काठमाडौं । अस्ट्रेलियाका क्रिकेटर बेन कटिङ पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि लुम्बिनी लायन्समा अनुबन्ध हुनुभएको छ । लुम्बिनीले दोस्रो विदेशी खेलाडीका रूपमा अलराउण्डर कटिङलाई टोलीमा अनुबन्ध गरेको मंगलबार सामाजिक सञ्जालमार्फत् जनाएको छ । लुम्बिनीले यसअघि इंग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्सलाई टोलीमा अनुबन्ध गरेको थियो ।
बलियो ब्याटिङ र प्रभावकारी मिडियम पेस बलिङका लागि परिचित कटिङको अन्तर्राष्ट्रिय अनुभव र बहुमुखी क्षमताले लुम्बिनी लायन्सको टिमलाई झनै बलियो बनाउने अपेक्षा गरिएको छ । कटिङले आफ्नो करियरमा विश्वभरका टी-२० लिगहरूमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उहाँले इण्डियन प्रिमियर लिग (आइपिएल), बिग बास लिग (बिबिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र क्यारिबियन प्रिमियर लिग (सिपिएल) जस्ता ठूला फ्रेन्चाइजहरूमा सहभागिता जनाउनुभएको छ ।
विशेष गरी २०१६ को आइपिएल फाइनलमा सनराइजर्स हैदराबादलाई उपाधि जिताउन उहाँले देखाएको उत्कृष्ट प्रदर्शन क्रिकेट प्रेमीहरूमाझ अहिलेसम्म पनि ताजा छ । लामो छक्का हान्ने क्षमता र चुनौतीपूर्ण अवस्थामा पनि बलिङ गर्न सक्ने उहाँको खुबीले उहाँलाई कुनै पनि टी-२० टिमका लागि एउटा अमूल्य खेलाडी बनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले गत सातामात्र मुख्य प्रशिक्षकमा नन्दन फाडनिसलाई नियुक्त गरेको थियो । एनपिएलमा सहभागी आठ टोलीले समान चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा लुम्बिनीलगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।
लुम्बिनी लायन्स टिममा रोहितकुमार पौडेल, आसुतोष घिरैया, सूर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिशेष गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री, टम मुर्स र बेन कटिङ हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच