काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैँ तिहारमा घर जानेहरूको साझा चिन्ता हो- दशैँमा घर कसरी जाने ? गाडीको टिकट पाइन्छ÷पाइँदैन ? सडकको अवस्था कस्तो होला ? गाडी चल्छ/चल्दैन ? यात्रुको चिन्ता यसपालिको मात्रै होइन, बर्सेनि यस्तै हो । अहिले पनि वर्षाले मुलुकका प्रमुख राजमार्ग मात्रै नभई सहायक र शाखा सडकहरू पनि अस्तव्यस्त छन् । अझ सडक विस्तार गर्न भत्काइएका ठूला राजमार्गको अवस्था त झन् बिजोग छ । बिग्रे/भत्केका सडकमा दिनहुँ सवारी दुर्घटना भइरहेका छन् ।
ठूला चाडबाड आउनै लाग्दा सडकका समस्या भने झन् थपिँदै गएका छन् । कतिपय सडक वर्षा र पहिरोले भत्किएका छन् । कतिपय चाहिँ समयमै काम नहुँदा अस्तव्यस्त र बेहाल छन् । ठूला चाडबाडका मुखयमा भत्के/बिग्रेका सडकले यात्रुलाई ठूलो सास्ती हुने निश्चित छ । बाढीपहिरोले बिग्रिए/भत्किएका सडकका खाल्डाखुल्डी सम्झेर यात्रुहरू हैरान छन् । काठमाडौं जोड्ने मुख्य मार्ग नागढुंगा-मुग्लिन सडक विस्तारका क्रममा छ । नागढुंगा-मुग्लिन खण्डअन्तर्गत नागढुंगा-नौबिसे, नौबिसे-मलेखु तथा मलेखु-मुग्लिनमा सडक विस्तारको काम भइरहेको छ ।
नारायणगढ-मुग्लिन सडकको निर्माण सम्पन्न भए पनि जताततै पहिरोको जोखिम कायमै छ । मुग्लिन-पोखरा सडकको स्तरोन्नति थालेदेखि नै यात्रुले गन्तव्यमा पुग्न सास्ती नखेपेको दिन छैन । नारायणगढ-बुटवल सडक विस्तारमा खासै प्रगति नभएकाले यात्रा गर्नेको ठूलै कष्ट खेप्नुपरेको छ । निर्माण थालेको ६ वर्ष भयो, अहिलेसम्म तेस्रोपटक म्याद थप भइसकेको छ । प्रगति ५२.७ प्रतिशत मात्र छ । काठमाडौं-हेटौँडा जोड्ने पाँच सडकखण्ड छन् । तर, तिनको अवस्था पनि उस्तै छ । कान्ति राजमार्गको निर्माणको काम चल्दै छ । त्रिभुवन राजमार्गअन्तर्गत नौबिसे-हेटौँडा सडकको विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् । हेटौँडा-कुलेखानी-फाखेल-काठमाडौं सडकमा कतै काम चल्दै छ भने कतै सडक कालोपत्र भएको छ । यस्तै, हेटौँडा-सिस्नेरी-फर्पिङ-काठमाडौं सडक बिग्रेका कारण घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गरेको छ । थानकोट-चित्लाङ-कुलेखानी-हेटौँडाको काम सुस्ता गतिमा चल्दा यात्रा गर्न कठिन छ ।
काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रूपमा निर्माण भएको बिपी राजमार्गमा दुई लेनका लागि काम भइरहेको छ । सडक साँघुरो हुँदा गाडी आवतजावत गर्न कठिनाइ छ । नारायणगढ-बुटवल खण्डको बुटवलबाट पूर्व, सुनवल, बर्दघाट, दाउन्ने, चोरमारालगायत क्षेत्रको अवस्था बेहाल छ । काठमाडौंबाट पश्चिम जाने यात्रुले नारायणगढ, बुटवल हुँदै जानुपर्छ ।
सुर्खेतको वीरेन्द्रनगरदेखि जुम्लाको खलंगासम्म जोड्ने २३२ किलोमिटरको कर्णाली राजमार्गको यात्रा सधैँजसो कष्टकर हुने गरेको छ । वर्षाका बेला पटक-पटक अवरुद्ध हुने राजमार्गको यात्रा असुरक्षितसमेत हुने गरेको छ । नाम राजमार्गको भए पनि अवस्था भने कच्ची सडकको जस्तै भएको स्थानीय बासिन्दाको गुनासो छ ।
भारतीय सीमादेखि पूर्वी पहाडी जिल्लासम्म जोडिएको रानी-विराटनगर-इटहरी-धरान सडक निर्माणको काम चलिरहेको छ । ४९ किलोमिटरको सडक खण्डको धरानमा पाँच किलोमिटर विस्तार गर्न अझै बाँकी नै छ ।
नागढुंगा-नौबिसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति
नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको हो । आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरेर निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षहरू सहमत भएका हुन् ।
निर्माण व्यवसायीले स्रोत उपयोग गरेको पालिकालाई नियमानुसार राजस्व तिर्नुपर्ने तर, ओसारपसारमा थप वा दोहोरो कर नलिने सहमति भएको छ । साथै योजना कार्यान्वयनको सन्दर्भमा निर्माण व्यवसायीले स्थापना गर्नुपर्ने क्रसर प्लान्ट-अस्फल्ट प्लान्ट राख्न सम्बन्धित निकायले आवश्यक सहयोग गर्न पनि सम्बद्ध निकायले प्रतिबद्धता जनाएका छन् ।
सडक विभागले तत्कालै सीतापाइला, धार्के, भीमढुंगा, लामीडाँडा, गल्छी तथा गल्छी परेवाटार (त्रिशूली पारिपट्टि) भइरहेका सडकहरूको अवस्थाअनुसार डाइभर्सन सडकको रूपमा प्रयोग गर्नेसमेत सहमति पत्रमा उल्लेख छ । आयोजनाको टिम, योजना कार्यालय, परामर्शदाता, निर्माण व्यवसायीले सबै पक्षहरू डिजाइन कार्यान्वयन र गर्नुपर्ने सुधारका सम्बन्धमा स्थानीय पालिकाहरूसँग नियमित सम्पर्क र समन्वय पनि गर्नुपर्ने भएको छ ।
सडक निर्माण गर्दा प्रचलनमा रहेका सिँचाइ र शाखा सडकहरूमा अवरोध नहुने गरी निर्माण कार्य गराउने विषय पनि सहमति पत्रमा समेटिएको छ । छलफलको सहमतिअनुसार निर्माण व्यवसायीले अल्पकालीन रूपमा आगामी चाडपर्वहरूलाई लक्षित गरी असोज १७ अर्थात् घटस्थापनाअघि नैसम्पूर्ण मर्मतको काम सक्नुपर्ने भएको छ ।
घटस्थापनाअघि नै सडक मर्मत गर्न निर्देशन, एक साताअघि अग्रिम टिकट खुल्ने
दशैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज बनाउन घटस्थापनाअघि नै सडक मर्मत गरिसक्न विभागले दिर्नेशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गर्न सडक विभागले निर्देशन दिएको हो । मर्मतपछि मात्रै सडक सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिनुभयो । बैठकले बिपी राजमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन एवं रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
यसैबीच, सरकार र यातायात व्यवसायीबीच दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शनिबार भएको छलफलमा यात्रुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी घटस्थापनाभन्दा एक साता अघिबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो ।
यस्तै छठ पछि भाडादर समायोजन गर्न मन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिने सहमति भएको छ । यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलतर्फ जानेगरी व्यवस्थित गर्ने निर्णयसमेत भएको छ । यस्तै, यातायात सुझाव सुधार कार्यादलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयको सम्बोधन गर्ने, यातायात व्यवस्थापनसँग सम्बन्धित सम्मानित अदालतबाट भएका आदेश-फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्य योजना तयार गरी पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ ।
यात्रा सहज गर्न सबै संयन्त्र तयारी अवस्थामा राखेका छौँ : सडक विभाग
सडक विभागले राजमार्गका सडकमा परेका खाल्डा पुर्ने र पहिरो हटाउने काम भइरहेको बताएको छ । दशैँमा ओहोरदोहोर गर्ने यात्रुलाई ठूलो सास्ती नहुनेगरी सडक मर्मतको काम गरिसक्ने सडक विभागको दाबी छ । बिग्रिएका सडकको मर्मत दशैँअघि सक्नेगरी प्राथमिकताका साथ काम भइरहेको सडक विभागका सहायक प्रवक्ता एवं सूचना अधिकारी सिनियर डिभिजन इञ्जिनियर अमितकुमार शर्माले बताउनुभयो । दशैँका बेला तत्काल कतै पहिरो गइहालेमा मेशिन, जनशक्तिलगायत संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको उहाँले बताउनुभयो । सडक बनाउन र मर्मत गर्न विभागसँगै पालिका, गृह प्रशासनलगायत सबैबाट सहयोग, समन्वय र सहजीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
‘लाइफलाइन’ सडकमा हेल्चेक्र्याइँ नगर्न मन्त्री दाहालको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइन सडक मर्मतको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सरोकारवालासँगको छलफलका क्रममा मन्त्री दाहालले संघीय राजधानीलाई देशका विभिन्न भाग जोड्ने ‘लाइफलाइन’ सडकमा हेल्चेक्र्याइँ नगरी लक्ष्यअनुसार कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको हो । चाडपर्वमा विनाअवरोध सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभयो । लक्ष्यअनुसार कामगरी नतिजा निकाल्नसमेत उहाँले आग्रह गर्नुभयो । बैठकमा मन्त्री दाहाल, सचिव केशवकुमार शर्मा, सहसचिव कृष्णराज पन्थ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सिटौला, महासचिव डेकनाथ गौतमलगायत सडक विभाग र यातायात व्यवस्था विभागका कर्मचारीको सहभागिता रहेको थियो ।
खाल्डाखुल्डी पुर्न एक अर्ब बजेट, देशभरि साढे दुई हजार बढी कामदार खटाइयो
कालोपत्रे भइसकेका सडकमा खाल्डाखुल्डी पुर्न संघीय सरकारले एक अर्ब रुपैयाँ छुट्याएको छ । असोज १० गतेभित्र खाल्डाखुल्डी पुरिसक्ने गरी सडक विभागले तत्काल ३० करोड रुपैयाँ मातहतका निकायहरूलाई उपलब्ध गराएको छ । दशैँको अवसरमा देशभरिका सबै सडकलाई सुरक्षित बनाउन विभागले असोज १० गतेभित्रसबै खाल्डाखुल्डी पुरिसक्ने अभियान सुरु भइसकेको विभागका महानिर्देशक रामहरि पोखरेलले बताउनुभयो । यसका लागि कुल बजेट एक अर्ब रुपैयाँ छुट्याइएको उहाँले जानकारी दिनुभयो ।
खाल्डाखुल्डी पुर्ने अभियानमा कुनै ठाउँमा आफैँले त कहीँ टेण्डरबाट काम भइरहेको उहाँले बताउनुभयो । सडक मर्मत गर्न र खाल्डाखुल्डी पुर्न विभागले देशभरि दुई हजार ६ सय कामदार खटाएको छ । पहाडी क्षेत्रमा प्रत्येक चार किलोमिटर सडकमा एक जना र तराई/मधेशमा प्रत्येक ६ किलोमिटरमा एक जनाको दरले खटाइएको विभागले जनाएको छ । विभागका अनुसार संघीय सरकारको मातहतमा देशभरि १४ हजार नौ सय किलोमिटर सडक मर्मत-सम्भारको जिम्मेवारी तोकिएको छ । जसमध्ये करिब ६ हजार किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी करिब नौ हजार किलोमिटर सडक कहीँ निर्माणाधीन भने कहीँ ग्राभेलको अवस्थामा छ । संघीय सरकारको मातहतमा देशभरि ८० वटा राजमार्ग छन् । यी राजमार्गबाहेक प्रदेश सरकार र स्थानीय सरकारले पनि सडक निर्माण र मर्मत सम्भारको जिम्मेवारी लिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच