चर्खे पिङ संरक्षणमा चासो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङ नगरपालिका-८ सिगानामा झण्डै डेढ दशकपछि यो दशैंमा चर्खेपिङ हालियो । खर्चिलो, युवा शक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ पूर्व वडा अध्यक्ष राज जिसीले आफ्नो फर्निचर उद्योगमा तयार गरेर चर्खेपिङ हाल्नुभएको हो ।

१५ वर्ष अघि सम्म सिगानामा मात्रै तीन देखि चार वटा चर्खेपिङ दशैंमा हाल्ने गरेपछि पछिल्लो पुस्ताका लागि नौलो भएको चर्खेपिङ जिसीको सक्रियतामा हालिएको छ । लिङ्गे पिङ हाल्दै आएकोमा यसपटकदेखि चर्खेपिङ संरक्षण र पछिल्लो पुस्तालाई पिङको महत्व बुझाउन हालेको जिसीले बताउनुभयो ।

रु. ३० हजार लागतमा नयाँ चर्खे पिङ तयार भएको उहाँले बताउनुभयो । पछिल्लो समय देखिनै छोडेको चर्खेपिङ संरक्षण गर्नुपर्ने उहाँको भनाई छ । उहाँले आफ्नो न्यू सृजना फर्नीचर उद्योगको तर्फबाट गाउँमा पिङ हालेको जानकारी दिनुभयो ।

“एक दशक यता बागलुङसहित धेरै स्थानमा यो चर्खे पिङ हराइसक्यो, सयमै यस्को संरक्षण नथाले नयाँ पुस्तालाई दन्ते कथा बन्न सक्छ, १२ वर्षका बालबालिकाले सिगानामा पहिलोपटक चर्खेपिङ खेल्न पाएको प्रतिकृया आएको छ” जिसीले भन्नुभयो “कम्तिमा एक वडा एक चर्खेपिङ, एक टोल एक लिङ्गे पिङ हाल्ने अभियान चलाउन आवश्यक छ, पछिल्लो समय संरक्षणका लागि भएपनि मालिका, सिगाना, रेश लगायतका ठाउँमा चर्खेपिङ देख्न पाइएको छ ।”

यस्तै काठेखोला गाउँपालिका-७ रेश पिडाल्लामा यसपटक चर्खेपिङ हालिएको छ । त्यहाँका युवाहरुले पछिल्लो पुस्तामा हराउदै गएको चर्खेपिङ हालेका हुन् । बागलुङ नगरपालिका-५ स्थित साझखोलामा सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ तीन वर्ष यता हालिदै आइएको छ । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिन्छ । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो ।

चर्खेपिङ संरक्षणका लागि आवश्यक रहेको साझखोलाका स्थानीय जुना न्यूरेले बताउनुभयो । ११ वर्ष अघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको र तीन वर्ष यता साँझखोलामा संरक्षणका लागि चर्खेपिङ हालिएको न्यूरेको भनाई छ । दशैं तिहारमा खर्चेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन रहेको छ । दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्व बढेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?