रौतहट । कात्तिक पूर्णिमाको दिन गंगामा नुहाएमा सम्पूर्ण पापबाट मुक्त हुने र पुण्य प्राप्त हुने आस्थाबाट प्रभावित भएर हजारौँले विभिन्न नदीमा डुबुल्की लगाएका छन् ।
पूर्णिमाको दिन रातभर नदी किनारमा जाग्राम बस्ने चलन छ जसलाई गंगा सेवन भनिन्छ ।
रौतहट र सर्लाहीको बिचमा रहेको बागमती नदीको नुनथर घाटमा कात्तिक पूर्णिमाको अवसरमा मेला लाग्दै आएको छ ।
हरेक वर्ष रौतहट, सर्लाही, बारा, पर्सा, मकवानपुर तथा सिन्धुली जिल्लाबाट आउने श्रद्धालुहरुले गंगा नदीको प्रतीक बागमतीमा रातजभर जाग्राम बसी उज्यालो हुनुभन्दा पहिले स्नान गर्ने गर्दछन् ।
रातभर भजन कीर्तन गर्दै श्रद्धालुहरुले कात्तिक स्नान गरेको पुण्य प्राप्त हुने विश्वास गर्दछन् ।
अझै पनि ग्रामीण क्षेत्रमा कात्तिक स्नान गर्ने परम्परा रहेको छ । कात्तिक स्नान गर्ने श्रद्धालुहरु असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म हरेक बिहान सूर्योदय हुनुपूर्व नै स्नान गर्ने तथा महिनाभर साकाहार भोजन गर्दछन् ।
कात्तिक स्नानको समापन गंगामा गर्दा पूर्ण फल प्राप्त हुने विश्वास रहेको छ ।
कात्तिक महिनाभर कुनै कारणले स्नान गर्न नसकेमा पूर्णिमाको दिन नदी किनारमा निष्ठापूर्वक जाग्राम बसी गंगा सेवन गरेमा पनि कात्तिक स्नानको पुण्य प्राप्त हुने लोकविश्वास रहेको छ ।
कात्तिक पूर्णिमाको दिन गंगा स्नान गर्न रौतहट र सर्लाहीबाट अझै पनि पटनादेखि अयोध्यासम्म मानिसहरु जाने गरेका छन् । कतै जान नसक्नेहरु गंगा नदीमा गएर मिसिने बागमतीमा स्नान गर्दछन् । बागमती नदीका साथै बकैया र अन्य सहायक नदीमा एकै दिन हजारौँले स्नान गरेका छन् ।
केही दिनदेखि मौसम खराब भएर अत्यधिक चिसो भए पनि आस्थावान सर्वसाधारणले कठांग्रिँदो जाडोमा पनि गंगा सेवन र गंगा स्नान गरेका छन् । रौतहट र सर्लाहीमा दुई दिनदेखि घाम नलागी बाक्लो कुहिरो लागेको छ ।
गंगा स्नानका लागि बागमती नदीको रौतहट तथा सर्लाहीतिरका दुई दर्जनभन्दा बढी घाटका साथै बकैया, लमाहा र अन्य सानातिना खोलाहरुमा हजारौँ ट्रयाक्टर, जिप, मोटरसाइकलहरु पुगेका थिए । यातायातको साधनको उपलब्धता तथा सडकको सहज पहुँच भएपछि कात्तिक पूर्णिमा स्नान गर्नेको संख्यामा हरेक वर्ष वृद्धि हुँदै गएको गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।
कात्तिक स्नान हाम्रो समाजको संस्कृति रहेको र गंगा स्नान गर्ने श्रद्धालुको संख्यामा हरेक वर्ष वृद्धि भइरहेको स्थानीय कामेश्वर सहनीको भनाइ छ । बागमती नदीको चिसो सिरेटोको कुनै परवाह नगरी हजारौँ श्रद्धालु रातभर नदी किनारमा जाग्राम बसेको तथा आस्थाको डुबुल्की लगाएर पुण्य प्राप्ति गरेको सहनीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच