काठमाडौं । सरकारले वैदेशिक लगानीमा जोड दिँदै नीतिगत सुधार गरे पनि अपेक्षाअनुसार वैदेशिक लगानी भित्रिन सकेको छैन । बरु वैदेशिक लगानी घट्दो क्रममा छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार गत आर्थिक वर्षमा एफडिआईको इक्विटीमा प्रतिफल ११.६१ प्रतिशतमात्रै रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो प्रतिफल १४.३ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष एफडिआईको इक्विटीमा प्रतिफल ३.०९ प्रतिशतले घटेको हो । केन्द्रीय बैंकको अध्ययनअनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई दुर्ई खर्ब ९५ अर्ब ५० करोड कायम छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा विभिन्न क्षेत्रमा गरेको लगानीबापत विदेशी कम्पनीहरूले साढे १७ अर्ब रुपैयाँ लाभांश लगेका हुन् ।
२०८० असारसम्ममा नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् एक खर्ब तीन अर्ब ४५ करोड (३५ प्रतिशत) र त्यसपछि क्रमशः चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्याण्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अस्ट्रेलियाबाट १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिंगापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
प्रतिवेदनअनुसार प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्र र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको छ भने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल करिब ११.६१ प्रतिशत रहेको छ ।
विदेशी कम्पनीले लगे १७ अर्ब बढी लाभांश
आर्थिक वर्ष २०७९/८० मा नेपालमा लगानीबापत विदेशी कम्पनीहरूले साढे १७ अर्ब रुपैयाँ लाभांश लगेका छन् । विदेशी कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० मा १७ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ बराबर लाभांशका रूपमा लिएर गएका हुन् । आर्थिक वर्ष २०७९/८० मा विदेशी कम्पनीहरूले नेपालमा लगानी गरेबापत उत्पादनमूलक क्षेत्रबाट आठ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ लाभांश लिएका छन् । सोही वर्ष सूचना प्रविधि क्षेत्रमा लगानी गरेबापत तीन अर्ब ६७ करोड ३५ लाख रुपैयाँ लाभांश लिएका छन् भने बैंक तथा बिमा सेवा क्षेत्रबाट तीन अर्ब ५० करोड, विद्युतीय उपकरणमा लगानीबापत १३ करोड, खाद्य क्षेत्रबाट दुई करोड २८ लाख, स्वास्थ्य तथा सामाजिक क्षेत्रबाट २८ लाख, यातायात तथा भण्डारण क्षेत्रबाट चार करोड २९ लाख र अन्य क्षेत्रबाट एक अर्ब ११ करोड रुपैयाँ लाभांश लिएको राष्ट्र बैंकको तथ्यांक छ ।
आर्थिक वर्ष २०७८/७९ मा नेपालमा लगानी गरेका विदेशी कम्पनीले कुल १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ लाभांश फिर्ता लिएका थिए । सो अवधिमा सबैभन्दा उत्पादनमूलक क्षेत्रमार्फत् सात अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा नेपालमा लगानी गरेका विदेशी कम्पनीले कुल २६ अर्ब सात करोड ६६ लाख रुपैयाँ लाभांश लिएका थिए ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३८ कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारिएको विभागले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच