![एसइईमा आधाभन्दा बढी ‘फेल’](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/More-than-half-fail-in-SEE-Hita-fornt-page.jpg)
✍️ जेबी खत्री
२०४२/४३ सालतिरको कुरा हो । त्यतिबेला म त्यस्तै चौध-पध्र वर्षको थिएँ होला । जब चाडवाड नजिक आउँछन् । केटाकेटी मन सारै खुशी लाग्ने । चाड गएपछि फेरि कहिले ती दिन आउँछन् भनेर दुःख लाग्ने । केटाकेटीपन न हो । पहिलेपहिले त हामी चाडवाड सारै रमाइलोसँग मनाउँथ्यौं । हैसियतभन्दा पनि माथि उक्लेर । पहाडको दूरदराज भए पनि हामीलाई जहाँ जान्छु भने पनि रोकटोक हुँदैनथ्यो । यस्तो खान्छु । यस्तो लाउँछु भन्दा भइगाको थियो । घरमा भए पनि नभए पनि बुबाआमाले पुर्याइ हाल्नु हुन्थ्यो । दशैंमा काट्न भनेर पालेको हाम्रो घरको खसी गाउँ भरिका सबैको भन्दा ठूलो र बलियो हुन्थ्यो । ढिकुटीभरि धान हुन्थे । बाँहाभरि मकै, गोठभरि गाईबस्तु, खोरभरि भेडाबाख्रा हुन्थे ।
दशैँ-तिहार आएपछि युवाहरूको जमात मिलेर गाउँका भञ्ज्याङ र दोबाटोहरूमा पिङ हाल्ने चलन पहिलेदेखिकै हो । यसरी पिङ हाल्न गाउँका युवाहरूले गाउँभरिका गाउँले घरहरूबाट घरै पिच्छे गन्तिले एकएक मुठा, दुईदुई मुठा, जति हुन्छ बाबियो भेला पारिन्थ्यो । बाँस ज-जसकामा लिंगो बनाउन लायकका छन् कसैलाई नसोधी गएर झाँगबाट छानीछानी काटेर ल्याइन्थ्यो । सिपालु र बलियाबांगाहरूले बाबियाको लठारो बाट्थे । त्यो वर्ष पनि दशैँ आउँनुभन्दा एक महिनाअगिदेखि नै यसपालि पनि पोहोर जस्तै पिङ हाल्नुपर्छ । नहाली हुँदैन भन्ने कुरा चलिरहेको थियो । हाम्रो घरदेखि केही पश्चिमपटी सिमली डाँडा भन्ने एउटा डाँडो थियो । त्यसलाई हामी मूल डाँडो पनि भन्ने गर्थ्यौं । यो डाँडो पञ्चमी, चित्रेदेखिका मानिस मर्दा मुर्दा हिँडाउँने बाटो भएकाले पनि यसलाई मूल डाँडो भनिएको हो । यही डाँडो भएर मुर्दा तमोरमा झारिन्थ्यो ।
सिमली डाँडो भनेर चाहिँ त्यहीबीच हाम्रो गाउँको डाँडावरि डाँडापरि तलमाथिका घरहरूलाई पायक पर्ने ठाउँलाई भनिन्थ्यो । दशैँतिहारमा हामी त्यहीँ लिंगेपिङ हालेर खेल्थ्यौँ । हामी त अगिपछि हिँड्ने, बाबियो भेला पारिदिनेमात्र थियौं । पिङ हाल्ने त हामीभन्दा ठूला दाइहरू थिए । आफू भन्दा ठूला दाइहरूले बाबियो नदिनेलाई पिङ खेल्न पनि नदिने भन्ने नियम बनाएका थिए । उनीहरूको नियम लागू पनि हुन्थ्यो ।
त्यसो त पिङ हाल्नमात्र होइन । पहाडमा गाई-भैँसी धेरै पालिने भएकोले गाईभैँसीलाई दाम्ला बाट्न । हिउँदमा गुन्द्री बुन्नलाई हतेउरी बाट्न पनि बाबियो आवश्यक पर्ने हुन्थ्यो । यसका दाम्ला, हतेउरी बलिया पनि मानिन्छन् । जहिल्यै दशैँमा पिङ हाल्ने बेला भयो सबैका घरबाट बाबियो निस्किने आफ्नो घरमा चाहिँ बाबियो नै नहुने । बारीका काँल्लाउँदो अलिअलि भएको पनि बर्खामा गाई-भैँसीलाई दाम्ला बाट्नै नपुग्ने । हिउँद लागेपछि गाउँलेहरू बाबियो काट्न भनेर तमोर पारीको मराङ भीर जान्थे । साँवा दोभानदेखि केही तलबाट तमोरनदीको जंघार तरेर जानु पर्थ्यो । त्यतिबेला तमोरमा पुल थिएन । हाक्पारा घाटबाट डुंगा तरेर जाँदा बाटो धेरै अफ्ठ््यारो र घुमाउरो पर्थ्यो । दशैँलाई पिङ हाल्न बाबियो छैन भनेर म पनि गाउँलेहरूसँग बाबियो काट्न मराङ भीर जाने परेँ । नगए त दशैँमा पिङ खेल्नै नपाइँने भो । पिङ लाउँन बाबियो ननिकाल्नेलाई पिङ खेल्न पनि नदिने नियम बनाएपछि त जसरी भएपनि बाबियो दिनै प¥यो । नत्र पिङ नखेले मात्र हो । त्यही रिसले मैले बारीको काँल्लामा थुप्रै बाबियो रोपेको पनि थिएँ । तर, त्यतिबेला त्यो काँल्लाको बाबियो झाँगिएको थिएन । त्यसरी रोपेको बाबियो झाँगिएर काट्न हुन तीन-चार वर्ष लाग्दो रहेछ । नहुनेले पनि घरको एउटा मुठो त अनिवार्य दिनै पर्ने । त्यो भन्दा पहिले त्यसरी म बाबियो काट्न भनेर कहिल्यै गएको थिइँन । तमोर वारिबाट हेर्दा देखेको मात्र हो मराङ भीर । त्यहाँ पुग्दा कस्तो छ । थाहा थिएन । तमोर वारिबाट हेर्दा रिँगटा लाग्ने बडो भीर थियो ।
बिहान चाँडै खाना खाएर जानु पर्थ्यो । खाना खायौँ । खाजाको पोको बोकेर बाटो लाग्यौँ । तल्ला घरको दाइ, भतिजो र म तीनजना भयौँ । त्यो दिन किन हो अरूहरू गएनन् । भतिजो भएपनि हामी उमेरले दामले थियौँ । पढ्न पनि सँगसँगै पढ्थ्यौँ । सँगै स्कुल जान्थ्यौँ । कहीँ जानु प¥यो कि हामी प्रायः सँगै हुन्थ्यौँ । सारै मिल्ने मसँग । उसैले मलाई बाबियो काट्न जाने भनेर सुइँको दिएको थियो । मलाई घरबाट बुवाआमाले जान अनुमति दिनुहुन्नथ्यो । त्यो दिन पनि आमाले पर्दैन नजा भीरबाट लडिन्छ । नदीले बगाउँछ । तर्न सक्दैनस् भन्दै हुनुहुन्थ्यो । म नटेरी हिँडेको थिएँ । बुबाले त थाहै पाउँनु भएन । बुबाले थाहा पाउँनु भएको भए जानै दिनु हुने थिएन । जाँदा हामीले बाटोमा कसैलाई पनि भेटेनौँ । बिहान खाना नखाई जानेहरू एक-दुईजना बाटोमा फर्कँदै गरेका भटियो । खाना खाएर दिउँसो जाने त हामी तीनजनामात्र थियौं । जाँदा त गइयो, सजिलै तरियो तमोर । अगाडि दाइ, अनि भतिजो त्यसपछि म । लहरै हात समातेर तर्यौँ । केही बगर हिँडेर माथिको भीरतर्फ चढ्यौँ । डर लाग्दो भीर थियो । निकै माथि पुगेपछि मात्र बाबियो भेटियो । नाम्ला,डोरी एकातिर राखेर बाबियो काट्न थाल्यौँ । काटेरमात्र नहुने । काटि सकेपछि त्यसको केही माथिको भागमा समातेर फेदपटि झाँट्नुपर्दो रहेछ । त्यसो गर्दा निखार बाबियो छुट्टिँदो रहेछ । घाँस, पात, पतिंगर झर्दो रहेछ । त्यस्तो बाबियो हेर्दा पनि राम्रो देखिदो रहेछ । त्यसपछि त्यसको मुठा बाँध्नु पर्दो रहेछ । उनीहरूले भारी पुर्याउँदा मैले पनि पन्ध्र मुठा काटँेछु । टुप्पो दोभारेर भारी लाउँनु पर्ने मैले भारी लाउँन जानिन । दाइले लाइदिनुभयो । हरियो बाबियो । पन्ध्र मुठा पनि बोक्न नसकिने गरिको गह्रौँ भएछ । काटेको बाबियो फ्याँक्न पनि लोभ लाग्यो । फ्याँकिएन भारी लाएर बोकियो ।
जाडोको समय सुरु भइसकेको थियो । बिहान भिजेका लुगा नै ओभाएका थिएनन् । फेरि बेलुकीपख पनि भइसकेको थियो । त्यसमाथि तमोरको चिसो पानी । बिहान तरेको ठाउँ भन्दा केही तलबाट पसिएछ । बिहानकै जसरी भतिजोले बाउलाई समाएको थियो । मैले भतिजोलाई । बीचमा आइपुगेपछि कसोकसो गर्दा मेरा दुवै खुट्टा टेकेको ठाउँबाट खुस्किए । शरीर पानीमाथि तैरियो । खुट्टा टेकिन छोडे भूइँमा । मुखबाट अलिअलि गर्दै पानी पस्न थाल्यो । टाउकोले भारी थाम्न छोड्नै लागि सक्यो । तर पनि मैले समाएको भतिजोको हात छोडिँन बरू झन् बलियो गरि समाएँ । कसोकसो फेरि खुट्टा दरो गरी टेक्दा टेकिए छेवैनेर आइपुगिएछ र बल्लतल्ल वारी तरियो । बारी आउँदा कुमदेखि उँधो सबै भिजेको थियो । टाउको मात्र ओभानो थियो । मनमनै सोचेँ धन्न बाचेँ म आज । अबदेखि कहिल्यै यसरी आउँदिन । मुटु ढुकढुक गरिरहेको थियो । एकपटक त सबैलाई सम्झेर आफैंले आफैंलाई माया मारिसकेको थिएँ । तर, कसोकसो बाँचियो । वारी आएर उनीहरू बाउछोराले खाजा खाऔँ भने । चाम्रे भात पकाएर लगेको रहेछ खाए । आफू त के कति पानी खाइएछ । खाजा खान पनि मन लागेन । पेट फुलेर आयो । एकदुई गाँस खाएर फालिदिएँ । एकछिन्बाट जाडोले काँप छुट्न थाल्यो । टाउको पनि दुख्न थाल्यो । त्यति मात्र होइन । मलाई त बाटैदेखि ज्वरो पो आउँन थाल्यो । पानीले भिजेर भारी पनि झन् गह्रौँ भयो । केही मुठा बीच बाटोमै झिकेर फालि दिएँ । घर पुग्न मुस्किल भयो । बल्लतल्ल घर पुगेर भारी फाँले । आमाले नजा,पर्दैन भन्दाभन्दै गएकोले कसैसँग केही भनिन । भन्दा उल्टै गाली खाइने डर थियो । भन्ने ठाउँ पनि थिएन । आफ्नो खुशीले गएको । चुपचाप सबै सहेँ ।
यसरी मैले त्यो दिन त्यसरी तमोर तर्दा भतिजाको हात दरो गरी नसमाएको भए र केही गरी मेरो हात उसको हातबाट खुस्केको भए मलाई तमोरले बगाएर लैजाने थियो । त्यहाँदेखि म त्यसरी बाबियो काट्न त्यो मराङ भीरमा कहिल्यै गइँन । काबु भएँ । आजभोलि पनि दशैँतिहार आयो र पिङ लाउँने कुरा चल्यो कि मलाई त्यही दिनको सम्झना भइहाल्छ । यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण नै बन्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच