काठमाडाैं । काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् ।
सोमवार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन् । उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे ।
काठमाडौं महानगरपालिकाले गरिवलाई उठिवास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरुको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भयो । कतैबाट पनि केही सहयोग नआएको अवस्थामा आफूहरुको खाने, बस्ने लगायतका व्यवस्था सरकारले गर्नुपर्ने उहाँको भनाई थियो ।
कामीले भन्नुभयो, ‘अहिले त्यस्तो कसैले सहयोग गरेको अवस्थजा छैन । काठमाडौं महानगरपालिकालाई हामीले देख्न पाएका छैनौं । अर्को कुरा यहाँका वडा समितिले खाना भने खुवाई राखेको अवस्था छ । अरु खासै अहिलेसम्म कुनै संघ, संस्थाहरु, व्यक्तिहरु हामीसँग आधिकारिक रुपमा आएर यसो गरौं भन्नुभएको छैन । वडा नम्बर ११ ले हाम्रा दाजुभाई दिदीबहिनीहरुलाई खाना खुवाउने काम गरेको छ । त्यस बाहेक अरु केही पनि सहयोग आएको अवस्था छैन । यही माथि पुलमा आएर बालेन साहले हे प्रभु यो बस्ती सबै भत्काईदिओस् भनेर कामना गर्नुभयो रे भन्ने पनि सुनियो । यो खालको चरित्र पनि छ । यहाँ सामन्तीहरुलाई कसरी गरिवहरुलाई उठाउ भन्ने भईनै राखेको र त्यसमा पनि फेरी यो बाढी आयो । यस पनि दुख त दियो गरिवहरुलाई । जनताको प्रतिनिधि भनेको सरकार हो । सरकार हाम्रो अभिभावक हो । जनताको अभिभावक हो । सरकार नै यसको प्रमुख भएको हुनाले सरकारले नै यसको व्यवस्थापन गर्नुपर्छ । जहाँसम्म यो सुकुम्वासी बस्तीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यो सरकारको हातको कुरा हो । सरकार नै जिम्मेवार हुनुपर्छ भन्नेकुरा हो । ’
पीडितहरुले सरकारले सेवा सुविधा दिने कुरा सुनिएपनि हालसम्म नपाएको पनि बताएका छन् । वडाले खाना खुवाउने काम गरेको भएपनि अन्य सुविधा केही पनि नपाउँदा समस्या भएको उनीहरुको भनाई थियो । सरकारले आफूहरुको खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सो सुकुम्वासी बस्ती छोड्न आफूहरु तयार रहेको स्थानीय हरिमाया जिम्बाले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यहाँ बसेको झण्डै २० वर्ष भयो । यस पटकको बाढीले झण्डै बगाईदियो । यो वडाले माथि गुजेश्वरी स्कुल ठूलो छ । सबै जनालाई त्यहाँ लगेर खानाको व्यवस्था छ । अव आर्मी, सशस्त्र प्रहरीहरुले धेरै साथ दिएका छन । नत्र भने हामी कतिको ज्यान जान्थ्यो होला । यस्तो अवस्थामा सरकार आउनुपर्ने हो । हरेक पत्रपत्रिका मिडियाहरुमा यो वा त्यो भनेको छ । तर सरकारी निकायबाट हामीलाई केही सूचना आएको छैन । बालेन समेत यहाँ आएर के छ त सेवा सुविधा भन्ने बारेमा कुरा गरेको छैन । सरकारी टोली आए हामी पनि सधैं खोलाको किनारामा बस्ने भन्ने होइन । यस्तो अवस्था वस्तु भनेको हाम्रो बाध्यता हो । हिउँदमा खोलाको गन्ध आउँछ, वर्षाभरी खोलाको डर हुन्छ । हामी बाध्यतावस बसेका हौ । सरकारले गाँस, बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’
अविरल वर्षासँगै काठमाडौं उपत्यकाका खोला किनाराका बस्तीहरुमा पनि ठूलो जनधनको क्षति भएको छ । तर पीडितलाई राहत दिने काममा भने सरकारले कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । उनीहरुले तत्काल राहतका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच