काँकडभिट्टा खानेपानीको चुनाव : राजनीतिक दल प्रतिष्ठा जोगाउने ध्याउन्नमा

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 6 mins

झापा । मुलुकको पूर्वी सीमा काँकडभिट्टामा खानेपानीको नेतृत्व लिन यहाँका क्रियाशील राजनीतिक पार्टी दलीय प्रतिस्पर्धाकै शैलीमा चुनावी मैदानमा छन् । आज सम्पन्न हुने निर्वाचनमा कसले बाजी मार्छ, त्यस्को यकिन छैन । तर राजनीति दलले चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनीहरू त्यही ध्याउन्नमा छन् ।

सत्ता घटक एमालेलाई जनता समाजवादी पार्टीले साथ दिएको छ । यो समीकरणको नेतृत्व एमालेका सन्तोष आचार्यले गर्नुभएको छ । सत्ता साझेदार अन्य दल एमालेलाई एक्ल्याएर प्यानल खडा गर्ने दाउमा थिए । तर, जसपा सत्तामा छदै उसले एमालेलाई साथ दिएको हो ।

एमाले जसपालाई साथमा लिएर काँकडभिट्टा खानेपानी उपभोक्ता समिति नेतृत्वका लागि प्रतिस्पर्धामा उभिएको हो । यो समीकरणबाट उपाध्यक्षमा एमालेका गोविन्द गिरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

खानेपानीको नेतृत्व लिएरै छाड्ने दाउमा नेपाली कांग्रेस छ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी तथा अरु दुई दल राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक मञ्चलाई साथमा लिएर कांग्रेस चुनावीमा होमिएको हो ।

लोकतान्त्रिक प्रगतिशील यो प्यानलको नेतृत्व कांग्रेसका रोहितकुमार बुढाथोकी गर्नुभएको छ । यसको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका राजकुमार आचार्य (राजु) चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

सत्तासीन पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा सुदर्शन खड्का अध्यक्षमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । स्वतन्त्र उपभोक्ताको प्यानल नाम दिएको सो समूहमा उपाध्यक्षमा रास्वपाका कृष्ण सुवेदी चुनावी मैदानमा हुनुहुन्छ ।

एमाले प्यानलबाट सचिवमा जसपाका दिलिपजंग सुब्बा, कांग्रेस प्यानलबाट विशाल तामाङ र रास्वपा समूहबाट नरेन्द्र सिवाकोटीको उम्मेदवारी छ । कोषाध्यक्षमा एमालेबाट विमला तामाङ, नेकपा एसबाट विमला देवकोटा र रास्वपाबाट सुधादेवी खड्का प्रतिस्पर्धामा हुनुहुन्छ ।

लेखा समिति संयोजककमा कांग्रेस प्यानलबाट राप्रपाका किशोर शर्मा भण्डारी, एमालेका सोमराज ढकाल र रास्वपाका भेषराज ओली प्रतिस्पर्धी हुनुहुन्छ । दलहरू एक महिना अघिदेखि चुनाव प्रचारप्रसारमा जुटेका थिए ।

कांग्रेसले आफ्नो टिमको घोषणा जेठ २ र एमाले जेठ ७ गते आफ्नो समूहका उम्मेदवारको घोषणा गरेको थियो । जेठ १३ गते उम्मेदवारी दर्ता भएपछि दलहरुका स्थानीय तथा केन्द्र स्तरसम्मका नेताहरु चुनाव प्रचारप्रसारमा जुटेका थिए । उनीहरू दलीय एजेन्डा जस्तै चुनावी नारा लिएर मतदाता समक्ष पुगेका थिए ।

यो चुनावमा कांग्रेस आफ्नो विरासत फिर्काउने दाउमा छ । एमाले आफूलाई स्थापित गर्न चाहान्छ। कांग्रेस प्यानलका अध्यक्ष उम्मेदवार बुढाथोकी व्यवसायी पृष्ठभूमि र एमाले प्यानलका अध्यक्ष उम्मेदवार आचार्य पत्रकारिता पृष्ठभूमिको हुनुहुन्छ । आचार्य सोही खानेपानीका पूर्वकर्मचारीसमेत हुनुहुन्छ ।

आफ्नो अठोट पूरा गर्ने स्वभावका बुढाथोकी र खानेपानीकै पूर्वकर्मचारी आचार्यबीच प्रतिस्पर्धा रहेकोले पनि यो चुनावको चर्चा बढी भएको उपभोक्ताहरु बताउँछन् । रास्वपाले अस्तित्वका लागि अध्यक्षमा प्रतिस्पर्धा गरेको हो ।

निर्वाचन समितिका संयोजक राजु कार्कीका अनुसार सो खानेपानीका ६ हजार ६७४ जना मतदाता छन् । मतदान काँकरभिट्टा मावि परिसरमा सुरु भएको छ । निर्वाचनका लागि ६ वटा मतदान केन्द्र तयार गरिएको छ । मतगणना आइतबार (भोली) बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?