काठमाडौं । असार ४ गते, दिउँसो करिब १ बजे । भक्तपुरको सूर्यविनायकस्थित दधिकोटमा रहेको डिल्लीबहादुर राउतको घरमा तीनजना अपरिचित व्यक्तिहरू आइपुगे । उनीहरूले घरमा आएर आफूहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट आएको भनेर परिचय दिए । एक जनाले नेपाल प्रहरीकै हवल्दारकै कार्डसमेत देखाएका थिए । त्यति भएपछि राउत विश्वस्त हुनुभयो । राउत मेनपावर व्यवसायी हुनुहुन्छ । उहाँले युरोपको क्रोसियामा नेपाली कामदार पठाउने काम गर्दै आउनुभएको छ । अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरूले घरको खानतलासी गर्ने बताए । राउतलाई कागजमा सहीसमेत गराएर उनीहरूले घरको खानतलासी गरे । घरका कुनाकुना छापा मारे । वास्तवमा उनीहरू सिआइबीबाट आएका थिएनन् । प्रहरी पनि थिएनन् । उनीहरू लुटेरा थिए । राउतको घरबाट दुई करोड रुपैयाँ लुटेर फरार भए ।
यो फिल्मी शैलीको लुटपाटको पूर्ण रहस्य खुल्न भने झण्डै एक साता लाग्यो । घटनाबारे सुइँको पाएपछि अनुसन्धान सुरु गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार घटनाको पर्दाफास गरेको हो । घटना संलग्न चार जनालाई पक्राउ गरेर कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-२ का ३० वर्षीय सुजन रसाइली, सोही ठाउँकै ३१ वर्षीय भीमबहादुर तामाङ, ३८ वर्षीय कृष्णबहादुर बोहरा र ओखलढुंगाको मानेभञ्ज्याङका मुनाराज राई छन् । उनीहरूमध्ये रसाइली र तामाङलाई भक्तपुरबाट, राईलाई ओखलढुंगाबाट र बोहरालाई महाराजगञ्जबाट पक्राउ गरिएको एसएसपी भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेकाहरूमध्ये बोहरा प्रहरी हवल्दार हुन् ।
कोठामा पुगेर भागबण्डा, होटेलमा गएर मोजमस्ती
लुटपाटका मुख्य योजनाकार डिल्ली बहादुरकै मामा कुलबहादुर खत्री रहेको खुलेको छ । डिल्ली र कुलबहादुर दुवै वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार डिल्ली बहादुरको घरमा करोडौँ रुपैयाँ रहेको सूचना कुलबहादुरले नै सुजनलाई सुनाएका थिए । सुजनले सूचना पाएपछि उनीहरूले लुटपाटको योजना बनाए ।
विभिन्न आपराधिक गतिविधिमा सक्रिय सुजनलाई उक्त सूचना पुगेपछि भने लुटपाटको योजना बन्यो । उनीहरूले प्रहरी नै बनेर घरभित्र जाने योजना बनाए । घरभित्र खानतलासी गरेर रकम लुटपाट गर्ने योजना बुने । प्रहरीका अनुसार लुटपाटअघि भक्तपुरको कौशलटारस्थित एक होटेलमा बसेर चारैजनाले लुटपाटको योजना बनाएका थिए । कुलबहादुर भने हाल फरार छन् । चारमध्ये सुजनले डिल्लीको घर बाहिर बसेर निगरानी गरेका थिए । बाँकी तीन जनाले घरभित्र बसेर लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
लुटपाटपछि चारजना दुईवटा मोटरसाइकलमा भीमको माकलबारीस्थित कोठामा पुगेका थिए । भीमकै कोठाबाट करिब आधा रकम डिल्लीका मामा कुल बहादुरले लिएका थिए । प्रहरी अधिकारीका अनुसार बाँकी रहेको रकमबाट सुजनले ३० लाख लिए भने बाँकी तीन जनाले २० लाख रुपैयाँको दरले बाँडेको पक्राउ परेकाहरूले स्वीकारेका छन् । रकम बाँडफाँटपछि उनीहरूले विभिन्न रिसोर्ट तथा होटलमा गएर खर्च गरेको पाइएको छ । सुजन र भीम सुकुटे रिसोर्ट गएर बसेको प्रहरीले जनाएको छ । त्यसपछि तातोपानीसम्म पुगेको र त्यहाँबाट फेरि दोलखा गएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको हो । कालिञ्चोकसम्म पुगेर घुमेर फर्किएपछि भने उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेकाको साथबाट हालसम्म ३६ लाख ३६ हजार रुपैयाँ बरामद गरेको छ । दुई वटा मोटरसाइकल, १० वटा मोबाइल, लुट्न प्रयोग गरिएको झोला, कपडा, खुकुरीलगायत बरामद गरेको प्रहरीले जनाएको छ ।
घटनापछि मामाले लिए थप ३५ लाख
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार राउतको घरबाट दुई करोड रुपैयाँ लुटिए पनि प्रहरीलाई जानकारी भने दिइएको थिएन । प्रहरीले स्थानीयबाटै खबर पाएपछि घटनाको अनुसन्धान सुरु गरेको थियो । त्यति हुँदा पनि राउत घटनाबारे बताउन राजी भएका थिएनन् । घरमा रहेको रकमका कारण आफू पनि अप्ठेरोमा पर्नसक्ने डरले उनले बाहिर कुरा ल्याउन नचाहेको अनुसन्धान अधिकारीको आशंका छ । तर, प्रहरीले केरकार गर्दै जाँदा घटनाबारे सुइँको पाएको हो । अनुसन्धान गर्ने टोलीले सुरुमा आसपासका सिसिटिभी फुटेज खोजेको थियो । सिसिटिभी फुटेजका आधारमा उनीहरू चढेको मोटरसाइकल प्रहरीले पत्ता लगायो । दुईवटा मोटरसाइकलमा चारजना व्यक्तिहरू सवार थिए । बा.प्र ०२-०४० प ५५३८ र बा.प्र ०२-०३३ प ६१७४ नम्बरको पल्सर मोटरसाइकल प्रयोग भएको थियो । त्यसैको आधारमा प्रहरीले सिसिटिभी फुटेज केलाउँदै मानिस पहिचान गर्न सफल भएको हो ।
प्रहरीका अनुसार घटनापछि पनि मामा खत्री भाञ्जाको घर पुगेका थिए । मोटो रकम घरमा राखेको प्रहरीले थाहा पायो भने अप्ठेरो पर्छ भन्दै उनले उजुरी नगर्न भनेको र घरमा रहेको ३५ लाख रुपैयाँ आफूले सुरक्षित राखिदिने भन्दै लगेको पीडितले प्रहरीलाई बताएका छन् । डिल्लीले दिएको विवरणअनुसार घरमा तीन करोडभन्दा बढी नगद थियो । करिब दुई करोड लुटिएको केही समयपछि मामा कुलबहादुर भाञ्जा डिल्लीको घर पुगेका थिए । ‘१० लाखभन्दा बढी नगद राख्न पाइँदैन, यो कुरा प्रहरीमा रिपोर्ट ग¥यो भने फसिन्छ’, भन्दै भाञ्जालाई प्रहरीकहाँ जानबाट रोकेको अनुसन्धानबाट खुलेको छ । अनि लुटपाटको घटनापछि बाँकी रहेको रकम त्यो पनि यहाँ राख्नुहुँदैन भनेर ३५ लाख लिएर गएका थिए । बाँकी एक करोड रुपैयाँ भने डिल्लीले एउटा ट्राभल्स एजेन्सीलाई दिएको प्रहरीलाई बयान दिएका छन् ।
प्रहरीले यत्रो रकम घरमा कसरी आयो भन्नेबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ । घरमा राखेको रकम हुण्डीको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार पक्राउ परेका सुजनसँग खत्रीको पुरानो चिनजान थियो । सुजनले बाँकी तीनजना खोजेर टोली बनाएको पाइएको छ ।
प्रहरी हवल्दार बोहरा र भीम साथी हुन् । १९ वर्षअघि प्रहरीमा जागिर खाएका बोहरा लागुऔषध दुव्र्यसनीसमेत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसबारे थप अनुसन्धानपछि अन्य कुरा खुल्ने प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच