-पार्क थेयङ
काठमाडौं । सेप्टेम्बर ४ तारिखलाई गणतन्तन्त्र कोरियाले एक विशेष दिनका रुपमा लिने गरेको छ । यस दिन तेक्वान्दो खेलले ओलम्पिक खेलका रूपमा आधिकारिकता पाएको दिनको सम्झनामा तेक्वान्दो दिवसका रुपमा मनाइन्छ । एक साताअघि अगस्त ३० तारिखलाई नेपालको एक विशेष ऐतिहासिक दिनका रुपमा लिन सकिन्छ । नेपालले ओलम्पिक खेल तथा पाराओलम्पिक खेलकुदमा सहभागिता जनाउँदै आएकामा पहिलोपटक पदक जितेको दिनलाई इतिहासको पानामा लेखिनेछ भन्ने लाग्छ ।
नेपाली चेली पलेशा गोवद्र्धनले तेक्वान्दो खेलमा हासिल गरेको यो ऐतिहासिक र बहुमूल्य उपलब्धिले विश्व समुदायमा नेपालको छवि उच्च बनाएको छ । यही जुलाई महिनाको २३ तारिखको दिन नेपालस्थित गणतन्त्र कोरियाली दूतावासमा नेपाल तेक्वान्दो सङ्घका अध्यक्षलगायतका पदाधीकारीसहित पलेशासँग भेट्ने अवसर मिलेको थियो । दश वर्षको उमेरमा तेक्वान्दो खेल्न थालेकी यी खेलाडी विश्वस्तरीय खेलाडीका रूपमा धेरै प्रतियोगितामा सक्रिय सहभागिता जनाएको जानकारी मलाई रहेको छ । वार्तालापका क्रममा मैले पलेशालाई एक शान्त, निर्भिक तथा आत्मविश्वासी महिला तेक्वान्दो खेलाडीका रुपमा लिएको थिएँ । पेरिस पाराओलम्पिक खेलकुदमा पलेशालगायत दुई तेक्वान्दो खेलाडीलाई पेरिसबाट नेपाली जनतालाई सुखद समाचार दिलाउनका लागि तथा आफ्नो कुशल क्षमता प्रदर्शन गर्न हौसला प्रदान गरेको थिए । आज नेपालका तर्फबाट फरक क्षमता भएकी महिला खेलाडीका तर्फबाट नेपालको शिर उच्च राख्न सफल भएको क्षणलाई ओलम्पिक इतिहासले अवश्य न्याय गर्नेछ भन्ने लागेको छ । मलाई यत्ति धेरै खुसी मिलेको छभने सम्पूर्ण नेपाली जनतालाई झनै खुशी दिलाएको छ भन्ने लाग्छ । बधाई छ खेलाडी पलेशा गोवद्र्धनलाई, अनि प्रशिक्षक कविराज नेगी लामा, तेक्वान्दो सङ्घ तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई ।
नेपाल तेक्वान्दो सङ्घका अनुसार नेपालमा तेक्वान्दो खेल खेल्नका लागि आधिकारिक रुपमा दर्ता भएका खेलाडीको सङ्ख्या झन्डै एक लाख ५० हजार रहेको छ । तीमध्ये महिला खेलाडीको सङ्ख्या २० प्रतिशत हाराहारी रहेको अनुमान गरिएको छ । नेपालमा तेक्वान्दो खेल्नेको सङ्ख्या बढ्दै गएर यस खेलको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त बनाउने विश्वासका साथ खेल धेरै व्यक्तिले मन पराएका छन् । सन् १९८८ मा दक्षिण कोरियाको सउलमा भएको ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी विधान लामाले तेक्वान्दो प्रदर्शनी खेलमा कास्य पदक जितेका थिए, जुन विषय आजका दिनमा पनि सुखद क्षणका रुपमा लिइन्छ । नेपालमा तेक्वान्दो खेलको सुरुआत प्रहरी–सेना तथा अन्य सुरक्षा निकायमा शारीरिक प्रशिक्षणको माध्यमबाट भएको जानकारी रहेको छ । तर आज यस खेलको महत्व आम जनतामाझ प्रचार भएको छ ।
सन् १९८३ मा औपचारिक रुपमा नेपाल तेक्वान्दो सङ्घको स्थापनापश्चात् खेलको विकासमा उल्लेख्य भूमिका खेलेको देखिन्छ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले तेक्वान्दो खेलको प्रवद्र्धनका लागि हरेक दुई वर्षमा एम्बेसडर कप तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आएको छ । गत सेप्टेम्बरमा करिब एक हजार आठ सय तेक्वान्दो खेलाडीको सहभागितामा एम्बेसडर कप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो । मलाई त्यस क्षणमा साना नानी–बाबुहरु तथा युवाहरुको तेक्वान्दोप्रतिको उत्साह तथा प्रेम देखेर हर्षित भएको क्षण सबै सामु साट्ने अवसर मिल्दा खुसी छु । नेपालमा तेक्वान्दो खेल प्रशिक्षकको भूमिकामा एक कोरियाली प्रशिक्षक ख्वन यङदाल सन् १९९८ देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा तेक्वान्दो प्रशिक्षकको भूमिकामा रहनुभएको छ ।
तेक्वान्दो खेलको लामो पृष्ठभूमि रहेको छ । कोरियाली युद्धपश्चात् परम्परागत कोरियाली मार्सल आर्टलाई जोडेर तेक्वान्दोलाई व्यवस्थित रूपमा अभ्यास गर्न थालियो । तेक्वान्दो खेलको प्रकृति युद्धकलासँग पनि जोडिएको हुँदा, प्रशिक्षणको आधारभूत उद्देश्य आफैँलाई सुरक्षित राख्नु रहेको छ । अन्तिम लक्ष्य थप गहन प्रशिक्षणमार्फत आफ्नो पूर्ण क्षमतालाई कलात्मक रुपमा प्रदर्शन गर्नु हो । तेक्वान्दो प्रशिक्षण प्रक्रिया बारम्बार अभ्यासमार्फत शरीर र दिमाग परिवर्तन गर्ने प्रक्रिया पनि हो र कालान्तरमा र यस खेलको माध्यमबाट विश्वसामु खेलाडी तथा देशको परिचय गराउनु नै हो भन्ने लाग्छ । तेक्वान्दोको भावनामा ‘आफू माथि विजय गरी विश्वलाई सकारात्मक सन्देश फैलाउँ’ भन्ने मान्यता समावेश छन् । तेक्वान्दोका यी मूल्य–मान्यता तथा गुणहरू तेक्वान्दो प्रशिक्षण प्रक्रियामा प्रतिबिम्बित हुन्छन्, जस्तै कि प्रशिक्षण प्रक्रियाको समापनपश्चात् खेलाडीले एक अर्कालाई अभिवादन गर्ने, प्रशिक्षकलाई खेल सुरु हुनु अगाडि र समापनपश्चात् गर्ने शिष्टाचार आदि कोरियाली परिवारमा विगतदेखि रहँदै आएको आपसी सम्मान र सद्भावको प्रतीकका रुपमा रहेको छ । कोरियाली आमाबाबुले पनि आफ्ना छोराछोरीलाई तेक्वान्दो खेल्नका लागि प्रोत्साहन दिनाका कारणका रुपमा शारीरिक, मानसिक रुपमा तन्दुरुस्त बनाउनु, निडरपनको विकास गर्नु, शिष्टता, सद्भाव, स्वयंसेवाको भावनालगायतको विकास गर्नु पनि रहेको छ । भनेको नमान्ने बच्चाहरु पनि तेक्वान्दो प्रशिक्षणपश्चात् अनुशासित भएको बारेमा धेरै सुनिन्छ । तेक्वान्दो खेललाई दुई तरिकामा तालिम दिइन्छ । पहिलो पुम्सेः जसमा आधारभूत चालहरू समावेश हुन्छन् र अर्को ख्यरुगी रहेको छः जुन तेक्वान्दो अभ्यासकर्ताहरूबीचको प्रतिस्पर्धात्मक रुपमा खेल्नका लागि खेलाडीलाई तयार गरिन्छ ।
यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोरियाली तेक्वान्दो प्रतिनिधि मण्डलले नेपाली तेक्वान्दो खेलाडीसँग सीप तथा भावना आदान–प्रदान गर्न तथा प्रदर्शनात्मक कार्यक्रममा सहभागी हुनका लागि यही अक्टोबरको मध्यमा नेपाल आउने योजना बनाएको छ । कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको उपलक्षमा तेक्वान्दो खेलबाट ओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक प्राप्त भएकामा म अत्यन्त खुसी हुँदै यस सुखद क्षण सम्पूर्ण नेपालीहरुसँग बाँड्न चाहन्छु । कोरियाली संस्कृतिको महत्वपूर्ण हिस्सा बनेको तेक्वान्दोलाई नेपालमा थप फैलाउन तथा यस खेलको माध्यमबाट विश्वसामु नेपालको उपस्थिति थप मजबुत गराउनका लागि गणतन्त्र कोरिया सरकारले सहकार्य जारी राख्ने योजना बनाएको छ ।
पेरिसबाट पलेशाको ऐतिहासिक पदक प्राप्तिको खबरले नेपाली जनतामा आशा जगाएको छ । त्यसैगरी गर्न सकिन्छ भन्ने भावनाले स्थान पाएको छ । म पलेशालाई प्रशिक्षणका क्रममा उनको मेहनेत–परिश्रम, उनले बगाएको पसिना र पेरिसमा पदक प्राप्त गर्ने दृढ विश्वास, धैर्यता, साहस, आफूलाई जित्नु परेको मानसिक शक्तिप्रति मेरो आत्मादेखि सम्मान व्यक्त गर्दछु । नेपाल सरकार खेलकुद मन्त्रालय तथा सम्बन्धित विभागको समन्वयमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता हासिल गर्दै जानेछन् भन्ने विश्वास लिएको छु । नेपालका हरेक क्षेत्रमा पलेशाजस्ता व्यक्तिहरु हुनुहुन्छ, उहाँहरु सबैको प्रयासले विश्वसामु नेपालको छवि उच्च गर्नका लागि भूमिका खेल्नेछ भन्ने लागेको छ । कोरिया सरकारले पनि नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रको विकासमा हातेमालो गर्दै जानेछ ।
(नेपालका लागि गणतन्त्र कोरियाली राजदूतसँग गरिएको कुराकानीमा आधारित)
-रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच