भूमिसूक्तको प्रसंग
अथर्ववेदको १२औं काण्डको १-६३ मन्त्रसम्मका भागलाई भूमिसूक्त भनिन्छ । यो जम्मा ६३ वटा मन्त्रले बनेको छ । यसमा भूमिका यावत् कुरा पक्ष र प्रसंग अत्यन्त गम्भीर किसिमले प्रस्तुत भएका छन् । भूमिको बनावट, यसको उपकार, यसको शक्ति सामथ्र्यलगायत समग्र कुरा यी मन्त्रमा प्रत्यक्ष र परोक्ष शैलीमा प्रक्षेपण गरिएको छ । यस सूक्तलाई समग्रमा नै राष्ट्रकवि माधव घिमिरेले अनुवाद उहिल्यै गरेका थिए । शीर्षकका रूपमा आएको माथिको वाक्य चाहिँ भूमिसूक्तको १२ औं मन्त्रको उत्तर वाक्यांश हो । यसको पूर्व भागमा चाहिँ ‘हे पृथ्वी माते तिमी आफ्नो माझमा र केन्द्रमा मात्रै होइन तिम्रा शरीरमा उत्पन्न हुने सबै प्रकारका प्राणी पोषणकारी पदार्थमा हाम्रो अधिकार स्थापित गराउ र हामीलाई पवित्र पनि बनाऊ ।’
तिमी सबैकी आमा हौ र हामी सबै तिम्रा सन्तान हौं । तिमीमा रहेको उर्वरा शक्तिलाई प्रभावकारी बनाउने पर्जन्य (आकाश, वायु, विद्युताग्निको सम्पृक्त रूप) नै हाम्रा पिता हुन् । पृथ्वी, आकाश, वायु, सोम र अग्निरूप विद्युत् सबैले हामीलाई परिपूर्ण र परमसन्तुष्टि प्रदान गरून् भनिएको देखिन्छ । त्रयी भनिने तीनवटा वेद (ऋग्यजुसाम) भन्दा धेरैपछि मात्रै ऋषि अथर्वाले टुनामुना, मारण, मोहन, उच्चाटन, औषध, रसायन आदि तन्त्रमन्त्र र उत्पादन, आवादी, राष्ट्ररक्षाजस्ता अनेकौं प्रकारका कुरालाई समेटेर ‘अथर्ववेद’ बनाएका हुन् । अथर्वाले यस वेदलाई बनाएर आफ्ना गुरुकुलमा यसको अध्ययन अध्यापन गराउन थालेको पनि धेरैपछि मात्रै यो वेद स्वीकृत भई वेद चार मानिन थालेका हुन् ।
समाज विकासका शृंखलाको अनुसन्धानका लागि अथर्ववेद वेद अति नै महिमामय रहेको देखिन्छ किनभने यसमा राजनीति, समाजशास्त्र, आयुर्वेद, कृषिकर्म, ज्योतिष, वास्तु खगोलीय र भूगोलीय ग्रहनक्षत्रादिका कुराले भरिएका थुप्रै मन्त्र र सूक्तहरू रहेका छन् । यो वेद निर्माणका दृष्टिले पनि अन्तिम वेद हो ।
यसमा भएका यज्ञसूक्त, ब्रहृमसूक्त, राष्ट्र रक्षासूक्त, भूमिसूक्तहरू ऋग्वेदका पुरुषसूक्त, श्रीसूक्त, उषस्सूक्त, नासदीयसूक्त जत्तिकै महत्वपूर्ण सूक्त मानिन्छन् । अथर्ववेदमा २० वटा काण्ड छन् । काण्डभित्र सूक्त छन् र सूक्तभित्र मन्त्रहरू छन् । यसरी अथर्ववेद पनि मानव समुदाय र देव मानिएका सदसत्वृत्ति भएका प्राणीका लागि आवश्यक पर्ने भावना र भौतिक कुरालाई आपूर्ति गर्ने गराउने विधि पद्धतिमा आबद्ध रहेको भेटिन्छ । सुर भनिनेलाई यसले पनि स्वीकारेको नै देखिन्छ भने असुर भनिनेलाई पनि अरू तीनवटाले स्वीकारेकै कुरा यसले पनि सहमति जनाएको देखिन्छ । यसका १९औं र २०औं काण्डका मन्त्र ऋग्वेदबाट लिइएका हुन् ।
यसको शैली गद्यपद्याश्रित रहेको देखिन्छ । यसमा खासगरी मोहन, मारण, उच्चाटन, वशीकरणजस्ता प्रयोगका लागि रचिएका मन्त्र र सुख, सम्पति, व्यापार, जुवा आदिमा सफल बन्नका लागि प्रार्थना गरिएका मन्त्रका साथै आयुर्वेद सम्बद्ध धेरै कुराहरू यसमा रहेका छन् । यस वेदमा वर्णन गरिएको सूर्यको स्वास्थ्यप्रद शक्ति र अनेकौं प्रकारका रोगोत्पादक कृमिहरूको पनि विशद वर्णन भएको भेटिन्छ । यी वर्णनका प्रसंगलाई शास्त्रीय दृष्टिले विचार गर्दा यस वेदलाई ‘किटाणु शास्त्र’ भनेर पनि मान्न सकिन्छ । कतिपय भारतीय वेदविदले आर्यअनार्य जातिका बीचमा जब मिश्रण आरम्भ भएर आर्यअनार्यका रीतिरिवाज आपसमा घुलमिल भए यसैको परिणाम हो अथर्व वेद भनेर पनि औंल्याएका छन् (बर्मा,२००९,६५) । यस प्रकारको अन्तर्घुलन या त केटाकेटीका पारस्परिक आकर्षणबाट या त कुनै पार्विक कृत्यादिबाट हुनेगरेका देखिन्छन् । उदाहरणका रूपमा ‘छट’ लाई लिन सकिन्छ ।
तत्वज्ञान
वेद भनेकै तत्वज्ञानका कुरा भएको आदिदेखि अन्त्यसम्मका समग्र ज्ञानविज्ञानका र दर्शन कलाका कुरा पनि भएको शास्त्र भनेर पौरस्त्य जगत्ले बुझ्दै आएको मानिन्छ । यस दृष्टिले अथर्ववेदलाई हेर्दा यसको १४औं काण्डमा विवाहसम्बन्धी कुराको वर्णन सटीक प्रकारले भएको छ भने १५औं काण्ड अत्युच्च श्रेणीको तत्वज्ञान वर्णनले भरिएर प्रकट भएको देखिन्छ त १८औं काण्ड अन्त्येष्टि विधि र पितृश्राद्धका विमर्शले भरिएको भेटिन्छ । समाज विकासका शृंखलाको अनुसन्धानका लागि यो वेद अति नै महिमामय रहेको देखिन्छ किनभने यसमा राजनीति, समाजशास्त्र, आयुर्वेद, कृषिकर्म, ज्योतिष, वास्तु खगोलीय र भूगोलीय ग्रहनक्षत्रादिका कुराले भरिएका थुप्रै मन्त्र र सूक्तहरू रहेका छन् । यो वेद निर्माणका दृष्टिले पनि अन्तिम वेद हो ।
अरू तीनवटा वेदभन्दा धेरैपछि यसलाई निर्माण गरेर प्रयोगमा ल्याइएको भेटिन्छ । भाषिक दृष्टिले यो वेद र ब्राहृमणग्रन्थ सन्धिस्थलमा रहेको जस्तो नै लाग्दछ । यसमा आइपुग्दानपुग्दै वेदको गीतिमय शैली समाप्त भएर ब्राहृमणको नीरस गद्यशैली आरम्भ भएर अघि बढेको देखिन्छ । वेदका शाखा भनेका पाठभेदका परिणाम हुन् किनभने यी परस्परसापेक्ष, अनुबद्ध नभएर स्वतन्त्र छन् । यसो भएको हुनाले कुनै पनि वेदको कुनै एउटा शाखा अध्ययन गरेका भरमा नै समग्र वेदको अध्ययन गरियो भनेर मान्न मिल्दैन ।
यसरी हेर्दा वेद बुझिँदैन भन्ने गरेका कुराको तात्पर्य के हो भन्ने अड्कलसम्म गर्न सकिन्छ । माधव घिमिरेले २०२३ सालतिर ‘राष्ट्रनिर्माता’ र ‘धर्ती माता’ २०२८ रचना गरे अनि २०३६ का संस्करणदेखि दुवैलाई एकै स्थानमा छाप्ने गरेको देखिन्छ । भूमिसूक्तका ६३ वटै मन्त्रको ‘धर्ती माता’ लघुकाव्यमा सुन्दर भावात्मक अनुवाद गरेका छन् र अन्त्यमा भूमिसूक्तका वैदिक मन्त्र अनुसार उत्कृष्ट शैलीमा गद्यानुवाद पनि गरेका छन् । घिमिरेले गरेको उद्धरण र अनुवादसँग हरि मञ्जुश्रीको रोइलाको लयलाई दँजनी म गर्दिन । घिमिरे साधित भाषामा वेद नै पनि रच्न सक्ने बहादुर व्यक्तित्वका कवि हुन् भने हरि मन्जुश्री रहर, वेदरक्षा आदिका लहड र प्रेमले ओत्प्रोत भएर यस काममा लागेका हुन् । त्यसमा पनि शीर्षक या थायी भूमिसूक्तको वाक्यांश भए पनि अन्तरामा पुरुषसूक्तको व्याख्या आएको छ ।
माता मे भूमिः पुत्रोद्रहं पृथिव्याः
आमा हुन् पृथिवी सन्तान हौँ पृथिवीका
मान्छेको जाति मान्छे, मान्छेको धर्म सेवा
मान्छेको बाबु आकाश मान्छेकी आमा पृथ्वी
माता मे भूमिः पुत्रोद्रहं पृथ्व्याः
आमा हुन् पृथ्वी सन्तान हौं पृथिवीका ।।
यसमा अथर्ववेदको भूमिसूक्तको बारौं मन्त्रको उत्तर वाक्यांश नै थायीका रूपमा पटकपटक दोहोरिएको छ । घिमिरेले कवितामा र गद्यमा भूमिसूक्तको भावलाई पठनीय र मननीय बनाएर प्रक्षेपण गरेका थिए भने हरि मञ्जुश्रीले यसलाई आजको राष्ट्रचिन्तनमा देखापरेका चिरा धाँजा राज्य पुनर्संरचनाका नाममा गरिएका प्रन्तीकरण, जातीकरण, उथलपुथलीकरण, दम्भीकरण र सत्ताबकुल्लीकरणले नेपालमा पन्पन लागेको सर्वधर्मवादको मखुण्डाभित्र राष्ट्रविभाजनको अग्निज्वाला शमनार्थ वैदिक गान प्रस्तुत गरेका हुन् । आज मान्छे जन्मदा मान्छे जन्मे पनि जीवनभरि मान्छे जात, सम्प्रदाय, विचार, प्रान्त र प्रदेशमा विभाजित भएको छ कि, कि भने स्वार्थ, छलछा
अर्थ उपार्जन नै आजका मान्छेको लक्ष्य बनेकोछ चरित्र होइन । हिजो मान्छे चरित्रका चमकमा आलोकित थियो । आज मान्छे ‘सर्व कर्मान्परित्यज्य अर्थैकं शरणं व्रज’ भन्न लागेको छ कतै कोही भने कोही चाहिँ ‘यौवनं धनसम्पत्ति प्रभुत्वमविवेकिता’ लाई अँगालेर अजरामर बन्ने चाहना राख्न थालेको छ । गीतमा भएका भाव आजका कुनै पनि मान्छेमा नदेखेर हरि सम्झाउन वैदिकगान लेख्न पुगेका देखिन्छन् ।
सबै ब्राहृमण सबै क्षत्रि (छेत्री) सबै वैश्य, शूद्र
जस्तो कर्म गर्दै गयो त्यस्तै जाति हुन्छ
गुण कर्म आधार हुन् छुट्याउने जाति
त्यसैले त छैनन् कोही तल कोही माथि
माता मे भूमिः पुत्रोद्रहं पृथिप्याः
आमा हुन् पृथ्वी, सन्तान हौं पृथ्वीका ।।
ऋग्वेदले पुरुषसूक्तमा र गीताले चौथा अध्यायको १३औं श्लोकमा भनेका कुरालाई सम्झेर आजका समाजमा अधिक विवाद, आशंका, अविश्वास गरिएको जातिवादका दर्शनलाई परिशोधन गर्न यहाँ कर्म अनुसारमात्रै होइन व्यक्तिमा भएको क्षमता या गुणवत्ता नै जातको कारण या आधार हो भन्न खोजेका छन् हरिले । विश्वविद्यालयमा पढाउने सबैलाई प्राध्यापक भनिए पनि उपप्राध्यापक, सहप्राध्यापक र प्रध्यापक भनेर श्रेणीकरण गरिएको छ । त्यसको पनि आधार गुण कर्म नै हो र त्यही विश्वविद्यालयमा काम गर्ने समान पदका व्यक्ति गुण र कर्मकै आधारमा प्राध्यापक नगनिएर प्रशासक, सहप्रशासक र उपप्रशासक तथा शाखा अधिकृत एवं खरिददार या बहिदार भनेर पुकारिन्छन् किन ?
राजनीति गर्ने भनेको राष्ट्र सञ्चालन गर्ने काम हो त्यो क्षत्रीयको धर्म हो । वेदले विराटपुरुषको बाहु भनेर क्षत्रीयलाई औंल्याएको छ । यसैगरी वैश्य भनेर व्यापार, उद्योग गर्ने र आवश्यक्ता अनुसार राष्ट्रलाई धन दिएर मद्धत गर्ने वैश्यको काम हो ।
छात्र र शिक्षक भनेर किन भनेको ? उत्तर हो गुण र कर्म । नेपाल सरकारमा पनि उही सांसद कोही प्रधानमन्त्री, कोही उपप्रधानमन्त्री, कोही राज्यमन्त्री आदि किन ? भन्दा उत्तर हो गुण र कर्म । धरती, माता र पर्जन्य या द्यौ, पिता मान्ने पनि आधार खोजे वेदमा स्पष्ट भेटिन्छ । यो पनि गुण र कर्ममा नै आधृत छ ।
शिक्षण लेखन, अनुसन्धान गर्ने ब्राहृमण हुन्छन्
राजनीतिमा लाग्नेहरू सबै क्षत्री (छेत्री) हुन्छन्
उद्योग व्यापार गर्नेहरूलाई भन्छन् वैश्य
कर्मचारी समाजसेवी चाहिँ बन्छन् शूद्र
मता मे भूमिः पुत्रोद्रहं पृथिव्याः
आमा हुन् पृथिवी सन्तान हौं पृथ्वीका ।।
अथर्ववेदका सूक्तभित्र रहेका मन्त्र या ऋचाका भावको व्याख्याभन्दा विवेक, बुद्धि र शास्त्रले सारका रूपमा प्रदान गर्ने सन्देश नै वैदिक गीत रचक हरिको उद्दीष्ट रहेको देखिन्छ । पढ्ने लेख्ने, अनुसन्धान गर्ने गराउने आदि काम ब्रहृमकर्म हुन भनेर वेद र मिमांसाले पनि भनेको छँदैछ । राजनीति गर्ने भनेको राष्ट्र सञ्चालन गर्ने काम हो त्यो क्षत्रीयको धर्म हो । वेदले विराटपुरुषको बाहु भनेर क्षत्रीयलाई औंल्याएको छ । यसैगरी वैश्य भनेर व्यापार, उद्योग गर्ने र आवश्यक्ता अनुसार राष्ट्रलाई धन दिएर मद्दत गर्ने वैश्यको काम हो ।
आजको विश्वमा पनि उद्योगी व्यापारीले नै हामी सबैका आवश्यक्ता परिपूर्ति गर्ने काम गरिनै रहेका छन् । कर्मचारीलाई राष्ट्रसेवक भनिएको छ वेदले पनि अघि वर्णन गरिएका सबैको सेवा गर्ने र त्यसबाट पाएका वेतनले आफ्नो गुजारा गर्ने काम शूद्रले गर्छन भनेको हुनाले हरिले यसलाई जोड दिएका छन् । ऋग्वेदको पुरुषसूक्तको कुरालाई अथर्ववेदको भूमिसूक्तको बारौं मन्त्रलाई टपक्क टिपेर टाउको बनाएर प्रस्तुत गरेको गीत हात्तीको टाउको भएको विघ्नहारी र विघ्नकारी आद्यपूज्य गणेशजस्तो बनेको छ ।
कोही कालो कोही गोरो गहुँगोरो कोही
कोही नेप्टे कोही थेप्चे चुच्चे हुन्छ कोही
जस्तो-जस्तो वातावरण, त्यस्तै त्यस्तै रंग बन्छ
रज-वीर्यको गुण अनुसार उसको रूप हुन्छ
माता मे भूमिः पुत्रोद्रहं पृथिव्याः मान्छेको जाति मान्छे मान्छेको धर्म सेवा ।।
यहाँ फेरि समग्र शास्त्रीय र वैज्ञानिक निष्कर्षका कुरा गीतिकृत भएका छन् । बीज र ब्याडमध्ये बीजले बिरुवा दिन्छ भने ब्याडले पोषण र पालन गर्दछ र हुर्काउँछ तर बेललाई कटहर या आँपलाई बबुर बनाउन सक्दैन । अतः मान्छे मान्छे नै हुन्छ । मान्छे अग्लो होचो, धनी गरिब कालो गोरो जेजस्तो भए पनि मान्छे नै हो । अतः विभेद अज्ञान र कुकर्म नै हो यसमा शंका छैन भन्ने कुरालाई तलका पंक्तिले अझै मजाले पोषण प्रदान गरेका छन्-
पृथ्वीभन्दा बाहिरको कोही यहाँ छैन
त्यसैले त आदि वासी भन्ने नै हुँदैन
पृथ्वीभन्दा बाहिरको जाति यहां छैन
मान्छे—मान्छे फरक हुन्छन् भन्न पाइँंदैन
माता मे भूमिः पुत्रोद्रहं पृथिव्याः मान्छेको जाति मान्छे मान्छेको धर्म सेवा ।।
उदार चरितानान्तु वसुधैव कुटुम्बकम् का भावलाई यसले व्याख्या गरेको छ र वैदिक ज्ञानका सन्देशलाई आजको मानव अधिकारका क्षेत्रमा लगेर अभेद देखाइएको छ । भेद अज्ञान, व्यामोह र कुत्सितेच्छा कै दुष्परिणाम हो भन्ने कुरालाई तलका पंत्तिले अझै मजले पुष्टि गर्दछन् ।
हामी सबै छोराछोरी हाम्री एउटै आमा
छोराछोरी मिली गरौं आफ्नो-आफ्नो काम
केही छैन यहाँ अर्को कोही बेग्लै छैन
मान्छे-मान्छे फरक हुन्छन् भन्न पाइँदैन
माता मे भूमिः पुत्रोद्रहं पृथिव्याः मान्छेको जाति मान्छे मान्छेको धर्म सेवा ।।
वस्तुतः आजको वैविध्य र अहंले दुनियाँ कुहिराको काग बन्दै गएका सन्दर्भमा हाम्रा प्राचीन ऋषिमहर्षिका चिन्तनका चिरागमा हाम्रो जातीय चिनारी गराउने उद्देश्यले यी वैदिक गानको रचना भएको देखिन्छ । हामी पौरस्त्य जगत्का ऋषिसन्ततिका सबै कुरा राम्रा र उम्दा हुँदाहुँदै पनि भाइभाइमा विभेद गरी छूत र अछूत भनेर जसरी आजको पौरस्त्य समाज विभक्त छ त्यो गोता न कुलको कुरो हो । हुन त नेपालीमा कुरो र कुलो जता लगो उतैजान्छ भनिन्छ त्यस्तै भएको पनि छ । लय व्यवस्थाका दृष्टिले ‘एउटै’ मा लयाघात भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच