![सरस्वती प्रतीक्षाको ‘स्व’ लोकार्पण](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Sawarsowti-partichya.jpg)
✍️ प्रदीप सापकोटा
यसो माथितिर फर्केर हेर्छु आकाश सफेद छ । वादलको कुनै टुक्रा पनि देखिन्न । तर मेरो मनको मझेरीमा भने कालो बादल पोखिएको छ । खोइ किन हो ! मन मन नै त हो हजुर । मैले मेरो मनलाई मनाउन सकिन । शान्तिपूर्वक बाँच्ने मनको उत्कष्ठ इच्छामाथि जब्बरे विवशताका सांलाहरूले प्रभुत्व जमाएपछि मेरो इच्छा कहाँ पुग्थ्यो र ! सम्झन्छु जागीरे जीवन । आवश्यकता पूरा गर्ने जिम्मेवारीको घट्टले मज्जैले थिच्छ नि म निम्छरो सानो दर्जाको कर्मचारीलाई । बाध्यताले गर्दा परिवारका सबैको आवश्यकता र चाहानाको उपेक्षा गर्नै पर्छ । कहिले रिसाउँछु, झर्किन्छु र फन्किन्छु पनि । कहिले आफ्नो लाचारीपनलाई सबै सामु प्रष्ट्याउने यत्न गर्छु ।
तर। उनीहरू मेरो कुरामा बनावटीपन हो भन्ने ठान्दछन् । नाटकीय मान्दछन् मेरो कुरा र पत्याउँदैनन् । मन सुक्सुकाउँछ । दिमागमा आठ रेक्टर स्केलको भूँइचालो जान्छ । आफ्नो मनको भावनालाई बुझिदिएनन परिवारले । मलाई सहानुभूतिपूर्ण सद्भाव राखिदिने र सकारात्मक रूपमा बुझिदिने प्रयास गरिदिएनन् उनीहरूले । हो न हो बैंकमा वा अन्य कुनै वित्तिय संस्थामा टन्न पैसा थुपारेर उनीहरूको आवश्यकताको तगारो बाउ हुँ म यस्तै सोच्छन् मेरा नानीबाबुहरू । अन्यत्र कतै केटी राखेको होला उसकै लागि कमाइको ठूलो अंश खर्चिन्छ होला मेरो बुढाले ! मेरी बुढीले यस्तै सोचि होला । बा आमालाई बुढेसकाल लागेको छ ।
यसो तुलना गर्छु म बसेको कुर्सी र मेरो जिन्दगी ठ्याम्मै मेल खान्छ बाबै ! दाँज्न प्रयासरत छु म । कतै सनमाइका उप्किएको छ । कतै ठोकिएका किलाहरूले ठाउँ छोडेका छन् । खुइलिएको छ रंगविहिन भएर कुर्सी । कतै के नमिलेको, कतै के नपुगेको ।
तीर्थव्रत गर्ने रहर । छोराले हिजो हामीले गरेको दुःखलाई बुझिदिए हुन्थ्यो भन्ने उहाँहरूको रहर । कहिलेकाँही यस्तै कुरामा कचकच पर्छ । खाजा खाँदा अरुको कहिल्यै तिर्दैन विल यो कन्जुुुस ! मित्र मण्डलीको दोषारोपण छ । आफन्तहरूको छुट्टै आरोप छ नि कहिल्यै घरमा निम्तो गर्दैन बाबै । उफ् कसलाई कसरी सम्झाउँ ? म मेरो समस्यासँग परिचित छु । अरुलाई मेरो समस्याको बारेमा सुइँकोसम्म भए पो ! सम्झन्छु कहिलेकाँही र यी कुराहरूले मनै उद्धेलित हुन्छ । कहिलेकाँही सपनामा पनि झस्किन्छु । बेचैनीले मुटुको चाल यति बढ्छ कि मापन गर्न सकिन्न । पीडाले धेरै पटक रन्थनिएको छु म । धेरै पीडाले थिच्दाको दुखाइ शब्दमा ब्यक्त गर्न कठीन हुँदो रहेछ ।
जब मन दुख्छ नि म सुटुक्क घरबाट वाहिरिन्छु । करिव तीन सय मीटर दुरीमा रहको माइल्दाईको हरियो पर्दाभित्र दायाँ बायाँ छेलिएर पसिदिन्छु सुटुक्क । सबैभन्दा कुनाको एउटा थोत्रो कुर्सी, जुन मेरो जिन्दगीसँग बिम्बित लाग्छ मलाई त्यहिं बसिदिन्छु टुसुक्क । यसो तुलना गर्छु म बसेको कुर्सी र मेरो जिन्दगी ठ्याम्मै मेल खान्छ बाबै ! दाँज्न प्रयासरत छु म । कतै सनमाइका उप्किएको छ । कतै ठोकिएका किलाहरूले ठाउँ छोडेका छन् । खुइलिएको छ रंगविहीन भएर कुर्सी । अभाव र पीडाको दब्दबा खप्न नसकेको मेरो जिन्दगी त्यस्तै छ । कतै के नमिलेको, कतै के नपुगेको । साँच्चै जीवनको लय मिलाउन सकिरहेको छैन् म । त्यसैले यस्ता कुराले कहिलेकाँही शीतांग बनाउँछ मलाई ।
होटलवाल्नी माइली मादक मुस्कान छर्दै एक स्टिल गिलासभरीको लोकल अर्डरविना नै थपक्क मेरा अगाडि राखिदिन्छिन् । उनी अभ्यस्त छिन् म के पिउँछु भनेर । त्यसैले अर्डरको जरुरी ठान्दिनन् । खरानी कट्कटिएको एस्ट्रे र एउटा चुरोट साथमा राखिदिन्छिन् । म अगाडि डोरीमा बन्धकी बनेर झुण्डिएको छ लाइटर । लाइटर तानेर चुरोट सल्काउँछु म । लामो चुरोटको सर्काेसँगै ओठमा गिलास पुर्याउँछु र घरमा परेको तनाव मज्जाले लामो सर्काे तानेर धुँवासँगै उडाउँछु । कल्पिन्छु आकाश यो धुँवा झैं मेरा अभाव र पीडाहरू उडाउन पाए ! आहा ! जिन्दगी कति रमाइलो हुन्थ्यो होला ।
यतिबेला सुखको कल्पनाको उडान भरेँ । टेबुलको गिलास उठाएँ र मुख बिगार्दै पिउन थालें । मोरो रक्सी नमिठो हुँदा नि पिउँछ मान्छे । साला यसैगरी सबै दुःख र अभावहरू पिएर सकाउँन पाए ! पिउँदै गएँ, गिलास रित्याउँदै गएँ । फेरि उही मादक मुस्कानका साथ माइलीले थपिदिइन् । रक्सीको नशा चढ्दै गयो । लाग्यो मेरा सब पीर सकिए । मन प्रसन्न भयो । मेरो विश्वासको वृत्तले त्यही भन्यो । रक्सी मेरो रगतका कणकणमा मिसिँदै गयो । मन पनि प्रसन्नताको गहिराइमा गहिरिँदै गयो । मनले एकतर्फी घोषणा गर्यो समस्या रित्तिए भनेर ।
अब लाग्यो मलाई सुखले निम्तो दिनेछ । उसले भन्यो, ‘प्रदीप अब तेरा समस्या रित्तिए । तेरा दुर्दिन सकिए । तेरा एकांगीपनबाट तँ मुक्त भइस ।’ म मुसुक्क मुस्कुराँए आफैँसँग । लाग्यो जिन्दगी नयाँ मोडमा आएर खडा भएको छ । मन प्रशन्न भो । म पूरै मुडमा थिएँ । दुःख सकिएर सुखको अनुभूति गर्दै थिँए म । लाग्यो बास्तविक साथी त यी चुरोट र रक्सी पो रहेछन् । यिनीहरू भगवान भएर आए मेरो जिन्दगीमा । बिल तिर्ने पैसा थिएन । जाबो जागिरेसँग कहाँ होस् त सधैँ । यताउती हेरेँ । खुसुक्क बोलाएँ माइल्दाइलाई र बहीखातामा बिल चढाउन लगाएँ । दुःखपीडा हराएको मान्छे भएर हुलुँगो मन तर रक्सीको मातले लड्खडाएको शरीर हल्लाउँदै बेफिक्रिसँग निस्किएँ ।
भयानक सन्नाटायुक्त कालो रात । गाउँ न हो छिट्टै सुत्ने चलन । घरतिर आफ्ना पाइला अघि बढाएँ । लड्खडाएका छन् पाइला मेरा तर पनि म अघिपछि भन्दा अलिक सम्हालिएको छु । लाग्छ मन आज चङ्गा झैं हलुँगो भएको छ । केही कदम अगाडी बढेको के थिए खाल्डो रैछ पत्तै भएन । परि हालेँ खाल्डोको पासोमा । बल्ल बल्ल सम्हालिएर उठेँ । यसो माथितिर हेरेँ चन्द्रमाले चिहाइरहेको रहेछ । लाज लाग्यो । शीरनत गरेँ चन्द्रमा सामु । आकाशको चेपवाट मेरो सबै चालढाल निहालिरहेको चन्द्रमासँग समेत लजाउनुपर्ने बबुरो म ।
अगाडि बढेँ बिस्तारै । घरको आँगनमा पुग्दा सबैतिर चकमन्न थियो । नहोस् पनि किन रात छिप्पिदो छ । धर्मपत्नीलाई मेरो दैनिकी थाहा भएरै होला ढोकामा आग्लो हालेको हुन्नथ्यो । आफूलाई सम्हाल्ने प्रयास गर्दै म जुत्तालाई खोल्छु र सुटुक्क लिस्नो चढेरमाथि गएर सुत्छु । यस्तै हो प्रायः । जागिर भनेको वास्तवमै अचम्मकै छ नेपालमा । झनै तल्लो दर्जाको मान्छेलाई त झन सजिलो कसरी होस् । न हिउँदको ठिहीले चिस्याउँन सक्छ न गर्मी यामको तातोले पोल्न नै ।
यस्तै छ जागिरे जीवन । सबै सम्म, सधैँ उस्तै । धक फुकाएर हिँड्न सक्दिन आर्थिक अभावले थिच्छ सधैं । भ्रष्टाचार गर्न मन लाग्दैन । त्यसको गन्धले पनि मलाई ढलाउँछ । गाह्रो छ हजुर धेरै नै । जीजिविसा पालेर त्यसकै गोरेटोमा हिँडेको सपना देख्न समेत छुट छैन् म जस्तो तल्लो दर्जाको जागिरेलाई । सोच्छु मेरो जस्तै जिन्दगीको विदीर्ण चित्र भएकाहरू कति होलान् । संख्या एकिन गर्न नसके पनि असंख्य अभाव र गरिबीको पीडाका दैनिकी भोग्न बाध्य आम भुईंमान्छे सम्झेर जागिरे भएकोमा आत्मसन्तुष्टिको सास फेर्ने कोसिस पनि गर्छु र लाग्छु अड्डातिर ।
जीवनका लाऊँ खाऊँ वसन्त सकिइसके । पचास कटेर एकाउन्नलाई टेक्ने मेसोमा छ उमेर । गर्न सकेको केही होइन । आँखाले खोज्छ परिवारलाई सुखी राख्न सकियोस्, मनले भन्छ अभावहरूबाट त्राण मिलोस् । यथार्थता फरक छ हजुर दुःखको कुहिरो पन्छाउँने मेरो अथक प्रयास सदैव असफल रहृयो ।
यता गर्यो, उता गर्यो । टुसुक्क बस्न पनि पाइन्न बाबै । निर्देशक कडा छन् अफिसका । साना कर्मचारीलाई जस दिँदैनन् । टिप्पणी उठाएर लग्यो । शब्द शब्दमा खेल्ने, केरमेट गर्ने र पुनः लेखेर ल्या भन्ने उनको बानीसँग म परिचित छु । हैरानै गर्छन् भन्या । जागिरे जीवन उतिसाह्रो सपाट छैन् । कोही उनका भिजिटर आए भने चाहिँ अलिक सजिलो हुन्छ मलाई । घन्टौं कोठा थुनेर गोप्य वार्तामा ब्यस्त हुन्छन् चिया कफीबाहेक केही गर्नु पर्दैन त्यतिबेला । तर, के जान्नु मैले के कुरा गर्छन् त्यहाँ ।
पौरख गर्नुपर्छ स्कुल पढ्दा गुरुले सुझाउँथे मलाई । म राम्रै पढ्थेँ । सरकारी सिन्दुर लाउने मनको उत्कठ चाह उतिवेला मेरो । खरदारमा नाम दोस्रो पटकको प्रयासमा निकालेँ तर आर्थिक अवस्था दिनानुदिन खस्कँदो । सँगैका मिल्ने दौतरीहरू बिजनेस म्यान बनेर राजधानी वरिपरि घर ठडाइसके । म भने उही बाको सम्पत्तिमा बसिरहेको छु । जोड्ने भन्दा नि ऋणको भारले पुख्यौली सम्पत्ति बेच्ने परिस्थितिमा पुगिसकेको छु ।
जीवनका लाऊँ खाऊँ वसन्त सकिइसके । पचास कटेर एकाउन्नलाई टेक्ने मेसोमा छ उमेर । गर्न सकेको केही होइन । आँखाले खोज्छ परिवारलाई सुखी राख्न सकियोस्, मनले भन्छ अभावबाट त्राण मिलोस् । यथार्थता फरक छ हजुर दुःखको कुहिरो पन्छाउँने मेरो अथक प्रयास सदैव असफल रहृयो । दुःखलाई सुम्सुम्याएर बस्नुभन्दा अरू केही उपाय रहेन । अभावका बादलहरू फाट्दै फाटेनन् जिन्दगीबाट । धन्न उही घर पायक छ जागिर नत्र त कोठामा खुम्चिएर अझै थप खर्चको चाङ लाग्थ्यो ।
आमनेपालीभन्दा फरक छैन जागिरे मेरो जीवन । छोराछोरीका आवश्यकताका मागपत्रहरू लामा लामा हुन्छन् । अर्धाड्डिनीका रहरहरू बग्रेल्ती थाती छन् । बाआमाको सामान्य अपेक्षासमेत पूरा गर्न सकिरहेको छैन । आकस्मिक रूपमा आइपर्ने समस्याहरू जेतनतेन टाल्दै गरेको छ मेरो नोकरीको सियो । लगाम लागेको छ विवशताको मज्जैले । दुःखमा मन दुःखाउनेहरू धेरै भेटिन्छन् । दुःखमा मल्हमपट्टी लाउने को हुन्छ र ! दैनिकी उस्तै थकाइ लागोस्, जरो आओस् के मतलब ! जागिरे म अड्डामा घिच्चिनै पर्यो । एउटा सानो भूगोलमा अलिकति मात्रै स्वतन्त्रता बोकेर बाँचेको छु म ।
घर, अड्डा, माल्दाइको हरियो पर्दा यही हो मेरो साँघुरो घेराभित्रको सानो भूगोल । अभावको दुर्घटना बोकेको मन लिएर आशावादिताको सपना देख्ने यत्न गर्दै बाँच्न कम्तिको मुस्किल रैनछ हजुर यो तल्लो दर्जाको जागिरेलाई ! न उडेर पर जानसक्छु चरी झैँ । न छोडेर जानसक्छु पथिक झैँ यो सानो मेरो भूगोल । जति हुन्छ चुपचाप यथावत दैनिकी व्यहोर्नु मेरो बाध्यता । प्याजपत्र जस्तो जति खोल्यो उति देखिन्छन् समस्याका चाङ भो अब खोल्दिन म ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच