काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिनामात्रै बाँकी छ । आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने तय भएको छ । प्रतियोगिता आउन दुई महिनामात्रै बाँकी हुँदासमेत पूर्वाधार निर्माण र व्यवस्थापनको काम भने सकिएको छैन । अब चाडबाडको समय सुरु भएकाले निर्माण र व्यवस्थापनको काम प्रभावित हुने भएकाले प्रतियोगिता तोकिएको समयमा हुने/नहुनेमा समेत अन्योल छ ।
दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएको थियो । प्रतियोगिता गर्ने जिम्मा लिएसँगै प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका-८ सुर्खेतमा बन्दै गरेको रंगशालाको काम अन्तिम चरणमा पुगेको छ । रंगशाला १० हजार दर्शक बस्ने क्षमताको छ ।
तीन साताअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सुर्खेत पुगेर रंगशाला निर्माणको अवस्थालाई निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि मुख्यमन्त्री यामलाल कँडेल र सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँगको बसाइमा प्रदेश सरकारको १५ दिनपछिको रिपोर्टिङबाट निर्धारित समयमा खेल हुने वा नहुने भन्ने निक्र्योल निकालिने भनेर फर्कनुभएको थियो । यद्यपि २४ दिन बितिसक्दा पनि प्रगतिबारे प्रदेश सरकारबाट रिपोर्टिङ भएको छैन ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री भण्डारीका अनुसार खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण कार्य तीव्र रूपले बढे पनि प्रतिकूल मौसमका कारण काममा ढिलाइ भएको छ । यसैकारण निर्माणको प्रगतिबारे जानकारी गराउन नसकिएको उहाँले बताउनुभयो । ‘रंगशाला वरिपरिको बाटो निर्माणका लागि असारमै ठेक्का लागेर काम सञ्चालन भइरहेको छ । विकट भूगोल छ तर १० वटै जिल्लाको बाटो प्रतिकूल मौसमले कतिबेला बिगार्ने हो । सधैँ ठीक हुन्छ भनेर सुनिश्चित गर्ने अवस्था छैन,’ उहाँले भन्नुभयो ।
सरकारले चाहेमा निर्धारित समयमै प्रतियोगिता हुन सक्ने कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालले बताउनुभयो । तोकिएको समयमै दशौँ राष्ट्रिय खेलकुद गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहेको उहाँले जिकिर गर्नुभयो ।
सुर्खेतसहित दशवटै जिल्लामा संरचना निर्माण हुँदै
प्रतियोगितालाई मध्यनजर गर्दै प्रदेश राजधानी सुर्खेतलगायत दशवटै जिल्लामा संरचना निर्माण भएका छन् । सदस्य–सचिव सञ्ज्यालका अनुसार प्रतियोगिताका लागि कर्णाली प्रदेशमा २४ वटा खेल सञ्चालन गर्न सकिनेछ । भौतिक संरचना पनि तीव्रगतिमा निर्माण भइरहेका छन् । वीरेन्द्रनगरमा मुख्य रंगशाला, क्रिकेट मैदानलगायत संरचना पनि निर्माण भइरहेका छन् । पूर्वाधारका कारण खेलकुद सर्ने अवस्था नरहेको दाबी प्रदेश खेलकुद विकास परिषद्ले गरेको छ । परिषद्ले तोकिएकै समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम र प्रतिबद्ध रहेको दाबी गरे पनि समयमै नहुने हो कि भन्ने आशंका उब्जिएको छ । ‘प्रदेशले पाएको जिम्मेवारी पूर्वाधारको निर्माण र व्यवस्थापनको हो,’ सदस्य-सचिव सञ्ज्यालले भन्नुभयो, ‘तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्न सकिन्छ, हामीले यो धेरैपटक भन्दै आएका छौँ । एक महिनाभित्र रंगशालाको सबै काम सकिन्छ । यद्यपि प्रतियोगिता सञ्चालनको अन्तिम निर्णय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले नै गर्ने हो । पूर्वाधारका कारण प्रतियोगिता रोक्नुपर्ने अवस्था छैन ।’
परिषद्का अनुसार दशौँ राष्ट्रिय खेलकुद सञ्चालनका लागि प्रदेशभरमा १३ वटा ‘इण्डोर’ हल छन् । ती हलमा १४ वटा खेल खेलाउन सकिन्छ र बाँकी १० वटा ‘आउटडोर फिल्ड’ पनि भएकाले २४ वटा खेल खेलाउन सकिने पूर्वाधार यथेष्ट छन् । एउटा एथलेटिक्स खेलको ट्र्याकमा सिन्थेटिक लाग्न र एउटा इण्डोर हलको छाना छाउन बाँकी छ । २४ वटा खेलका लागि हामीसँग खेलाडी पनि छन् ।
हुम्लामा हकी मैदान छ । मुगुमा कबड्डीको संरचना छ । जुम्ला र दैलेखमा इण्डोर हल, कालीकोटमा कभर्डहल छ । रुकुमपश्चिममा पनि हल छ । सल्यानमा टेबलटेनिसको हल छ । जाजरकोटमा पनि कुनै न कुनै खेल खेलाउन सकिन्छ । जहाँ पूर्वाधार छ, त्यहाँ खेल आयोजनाका साथै बसोबासको व्यवस्था गर्न सकिन्छ । सुर्खेतभन्दा बाहिरका जिल्लामा पनि लैजाँदा यसले आमकर्णालीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रतिको अपनत्व लिन सक्ने ठाउँ हुने जनाइएको छ ।
तोकिएको समयमै प्रतियोगिता सम्पन्न नभए धेरै पर जान सक्छ : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रंगशालाको भौतिक पूर्वाधार अवलोकन गर्दा एक महिनामै सम्पन्न हुने कुरामा शंका नभएको तर खेलाडीलाई खाने-बस्ने व्यवस्था मिलाउन चुनौतीपूर्ण देखिएको बताउनुभयो । ‘पूर्वाधारको चिन्ता अब हुँदैन । एक हजार बढी खेलाडी बसाल्ने क्षमता नदेखिएकाले जति सक्दो छिटो बसोबासको प्रबन्ध मिल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले तोकिएको समयमै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सकेनौँ भने यो धेरै पर जान सक्छ ।’ खेलाडीका लागि बजेटको व्यवस्था गर्नेतर्फ जोड दिइएको बताउँदै मन्त्री चौधरीले बसोबास प्रबन्ध र पूर्वाधारका विषयमा प्रदेश सरकारबाट परिपत्र हुने, त्यसका आधारमा प्रतियोगिता सञ्चालनको मितिका लागि निर्णय लिने जनाउनुभयो । फेरि केही दिनपछि सुर्खेत पुगेर खेल सञ्चालन हुने सबै जिल्लाको पूर्वाधार अवस्था र अन्य व्यवस्थाका विषयमा जानकारी लिएर प्रतियोगिता सञ्चालनको मिति सुनिश्चित गर्ने उहाँको भनाइ थियो । हुम्लामा हुने हक्की खेलमा खेलाडीका लागि आउने स्वास्थ्य समस्याका बारेमा बुझेरमात्र त्यसको सञ्चालनको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच