हामीले खाने भातमा ढुङ्गा लाग्ने गर्दछ । जति स्वादिलो र जस्तोसुकै महङ्गो भए पनि ढुङ्गालाई हाम्रा दाँतले सरापेका हुन्छन् नै । स्वादमा मिठास न आउने हुनाले ढुङ्गा भएका चामललाई हामीले स्वादको भोजनका रूपमा लिँदैनौँ पनि । यही प्रक्रिया सत्तामा पनि हुने गर्दछ । सत्ताको स्वादमा कहिलेकाँही ढुङ्गा लाग्ने गर्दछ । सत्ताको ढुङ्गा डरलाग्दो अवस्थाको हुन्छ । सत्ताको ढुङ्गाले सत्ताबाट च्यूतमात्र गराउँदैन । सत्ताले मृत्युलाई पनि निमन्त्रण दिने गरेको हुन्छ । त्यसैले सत्तालाई चपाईचपाई ढुङ्गा नलाग्ने तरिकाले भोग्नुपर्ने अवस्था असल शासकमा हुनुपर्ने गुण हो ।
मानिसले समयको प्रवाहलाई पनि चिन्नु आवश्यक मानिएको हुन्छ । समयलाई चिन्न नसक्ने मानिसले कहिले पनि आफू र आफ्नो क्षमतालाई चिनेको हुँदैन । त्यसैले समयको बेग र समयले खोजेको आकाङ्क्षालाई चिन्न सक्ने मानिसले नै प्रगतिको ढोका उघार्ने सक्छ ।
महाभारतमा युधिष्ठिरलाई भीष्मले सत्तारोहणमा मात्र होइन शत्रु बलवान् छ भने उसका अघि झुकेर नम्रता प्रस्तुत गर्नुलाई असल शासकका रूपमा देखाएका छन् । शासकले झुकेर भए पनि आफ्नो शासनलाई शक्तिशाली बनाउनुपर्ने तर्कलाई राखिदिएका छन् । भीष्मले युधिष्ठिरलाई नदी र समुद्रको संवादलाई बाहिर ल्याएर सम्झाएका छन् । त्यसमा शत्रुलाई सानो होइन बलवान् सम्झेर उसका अघि झुक्नुलाई शासनमा उपयोगी मानिएको देखिन्छ । नदी र समुद्रको संवादलाई लिएर भीष्मले शासनमा बस्ने मानिसले अपनाउनुपर्ने धारणालाई बाहिर ल्याएका छन् ।
झुक्नु नै मर्यादा
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?
कविशिरोमणिका यी हरफले मानिसका गुण र उसले गर्ने कर्मलाई जानकारी दिएको छ । जुन वृक्षमा फल लागेको हुन्छ त्यो वृक्ष अनिवार्यरूपमा झुकेको हुन्छ । यो कविशिरोमणिको धारणा हो । मानिसको गुण र उसले गरेका कर्मका आधारमा उसको चर्चा बाहिर आउने तर्कलाई उनले राखेका छन् । महाभारतमा सागरले समुद्रलाई प्रश्न गरेका छन् :
समूलशाखान् पश्यामि नियतान् कायिनो द्रुमान्
युष्माभिरिह पूर्णाभिर्नद्यस्तत्र न वेतसम् ।।
वर्षाको समयमा तिमीहरू जलले भरिपूर्ण भएर बगेका हुन्छौ । विभिन्न प्रकारका रूखहरूलाई जरैसहित लिएर आएका हुन्छौ । तिमीहरू रूखलाई जसरी बगाएर ल्याएका हुन्छौ त्यसमा बेतलाई मैले कहिले पनि देखेको छैन किन हो ? यो प्रश्न समुद्रको हो । समुद्रले नदीलाई सम्बोधन गरेको प्रश्न हो । वर्षाकालका नदीहरूले तटीय क्षेत्रमा रहेका सबै वृक्षलाई ल्याउने तर बेतलाई नल्याएकोमा समुद्रलाई चित्त नबुझेका कारण यो प्रश्न तेर्सिएको देखियो । समुद्रको यो प्रश्नको उत्तर अरू कुनै पनि नदीले दिएको देखिँदैन । गङ्गाले समुद्रको प्रश्नको उत्तरलाई गतिलो तरिकाले दिएकी छिन् :
तिष्ठन्त्येते यथास्थानं नगा हृयेकनिकतनाः
न त्यजन्ति ततः स्थानं प्रातिलोम्यान्न वेतसः ।।
हे नदीका ईश्वर ! यी रूखहरू आआफ्नो स्थानमा घमण्डपूर्वक ठाढै रहेका हुन्छन् । हाम्रो प्रवाहको बेगलाई ठाडै रहेर अस्वीकार गरेका हुन्छन् । ती वृक्षहरू ठाढै रहनु हाम्रो अस्तित्वलाई अस्वीकार गर्नु हो । हाम्रो अस्तित्व अस्वीकार गर्ने वृक्षलाई हामी बगाएर ल्याउँछौँ तर बेत सधैँ हामी आउँदा झुकेर हाम्रो अस्तित्व स्वीकार गरेको हुनाले हामी वेतको नम्रतालाई स्वीकार गरेर ल्याउँदैनौ । यो अभिव्यक्ति गङ्गाले समुद्रलाई भनेको हो । समुद्रको होइन सामान्य खोलाको समेत अस्तित्व स्वीकार गर्ने बेतको अस्तित्व पनि नदीले स्वीकारेको देखियो । गङ्गाले समुद्रलाई भनिन् :
वेतसो वेगमायातं दृष्ट्वा नमति नापरे
सरिद्विगेद्रव्यतिक्रान्ते स्थानमासाद्य तिष्ठति ।।
बेत नदी बेगको आगमनलाई स्वीकार गरेर झुक्ने गर्दछ । अरू वृक्षहरू यसो गर्दैनन् । त्यसैले बेत नदीमा आउने बाढी कम भएपछि यथास्थानमा रहेको हुन्छ । यी अभिव्यक्ति गङ्गाका हुन् । समुद्रको प्रश्नमा गङ्गाले दिएको उत्तर हो । मानिसको व्यवहार र बोलीले उसको स्वरूप बाहिर आउने हुनाले झुक्नुलाई कमजोर होइन कि विनयशीलता मानिएको हुन्छ । मानिसले समयको प्रवाहलाई पनि चिन्नु आवश्यक मानिएको हुन्छ । समयलाई चिन्न नसक्ने मानिसले कहिले पनि आफू र आफ्नो क्षमतालाई चिनेको हुँदैन । त्यसैले समयको बेग र समयले खोजेको आकाङ्क्षालाई चिन्न सक्ने मानिसले नै प्रगतिको ढोका उघार्ने सन्दर्भलाई बाहिर ल्याउँदै गङ्गा समुद्रलाई भन्छिन् :
कालज्ञः समयज्ञश्च सदा वश्यश्च नोद्धतः
अनुलोमस्तथास्तब्धस्तेन नाभ्येति वेतसः ।
बेतले समयलाई चिनको हुन्छ । सयम अनुसार उसले व्यवहार गर्ने गरेको हुन्छ र सधंै हाम्रो बसमा रहेको हुन्छ । कहिले पनि उद्दण्डता देखाउँदेन र अनुकूल व्यवहार गरेको हुन्छ । उसमा कहिले पनि घमण्ड देखिएको छैन । यी गङ्गाले भनेका कुरा सत्य हुन् । मानिसको व्यवहारका कारण नै उसलाई सम्मान प्राप्त हुने तर्क नै यो प्रसङ्गको मूल आधार हो । वृक्षहरूकहिले पनि झुकेनन् । सदा ठिङ्ग उभिएर रहे । त्यसैले वर्षाको भेललाई उनीहरूले सहन सकेनन् । बेत सदा झुकेर व्यवहार गरेका कारण वर्षाको भेलले समेत उसको अस्तित्वलाई स्वीकार गरेको देखिन्छ । मानिसमा पनि व्यवहारको पहिचान उसको गुण, शीलले देखिने तर्कलाई भीष्मले युधिष्ठिरलाई बताएको पाइन्छ ।
अवरोध हुन सक्ला ?
नेपालको राजनीति समुद्रको जस्तो शान्त छैन । नदीको वर्षे भेलजस्तो पनि छैन । समुद्रजस्तो शान्त तरिकाले शासन चलाएको भए आज यो पद्धतिविरुद्ध केही असन्तोष देखिएको छ त्यो देखिँदैनथ्यो । नदीको भेलजस्तो उर्लेको राजनीति पनि होइन केही गतिला काम पनि भएका छन् तर नेपालको यो राजनीति बेतको जस्तो अवस्थामा छैन । नेपालका शासकले शासन गर्ने भएपछि जनतामाथि नै शासन गरेका हुन्छन् । नेपाली जनताले चाहेको पद्दतिमा कसैको पनि ध्यान गएको छैन ।
भर्खर गठन भएको मधेस प्रदेशको मन्त्रिपरिषद्को जम्बो टोलीलाई हेरे पुग्छ होइन र ? शासनमा भाग मिलाउनुपर्ने र लिनु दिनुपर्ने भावना जबसम्म शासकमा रहेको हुन्छ देशले विकास पाउन सक्दैन । देशको विकासका लागि निःस्वार्थ भावनाको उद्बोधन नेतामा आएको हुनुपर्दछ । त्यसो हुन सकेन भने देशले काँचुली पनि फेर्दैन र जनताको स्तर पनि सुधारिन सक्दैन ।
नेपालमा गणतन्त्र आयो । गणतन्त्र आएपछि नै यो व्यवस्थालाई असफल बनाउने पक्षमा एउटा समूह सधैं सक्रिय बनेर रहेको छ । नेपाली जनताले तिनका चाहनालाई कहिले पनि सकारात्मक सोचका आधारमा सहयोग नगरेको देखियो । नेपालका नेताले गणतन्त्रलाई भजाएर आजसम्म शासन गरेको देखियो । यो व्यवस्था ल्याउन सक्रिय राजनीतिज्ञप्रति अभद्र टिप्पणी पनि नभएका होइनन् तर उनीहरूको राजनीतिप्रतिको सचेतता र नेपालको राजनीतिमा देखिएको सकारात्मक सोच नै देश विकासका आधार बनेर आएको छ । राजनीतिक दलका नेताले केही गरेनन् । हामी वैकल्पिक शक्ति हौं भनेर आएका पनि थला परिसके ।
थलामात्र परेनन् सामान्य नेपाली जनता समान् हामी हौं भन्ने सन्दर्भलाई लिएर गरिएका प्रचारबाजी पनि नेपाली जनताले मन पराएका छैनन् । त्यसैले राजनीति गर्ने र नेपालको विकास गर्ने राजनीतिमा सक्रिय रहेका दलहरू नै हुन् । तिनीहरूको सक्रियता र देशको अवस्थालाई हेरेर कानुन बनाएर विकासलाई गति दिनु अनिवार्य मानिएको छ ।
बङ्गदलादेशको भिड अनियन्त्रित थियो र अराजक बन्दै गयो । भिडका अघि शासकको पनि केही चल्दैन भन्ने तर्कलाई उक्त आन्दोलनले देखायो तर त्यस भिडले पछिल्लो चरणमा गरेका केही कामले त्यो देशको हितका लागि भएको आन्दोलन हो भन्ने तर्कलाई प्रमाणित गर्दैन ।
श्रीलङ्का तथा बङ्गलादेशमा देखिएको विद्रोहले नेपाललाई पनि माया नगर्ने भन्ने होइन । नेपालमा त्यस किसिमको विद्रोह नहुन सक्ला ? बङ्गदलादेशको भिड अनियन्त्रित थियो र अराजक बन्दै गयो । अनियन्त्रित र अराजक भिडका अघि शासकको पनि केही चल्दैन भन्ने तर्कलाई उक्त आन्दोलनले देखायो तर त्यो अराजक भिडले पछिल्लो चरणमा गरेका केही कामले भने त्यो देशको हितका लागि भएको आन्दोलन हो भन्ने तर्कलाई प्रमाणित गर्दैन ।
अरूका घर जलाउने, जे पायो त्यही उठाएर घर लैजाने, देशको विकास र उन्नतिका लागि जीवन अर्पेका व्यक्तिका शालिकप्रति अभद्रता देखाउनु र ढाल्नुलाई पक्कै पनि सकारात्मक मान्न सकिँदैन । अझ त्यो अराजक भिडले अल्पसङ्ख्यक हिन्दुप्रति देखाएको असहिष्णु व्यवहार पनि क्षमा योग्य मानिँदैन । आरक्षणको विरुद्ध निक्लिएको असन्तोष यति ठूलो विद्रोह बन्ला भन्ने कल्पना त न त्यो देशका शासक, विद्यार्थी र सुरक्षाकर्मीले गरेका थिए । कल्पनाभन्दा बाहिरको अवस्था देखियो बङ्गलादेशको आन्दोलनमा ।
भिड अराजक हुन्छ । अराजक भिडलाई नियन्त्रण गर्न पनि सकिँदैन तर भिडलाई भजाएर खाने मानिसको कमी यो संसारमा नभएको होइन । आज आएर पश्चिमी मुलुक नै बङ्गलादेशको सत्ता परिवर्तन गर्र्ने कारक हुन् भन्ने तर्क बाहिर आएका छन् । विकसित मुलुक किन विश्वका विकासोन्मुख देशको विकास र उन्नतिका लागि धैर्य गर्न सक्दैनन् । विकसित मुलुकहरू यी साना र विकासोन्मुख देशलाई सहयोग, अनुदान तथा ऋणका नाममा सहयोग गर्ने वाचा गर्छन् र हाम्रो नियम अनुसार शासन चल्नुपर्ने तर्क राख्ने गरेका हुन्छन् ।
संसारमा रहेका देशको राजनीति भिन्न छ । संस्कार भिन्न छ । परम्परा भिन्न छ । धर्म भिन्न छ । यी भिन्नतामा धावा बोल्ने काम विकसित मुलुकबाट हुने गरेका हुन्छन् । आजको विश्व अशान्त हुनुमा यी विकसित मुलुक नै जिम्मेवार बनेका छन् । रसिया र युक्रेनको युद्ध, इजरायल र हमासको युद्धलाई पनि मलजल गर्ने काम विकसित मुलुकको हो । विकसित देशबाट कुनै पनि देशको आन्तरिक राजनीतिमा गरिने हस्तक्षेप रहुञ्जेल संसारमा शान्ति नहुने निश्चिततालाई मान्नुपर्ने अवस्था देखिएको श्रीलङ्का र बङ्गलादेश त्यसका ज्वलन्त उदाहरण हुन् ।
यी विकसित पश्चिमा मुलुकहरू हामीविरुद्ध आउनसक्ने सम्भावना नरहेको होइन । हामी नेपाली हौँ । हाम्रो देशको विविधतामा खलल पुर्याउन खोज्ने विदेशी तागतलाई हेरेर शासन चलाउन शासकलाई आग्रह गर्दछौँ । बेतजस्तो बनेर शासन चलाउ रूख जस्तो बनेर होइन । यही प्रक्रियामा शासन चलाउने र आफूलाई शासक मान्ने प्रवृति आएमा भिड अराजक र अनियन्त्रित हुन नसक्ला भन्न सकिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच