ११ वटा बहुलाहा कुकुरसमेत नियन्त्रणमा लिएको खड्काले बताउनु भयो ।

नगर प्रहरीले सामुदायिक पशुलाई गौशाला पुगाउने, सडकमा ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने, नगर क्षेत्रमा हुने सवारी दुर्घटनाबाट हुने क्षतिको निगरानी गर्ने, सडक किनारमा रोपिएका बिरुवाको रेखदेख गर्ने काम गर्दै आएको छ । प्लास्टिक प्रयोगको नियन्त्रण तथा सडक तथा फुटपाथमा व्यापार गर्न नदिने कुराको समेत नगर प्रहरीले नियमन गर्दै आएको छ।

नगरबासीले समस्या पर्दा टोल फ्री नम्बरमा फोन गरेर नगर प्रहरीको सहयोग लिन सक्ने र त्यसका लागि नगर प्रहरी २४ सैं घण्टा ड्युटीमा रहेको नगर प्रहरी निरीक्षक खड्काले बताउनुुभयो । ‘नगर प्रहरी २४ सैं घण्टा ड्युटीमा हुन्छ। नगर प्रहरीको सेवा लिनको लागि ०९१-५९०६९०, ०९१-५२६९२६ र टोल फ्री नम्बर १८१०५००००९० फोन गर्न सक्ने सुविधा छ। कन्ट्रोलमा हाम्रो २४ सैं घण्टा ड्युटी हुन्छ। जहाँबाट फोन आए पनि तत्काल खटिने गरेका छौँ’, खड्काले भन्नुभयो । नगर प्रहरीलाई प्राकृति प्रकोपमा समेत द्रुत उद्धार गर्न सक्ने गरी आवश्यक सामग्री र तालिम दिएर सक्षम बनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?