मकवानपुर । सरकारले आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचनको मिति तोकेसंगै निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ भने मङ्सिर १६ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।
निर्वाचन आयोगले निर्वाचन मिति र कार्यतालिका सार्वजनिक गरेसंग मकवानपुर जिल्लाको उपनिर्वाचन हुने एकमात्र स्थान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ चर्चामा रहेको छ । उपमहानगरपालिकाको यस वडामा वडाअध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
२०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ललितबहादुुर घलान विजयी हुनुभएको थियो । वडाअध्यक्षमा विजयी घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो ।
मकवानपुर जिल्लामा यही वडामा मात्र निर्वाचन हुने भएकाले स्थानीय दलहरु कसरी बिजयी हुने भन्ने रणनीति र उम्मेद्वार छनौटमा लागेका छन् ।
माओवादीलाई आफ्नो बिरासत जोगाउने चुुनौती छ भने एमाले र काँग्रेसलाई नयाँ वडा थप्ने आकांक्षा रहेको छ । अन्य दलहरु पनि निर्वाचनको तयारीमा जुुटिरहेका छन् । जसले गर्दा मकवानपुरमा उपनिर्वाचन रोचक हुने देखिन्छ । अहिले माओवादी, एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले उम्मेद्वारको टुंगो लगाई सकेका छन् ।
माओवादीले रविन प्रधानलाई वडाअध्यक्षको उम्मेद्वार बनाउने सर्वसम्मत् निर्णय गरेको छ । युवालाई नेतृत्वमा अगाडि बढाउनको लागि प्रधानलाई सर्वसम्मत् उम्मेद्वार चयन गरेको माओवादीले बताएको छ ।
यस्तै एमालेले राजेश नगरकोटीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि उम्मेद्वार रहनुभएका नगरकोटी यसपटक पनि सर्वसम्मत् उम्मेद्वार छनौट हुनुु भएकाे छ । गतनिर्वाचनमा नगरकोटीले तेस्रो स्थान हाँसिल गर्नुभएकाे थियाे । एमालेको भातृ संगठन युवा संघ नेपाल मकवानपुर अध्यक्ष समेत रहनुभएका नगरकोटीलाई विजयी बनाउन एमाले १२ नम्बर केन्द्रित छ ।
काँग्रेसले पनि गत निर्वाचनकै उम्मेद्वार अर्जुन तिवारीलाई वडाअध्यक्षको उम्मेदवारको टुुंगो लगाएको छ । यससंगै राप्रपाले प्रेम ब्लोनलाई र राष्ट्रिय स्वतन्त्र पार्टीले आस्विर बललाई वडाअध्यक्षको उम्मेद्वार चयन गरेको छ ।
जतिजना उम्मेद्वार भएपनि हेटौंडा १२ मा माओवादीका रबिन प्रधान, एमालेका राजेश नगरकोटी र कांग्रेसका अर्जुन तिवारी बिच मूख्य प्रतिस्पर्धा हुने स्थानीहरुको आँकलन छ ।
यो निर्वाचनले मकवानपुरमा दलहरुको पछिल्लो राजनैतिक अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ । अहिलेसम्म निर्वाचनमा दलहरुबीच चुनावी तालमेल वा सहकार्य गर्ने कुनै तयारी भएको पाईदैन ।
गत निर्वाचनमा कसले कति मत पाए ?
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमाले बीच तीब्र प्रतिस्पर्धा भएको थियो । अहिलेको निर्वाचनमा पनि त्यही अवस्था देखिने लक्षण छ ।
गत चुनावमा हेटौंडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत पाएर विजयी हुनुभएकाे थियाे । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत पाउनु भएकाे थियाे । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत ल्याउनु भएकाे थियाे ।
गत निर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन । विजयी भएका माओवादीका घलान र दोस्रो भएका काँग्रेसका तिवारी बीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो ।
दलहरुको तयारी
नेकपा माओवादी केन्द्रले हेटौंडा–१२ को वडा अध्यक्ष पदका निर्वाचन आफ्नो पक्षमा पार्न पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य बीरबहादुर घलान ‘ज्वाला’ को नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिएको छ । माओवादी वडाको २७ वटै टोलमा मतदाता भेटघाट र प्रचारप्रसारमा केन्द्रीत रहेको छ ।
जिल्ला तहबाट वडाको विकासको लागि थप योजना र कार्यक्रम ल्याउन सकिने भएकोले पार्टीको अनुरोधमा वडाअध्यक्ष पदबाट राजिनामा दिएर जिल्ला समन्वय समितिको प्रमुख भएको घलानले बताउनुभयो । पद रिक्त भएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएतापनि निर्वाचन आयोगले मिति तय नगर्दा लामो समय वडाअध्यक्ष पद खाली भएको घलानले बताउनुभयो ।
त्यस्तै नेकपा एमाले पनि हेटौंडा–१२ को वडा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारलाई बिजयी गराउन केन्द्रीत भएको छ । एमाले आफ्नो पुरानो शाख फर्काउनको लागि आन्तरिक तयारीका साथ जुटेको नेकपा एमाले मकवानपुरका प्रचार बिभाग प्रमुख उज्ज्वल चौलागाईले बताउनुभयो । उहाँले हेटौंडा–१२ मा टोल भेला, कार्यालय स्थापना तथा मतदाता भेटघाटको कार्यलाई अगाडि बढाईरहेको बताउनुभयो ।
नेपाली कांग्रेसले गत निर्वाचनमा थोरै मतले पराजित हुनु परेको र यो पटक बिशेष योजनाका साथ निर्वाचनको तयारी भएको प्रवक्ता अर्जुनप्रसाद चौंलागाईले बताउनुभयो । उहाँले यसपटक वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार बिजयी हुनेमा निर्धक्क रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच