काठमाडौं । आज अन्तर्राष्ट्रिय योग र संगीत दिवस विभिन्न कार्यक्रमबीच मनाइँदै छ । हरेक वर्षको जुन २१ तरिखमा विश्व योग र संगीत दिवस मनाउने गरिन्छ । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो । यस सन्दर्भमा आज विभिन्न कार्यक्रमगरी योग दिवस मनाइँदै छ । यसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम भएका छन् भने आज पनि संघसंस्थाले विभिन्न कार्यक्रमबीच योग र संगीत दिवस मनाउँदै छन् ।
अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गर्नुभएको थियो । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।
योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । यस्तै, हामीकहाँ राष्ट्रिय योग दिवस माघ १ गते मनाउने गरिन्छ ।
योगको अर्थ जोड्नु भन्ने लाग्छ । वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । पतञ्जलिको योग दर्शनमा भएअनुसार योग त्यो प्रयत्न, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रीयलाई वशमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ । शरीर, इन्द्रीय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ । त्यही शुद्ध स्वरूप प्राप्त गर्ने माध्यम नै योग हो । योगदर्शनका प्रतिपादक ऋषि पतञ्जलि हुनुहुन्छ ।
यस्तै, आज विश्व संगीत दिवस । हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रमगरी संगीत यो दिवस मनाउने गरिन्छ । फ्रान्सको पेरिसबाट ‘फेट डे ला म्युजिक’ नामले सुरु भएको यो महोत्सवलाई हाल विश्वका हरेक कुनामा विश्व संगीत दिवसको रूपमा मनाउने गरिएको छ । सन् १९८२ को जुन २१ तारिखका दिन पहिलो पटक विश्व संगीत दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा यो दिवस मनाइँदै आइएको छ । संगीतसँग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्वका विभिन्न ११० भन्दा बढी देशमा संगीत दिवस मनाउने गरिन्छ । नेपालमा विसं २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको हो ।
संगीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक-गायिका, रचनाकार, संगीतकार तथा संगीतप्रेमीहरूको सहभागितामा यो दिवस मनाउने गरिन्छ । संगीतलाई विश्वव्यापी भाषा मानिन्छ । २१ जुनको दिन वर्षको सबैभन्दा लामो दिन पनि हुनेगर्छ । संगीत र योगले पनि मानिसलाई दीर्घजीवन प्रदान गर्ने गर्दछ ।
पूर्वसन्ध्यामा चन्द्रागिरि नगरपालिकामा कार्यक्रम
‘स्वयं र समाजका लागि योग’ मूलनाराका साथ १०औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा पूर्वप्रधान न्यायाधीश दीपककुमार कार्कीको प्रमुख आतिथ्यतामा बिहीबार योग दिवस मनाइएको छ ।
चन्द्रागिरि नगरपालिका-१५ स्थित विष्णुदेवी मन्दिरको हलमा आयोजना गरिएको कार्यक्रममा योगको महत्वमाथि प्रकाश पार्नुका साथै सबैले योग प्रशिक्षणमा सहभागिता जनाउँदै अभ्यास पनि गरेका थिए । सर्वप्रथम योगको प्रादुर्भाव गराउने भगवान शिव तथा दर्शन र अभ्यासका रूपमा स्थापित गराउने महर्षि पतञ्जलिको स्मरण सबै वक्ताहरूले गरेका थिए । विशिष्ट अतिथिका रूपमा गणतन्त्र भारतीय राजदूतावासकी राजनीति तथा शिक्षा विभागकी प्रथम सचिव प्रियदर्शनी आरले उपस्थित हुन पाएकामा खुशी व्यक्त गर्नुका साथै योगलाई विश्वव्यापी बनाउन सबैको सहयोग रहेको बताउनुभयो ।
प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक उन्नतिका लागि महत्वपूर्ण विधि भएको बताउनुभएको थियो । नगरपालिकाका मेयर घनश्याम गिरीले नगरका प्रत्येक वडामा योग समिति रहेको र उनीहरूलाई पालिकाका तर्फबाट सामान खरिदमा सहयोग गरेको बताउनुभयो । योगले समाजलाई समेत जोडेको कुरा बताउँदै नगरविकासमा सबैको सहयोग रहेको कुरा नेकपा माओवादी नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले बताउनुभयो ।
प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले योगको आवश्यक्ता बढ्दै गएको बताउनुहुँदै योग दिवसको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभएको थियो । विष्णुदेवी संरक्षण समितिका अध्यक्ष गौरीदवाडीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै मन्दिरबाट भइरहेको धार्मिक तथा सामाजिक कामका बारे जानकारी गराउनु भएको थियोे । सभापतिका आशनबाट नेपाल-भारत मानव विकाश तथा मैत्री संघका अध्यक्ष सूर्य भुसालले कार्यक्रममा भारत सरकार का प्रतिनिधिका रूपमा प्रथम सचिवको उपस्थिति हुनसकेकोमा विशेष धन्यवाद दिँदै यस क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने वचन दिनुभयो ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित, श्रीविन्ध्यवासिनी आध्यात्मिक संघका पूर्वअध्यक्ष केशवप्रसाद चौलागाईं, श्रीविन्ध्यवासिनी आध्यात्मिक संघका संरक्षक रामचन्द्र शर्मा, किसान नेटका कार्यकारी प्रमुख उदय खतिवडा, १५ वडाका वडा अध्यक्षलगायत व्यक्तित्वहरूको उपस्थिति थियोे । विष्णुदेवी मन्दिर संरक्षण समिति तथा नेपाल-भारत मानव विकास तथा मैत्री संघको पहलमा अन्य संघसंस्थासमेत संलग्न थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच