वीरेन्द्रनगरमा डिप बोरिङले जमिनमुनीको पानी रित्तिदै

कहिल्यै नसुक्ने सत्यकाँडा स्थित सार्वजनिक पानीको मुल सुक्दै गएपछि अवलोकन गर्दै स्थानीय ।

सुर्खेत । हाल वीरेन्द्रनगर-३ तातापानी क्षेत्रका अधिकांश घरमा इनार सुख्खा छन् । यसको एउटै प्रमुख कारण हो खानेपानीका डिप बोरिङ प्रयोगमा ल्याउनु । व्यक्तिगत देखि व्यवसायिक डिप बोरिङका कारण इनार सुकेपछि स्थानीयवासीलाई पानीको जोहो गर्न धौ धौ परेको छ ।

घरमा इनार सुकेपछि तातापानी क्षेत्रका घरधुरी पानीविहीन बन्न थालेका हुन् । वर्षौदेखि नसुकेका इनार यो वर्षको खडेरीमा सुकेपछि खानेपानीदेखि सौच र सरसफाई गर्न सकस परेको तातापानीवासी बताउँछन् । तातापानी जस्तै वीरेन्द्रनगरका हरेक वडा तथा टोलटोलमा डिप बोरिङ खन्दा कहिल्यै नसुक्ने ढुंगेधारादेखि सार्वजनिक कुवासमेत सुक्न थालेका छन् ।

वर्षौदेखि उपभोग गर्दै आएको सत्यकाँडा, गणेशचोक र पतेनी रोड स्थित सार्वजनिक पानीका मुल समेत सुक्न थालेका हुन् । पछिल्लो समय सुर्खेत उपत्यकाभरी इनार सुकाउने डिप बोरिङ संस्कृति मौलाउन थालेको हो ।

जमिनमुनि पहिलो तहमा पानी सकिएर स्यालो ट्युववेल काम नलाग्ने भएपछि डिप बोरिङबाट दोहन तीव्र भइरहेको हो । जसको परिणाम, युगौंदेखि खानेपानीको स्रोतको रुपमा रहेका ढुंगेधारा र इनारहरु वर्षामा समेत सुक्दै गएका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाको तथ्यांकअनुसार सुर्खेतमा अहिले अनुमति लिएका १ सय ५ वटा मात्रै डिप बोरिङ छन् । तर हजारौं डिप बोरिङ अवैध रुपमा चलेको अनुमान छ । नगरपालिकाका इन्जिनियर हरी के.सी का अनुसार २०७६ यता डिप बोरिङको लागि अनुमति लिनपर्ने कानुनी व्यवस्था गरिएको छ । तर त्यसअघिका धेरै डिप बोरिङ अझै अनुमति लिन आएका छैनन् ।

गत आर्थिक वर्षसम्म कुल ९३ वटा डिप बोरिङले नगरपालिकाबाट अनुमति लिएकोमा चालु आ.व को हालसम्म थप १२ वटा डिप बोरिङ संचालनको लागि नगरपालिकाले अनुमति दिएको छ । वर्षेनी काकाकुल बन्दै गएको वीरेन्द्रनगरको प्यास मेटाउन भेरी लिफ्टिङको पानी छिट्टै ल्याउनुपर्ने देखिन्छ ।

हाल डिप बोरिङको विवाद सुर्खेतका हरेक टोटटोलमा चर्किदै गएको छ । डिप बोरिङमाथि जलाधार विज्ञहरुले पनि प्रश्न उठाउन थालेका छन् । बोरिङबाट पानी तोनेर चलाउनु आफैंमा गलत काम नभएको भन्दै अधिक दोहनले मरुमूमीकरण निम्त्याउनसक्ने इन्जिनियर के.सी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘डिप बोरिङबाट पानी निकालेर प्रयोग गरिरहने तर पुनर्भरण हुन नदिने हो भने जमिनमुनि पानी सकिन धेरै समय लाग्दैन ।’ उहाँका अनुसार डिप बोरिङले पर्यावरणीय चक्रमा सिधा असर गर्छ । डिप बोरिंगले जमिनमुनी दोस्रो सतहको पानी तान्छ, दोस्रो सतहमा पानी जम्मा हुन दशकौं या कहिलेकाहीँ शताब्दी नै लाग्छसक्छ । भने दोस्रो सतहको पानी सुक्यो भने त्यसको ठाउँ माटोले लिन्छ अनि जमीन सुख्खा हुदै र भासिँदै जाने खतरा हुन्छ ।

व्यवसायी र सरकारी निकायको मनोमानी

सुर्खेतमा धेरै पानी खपत गर्ने होटल, उद्योग, अस्पताल लगायतलाई डिप बोरिङ अनुमति दिनैपर्ने अवस्था पनि छ । तर कर्णाली सरकारका मन्त्रालय र यहाँका सरकारी कार्यालयले मनोमानी डिप बोरिङ खनेका छन् ।

नियमन गर्नुको साटो उल्टै आफुखुसी डिप बोरिङ खन्ने र डिप बोरिङको योजना दिनमा कर्णाली सरकारका मन्त्रालय तल्लिन छन् । त्यसैमा झन् डिप बोरिङ अनुमति पाएका व्यवसायी उद्योगहरु मापदण्डमा छैनन् । यसबारे वीरेन्द्रनगर नगरपालिकाले नत अनुगमन गर्न नत नियमन नै गर्न सकेको छ ।

सर्वसाधारण नागरिकले खनेका इनार सुक्ने गरी डिप बोरिङबाट पानी निकाल्ने बदमास व्यवसायीहरु र लाचार सरकारी निकायकै लापरवाहीका कारण वीरेन्द्रनगरको भूमिगत जल भण्डार रित्तिदै जान थालेको छ ।

नगरपालिका अधिकृत यामलाल गिरीका अनुसार दुई वर्षयता अनुमति लिएर व्यक्तिगत डिप बोरिङ खन्न रोकिएको छ । तर कसैले लुकिछिपि खनेको पालिकालाई खबर छैन । ‘वीरेन्द्रनगरमा रहेका कतिपय सरकारी कार्यालयले आफुखुसी डिप बोरिङ गरेका छन्’ उहाँले भ न्नुभयो, ‘यस्तो काम बन्द गर्न र अनुमतिका लागि प्रक्रियामा आउन सार्वजनिक सूचना निकाल्ने तयारीमा छौं ।’

डिप बोरिङको अनुमति लिँदा वातावरण, भूगर्भ र पर्यावरणमा पर्न सक्ने असरबारे अध्ययन गरिरहनु पर्दैन । यीबाहेकका कागजात पेश गरेर नगरपालिकाबाटै सहजै अनुमति पाईन्छ । नगरपालिकाले अनुगमन पनि खासै नगर्ने भएकाले अनुमति नलिई बोरिङ गर्नेले पनि सहजै उन्मुक्ति पाइरहेका छन् ।

अनुमति लिएकाहरुले पानी पुनर्भरण गर्न इनार वा पोखरी बनाएर वर्षे पानी खसाल्नपर्ने व्यवस्था छ । त्यसका लागि आफ्नो क्षेत्र अपर्याप्त वा अपायक भए विद्यालय, कलेज, सार्वजनिक ठाँऊ लगायतका खुला क्षेत्रको प्रस्ताव गर्न सकिने व्यवस्था छ । तर अहिलेसम्म अनुमति लिएका कसैले पनि यो मापदण्ड पालना गरेका छैनन् ।

भूमिगत पानीको पर्याप्तता, जल सतह, जल उपयोगको अवस्था, पुनर्भरणको सम्भावना, जनघनत्व आदिलाई आधार मानी भूमिगत पानीको उपलब्धता सम्बन्धी क्षेत्रको रुपमा नगरपालिकाले आफनो भौगोलिक क्षेत्रलाई सुरक्षित, अर्ध संवेदनशील र संवेदनशील गरी तीन किसिमले वर्गीकरण गरेको छ ।

सुरक्षित क्षेत्रमा ३० मिटर र अन्य क्षेत्रमा ५० मिटरभन्दा गहिराइबाट पानी तान्न रोक लगाइएको छ । तर यो नियम पनि कसैले पालना गरेका छैनन् । नगरपालिकाको निर्देशिका अनुसार, सुरक्षित क्षेत्रमा गाडिने डिप बोरिङबाट प्रतिसेकेन्ड २ लिटरदेखि १५ लिटरसम्म पानी निकाल्न पाइन्छ ।

यस्तै अर्ध संवेदनशील क्षेत्रका बोरिङलाई २ लिटरदेखि ७ लिटरको सीमा तोकिएको छ भने संवेदनशील क्षेत्रमा २ लिटरदेखि ३ लिटर प्रतिसेकेन्ड । तर वीरेन्द्रनगरमा संचालित सबै डिप बोरिङबाट मापदण्डभन्दा बढि पानी निकाल्ने गरेका छन् ।

जलस्रोत ऐन, २०४९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ध) (१) ले दिएको अधिकार प्रयोग गरी वीरेन्द्रनगर नगर कार्यपालिकाको मिति २०७६ असार ०१ को बैठकले भूमिगत जल सम्बन्धिको निर्देशिका समेत जारी गरेको छ । तर निर्देशिका कार्यान्वयनमा भने नगरपालिका आफै असफल भएको पाइन्छ ।

डिप बोरिङ अनुमति प्रदान तथा नियमन कार्य गर्न नगरपालिका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा पुर्वाधार विकास शाखा प्रमुख र भुमिगत पानी सम्बन्धी क्षेत्र हेर्ने शाखा प्रमुख सदस्य रहने व्यवस्था छ । तर जिम्मेवारी अनुसार यो समितिले पनि काम गरेको छैन ।

यस्तै व्यवसायिक, औद्योगिक र सार्वजनिक प्रयोजनका लागि डिप बोरिङ गर्दा हरेक वर्ष जनप्रतिनिधीको रोहवरमा सार्वजनिक सुनवाइ वा छलफल गरी प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था कार्यान्वयन भएको पाइदैन ।

भूमिगत स्रोतको पानी उपयोगको अनुमति पत्र पाएका उपभोक्ताले भूमिगत पानी पुनर्भरण गर्नुपर्ने व्यवस्था छ । तर नगरपालिकाको लापारवाहीले भूमिगत पानी बेचेरै करोडौं कमाउने व्यवसायीहरुले भने यो व्यवस्थाबाट छुट पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?