सायद म यति धेरै प्रजातन्त्रवादी छु कि म क्रान्तिकारी हुनै सक्दिन र म यति विद्रोही छु कि प्रजातन्त्रवादी भन्दा अन्य केही हुन सक्दिन । मैले आफूलाई गान्धीभन्दा बढी माक्र्सले प्रभावित पारेको भन्ने गरेको भए तापनि व्यवहारमा म माक्र्सबाट होइन गान्धीबाट नै प्रभावित छु । (बीपी कोइराला, जेल डायरी प्रथम संस्करण २०८०) । यस युगको राजनीतिक विचारको अनुभवजन्य तुलना यसभन्दा अर्को उत्तम हुन कठिन छ तर यी कुनै पनि सिद्धान्तको जगमा म प्रजातान्त्रिक आन्दोलनको यात्री भएको होइन । अपरिपक्व मस्तिष्कमा बनेको मधुरो रेखाचित्रले मलाई स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकारको यात्रामा प्रेरित गरेको जस्तो मलाई लाग्छ ।
म अकाट्य रूपले लोकतान्त्रिक आन्दोलनमा सक्रिय छु । आदर्श नेता र आदर्श राज्यको उत्कट र तीव्र चाहना छ ममा । यी पंक्ति लेख्न बस्दा मेरो जीवनको सर्वाधिक ऊर्जाशील वय स्वतन्त्रता र समानताको स्वप्निल कल्पनामा नै बितेका छन् । यो स्मृति परीक्षामा बस्दै गर्दा राजनीतिको मौलोमाम कुन समयमा अडेस लाग्न पुगेँ भन्ने स्मृतिबोध पनि भइरहेको छ । मेरो जन्मकालको लगत्तै जसो लोकतन्त्रको अवशान भएको रहेछ । लोकतन्त्रको विषय अलि जान्ने भएपछि मात्रै जानकारीमा आएको हो ।
(१) राजनीतिक चेतनाको बिजारोपण :
मेरा पिताजी गृहस्थ सन्त भए पनि स्वतन्त्रता र सामाजिक समानतामा उहाँको क्रियाशील विचार र व्यवहार मैले अनुभव गरेको थिएँ । २००७ सालको क्रान्तिचरणमा मुक्ति सेनालाई सहयोग गर्ने काम हाम्रो बिगुटारका धेरैले गरेका हुन् । मुक्ति सेनामा संलग्न र हाम्रा क्षेत्रका नायकहरू कृष्णवली राई, हर्कवली राईहरूको टोली बिगुटारमा बसेको र गाउँबाट सहयोग मिलेको हामीले सुनेका थियौँ । राई समुदायको बसोवास सर्सेपु, राँगादीप, सुर्केमा रहेको छ । त्यही गाउँका मुक्ति सैनिकहरूलाई सहयोग गरेको हुनाले कृष्णवलीबा पछिसम्म पनि हाम्रा घरमा आउने गर्नुहुन्थ्यो र नेपाली कांग्रेस र मुक्ति सेना अनि बीपी कोइरालाबारे अनेक कथाहरू सुनाउनुहुन्थ्यो ।
(क) पहिलो नारा जुलुस :
म चार पाँच वर्षको उमेरमा प्रजातन्त्र दिवस मनाउने जुलुसमा सहभागी भएको थिएँ । थोत्रो दौरा र भोटोमा जे भने पनि जिन्दावादको नारा लगाउँदै मसहित नारदहरू समेत कुदेको स्मृतिमा छ । २००७ साल फागुन ७ गते राणाशासनको अन्त्य भएको औपचारिक घोषणा भएको दिन हो । गाउँगाउँमा निर्दलीय पञ्चहरूले त्यसैको स्मृतिमा फागुन ७ गतेकोे प्रजातन्त्र दिवसमा साना नानीहरूदेखि पाठशालाका विद्यार्थीहरू, बुढाबुढीहरूलाई समेत गाउँ परिक्रमा गर्न उर्दी लगाउँथे । हामी करलेभन्दा पनि रहरले जुलुसमा गएका थियौँ ।
राजा महेन्द्रको ओखलढुंगा भ्रमण रहेछ । गाउँका टाठाबाठाहरूले आफ्ना घरमा फलेका उन्नत तरकारी लिएर राजालाई भेट्न पाइन्छ भनेर हल्ला गरे । राजनीतिक रूपमा निकै सचेत थिए पीताम्बर दाहाल र फणीन्द्रमणि दाहाल । मलाई पनि राजा भेट्ने रहर लाग्यो र पिताजीसँग भनेँ । उहाँ हाँस्नुमात्रै भयो ।
केही वर्षपछि राजा महेन्द्रको ओखलढुंगा भ्रमण रहेछ । गाउँका टाठाबाठाहरूले आफ्ना घरमा फलेका उन्नत तरकारी लिएर राजालाई भेट्न पाइन्छ भनेर हल्ला गरे । राजनीतिक रूपमा निकै सचेत थिए पीताम्बर दाहाल र फणीन्द्रमणि दाहाल । हाम्रो घरनजिक पीताम्बरको घर थियो । मलाई पनि राजा भेट्ने रहर लाग्यो र पिताजीसँग भनेँ । उहाँ हाँस्नुमात्रै भयो । आमाले मेरो रहरलाई समर्थन गरेपछि करेसाबारीमा बिउका लागि जोगाएको निकै ठूलो मुला उखेलियो र पीताम्बर दाजुसँग राजा हेर्न ओखलढुंगा पुगेँ ।
दिनभरि बस्दा पनि राजा भेटिएनन् । साँझपख हेलिकप्टर आयो र दौरासुरुवाल कोटमा सजिएका, कालो चश्मा लाएका मध्यम आकर्षण लाग्ने मानिस हेलिकप्टरबाट झरेपछि दौडादौड भयो । भीड यति भयो कि हामीजस्ता बालकहरू निस्सासिएर मर्ने जस्तो अवस्था भयो । माइकबाट कसैले के बोलिरहेका थिए । मेरो मुला भीडमा नै हरायो । कता खस्यो कता । टुँडिखेलको भित्तोमा झण्डै चेपिएर इहलीला समाप्त भयो । राजा भेट्ने कुरा हावा रहेछ ।
गाउँमा केही टाठाबाठा युवाहरू थिए । तीमध्येका पीताम्बर दाहाल र वेदनिधि दाहाल अग्र मानिन्थे । गाउँमा प्रेमनारायण प्रेमी नामका एक जना दुब्ला तर असाध्य आकर्षक युवा पनि आउने गर्थे । उनीसँग एउटी पातली महिला पनि हुन्थिन् । उनलाई सबैले उपस्र्याठ भन्थे र असाध्य मानमनितो गर्दथे । उनी ओभरसियर रहेछन् र जिल्ला पञ्चायतमा जागिरे रहेछन् । उनी चिटिक्क परेको हाफकट्टु, राम्रो सफा कमिजमा हुन्थे । चप्पल पड्काउँदै हिँड्दा उनको व्यक्तित्व आकर्षक हुन्थ्यो । उनीलाई पीताम्बर र वेदनिधि दाजु खुब मान्थे । उनी निर्दलीय पञ्चायतको जागिरे भए पनि कम्युनिष्ट रहेछन् । पीताम्बर र वेदनिधि सायद नबुझिकन नै प्रेमनारायणको संगतमा हुनुहुन्थ्यो होला तर हामी साना बालकहरूमा भने प्रेमी जस्तै चिटिक्क भएर हिँड्ने सपना जाग्थ्यो ।
भाषा पाठशालामा कखराको सिकाइमा जान लागेपछि एकदिन निरीक्षक आउने हल्ला चल्यो । सबै सतर्क भए । दिउँसोतिर एकजना मानिस सहयोगीका साथ भाषा पाठशालामा आए । उनले टंकनाथ र पुण्यप्रसाद गुरुसँग पढाइबारे निकै सोधखोज गरे । टहलुवा थिए गणेशबहादुर दाइ । उनी सबैको प्रिय थिए । साना नानीहरूलाई असाध्य माया गर्थे । उनीसँग पनि केही जानकारी लिए । हामीसँग पनि पढाइसँग सम्बन्धित केही प्रश्न गरे ।
अनि उनले सोधे : यहाँका मानिसमा राजनीतिबारे कस्तो रुचि छ ? विद्यार्थी त राजनीति के हो बुझ्दैनथे । गुरुहरूले के भन्नुभयो । उनी हाँस्दै हिँडे । ती थिए : प्राप्चाका दुर्गाहरि दाहाल । उहाँ पूर्णराजनीतिक परिवारको सदस्य । उहाँका भाइहरू पीताम्बर र मीनकुमार राजधानीमा बसेर कांग्रेसमा सक्रिय हुनुहुँदो रहेछ । स्वयं पनि कांग्रेस तर उहाँले सामान्य कुरा गर्नुभयो । उहाँका विषयमा मेरो एउटा स्मृति मानसपटलमा रहेछ । सुकिलो दौरा, सुरुवाल र कोट अनि ढाका टोपी र बाटाका कपडाका जुत्ता । सुरुवालको घुँडामाथि सानो प्वाल र रफ्फु । मलाई त्यो रफ्फुको सानो थोप्लोको सम्झना आज पनि भइरहेको छ ।
(ख) कम्युनिष्ट हुन लुगैसँग भात :
हाम्रा घरमा त्यस बेलासम्म कोदाको ढिँडो र मकैको भातको खाँचो थिएन । बिहान-बेलुका जो आए पनि खान आग्रह हुने गथ्र्यो । एकदिन बिहानै तोजिङबाट वेदनिधि दाहाल (आमाकी मामाकी छोरी अर्थात् हाम्रो ठूल्यामाको छोरा, उहाँलाई सबैले माया गरेर बच्चे भन्थे) घरमा आउनुभयो । आमा भान्सामा भात पकाउँदै हुनुहुन्थ्यो । त्यसबेला बाहुनहरूका घरमा चौको काटिएको हुन्थ्यो । भात पकाएको समयमा वा खाने समयमा त्यो चौका काटेर बिहे व्रतबन्ध नगरेकाहरू, विजातीयहरू वा लुगा नफेरेकाहरू जान पाइने थिएन तर हाम्रो घरमात्र एक थियो जसको भान्सामा कुनै चौको काटिएको थिएन । अँगेनादेखि चुल्होसम्म कुनै घेरान भएको हुनाले बराबर थियो । कतिले त हाम्रो घरलाई भोटेको घर भन्ने गरेको सुनिन्थ्यो ।
दुर्गाहरिका विषयमा मेरो एउटा स्मृति मानसपटलमा रहेछ । सुकिलो दौरा, सुरुवाल र कोट अनि ढाका टोपी र बाटाका कपडाका जुत्ता । सुरुवालको घुँडामाथि सानो प्वाल र रफ्फु । मलाई त्यो रफ्फुको सानो थोप्लोको सम्झना आज पनि भइरहेको छ ।
वेदनिधि दाजु हरियो कमिज, सेतो पत्लुन र चप्पल लगाएर आउनुभएको थियो । म ओच्छ्यानमा बसेर पढ्दै थिएँ । पिताजी हुनुहुन्थेन । वेदनिधि दाजुलाई आमाले भन्नुभयो : भात खाने भए धोती दिन्छु सानोबाको । फेरेर चुल्होमा आउनू । तर वेदनिधि दाजुले भन्नुभयो ः सानीमा आफू त कम्युनिष्ट परेँ । दिनुहुन्छ भने लुगा र चप्पल लगाएरै भात खान्छु । आमाले चुल्होको अर्को छेउमा राखेर दाजुलाई ढिँडो र मकैको भात दिनुभयो र उहाँले चप्पल पनि नखोली खानुभयो । मलाई लाग्यो कम्युनिष्ट भएपछि त चप्पल लाउन पाइने, राम्रो कमिज र पत्लुन पनि लाउन पाइने रहेछ । भात खाँदा लुगा नखोले पनि हुने रहेछ ।
(२) बिगुटारमा कांग्रेस प्रवेश र प्रधानको राजीनामा :
राजनीतिको मौलो कसरी बन्यो मलाई थाहा भएन । बिगुटारका प्रधानपञ्च थिए बैदार बा । सायद उहाँको नाम तिलविक्रम थियो केही यस्तै । अनि उहाँका अनन्य मित्र थिए सुवेदार सेतु कटवाल बा । पिल्पुतिरका यी दुई वृद्ध बिगुटारमा हाम्रा फरक आकर्षण हुन्थे । बैदारबाको उछिट्टिएको भुँडी, लामा जुँगा, काला दाँत र सुवेदारबाको छडी प्रख्यात थिए ।
कुनै समयमा गाउँको पोखरी डाँडा जलेश्वरी देवीको मन्दिर प्रांगणमा गाउँसभा हुँदै थियो । त्यस बेलासम्म सबै गाउँलेहरू बसेर निर्णय गर्ने प्रचलन थियो । गुरुहरूको उर्दी अनुसार हामी पनि पिठ्युमा किताब कसेर पोखरी डाँडा पुग्यौँ । पोखरी डाँडामा जलेश्वरीदेवीको मन्दिर छ । कसले कुन प्रयोजनमा स्थापना गरेका हुन् त्यति जानकारी नभए पनि त्यहाँ ससानो पोखरी, वर र पीपलका विशालकाय रूख थिए । चौतारो थियो राम्रो । शीतल जति हुन्थ्यो त्यहाँ बस्दा पानी परेको समय निकै बेरसम्म ओत लाग्न सकिन्थ्यो । क्रमश :
(हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहाल लेखन, सम्पादन तथा मानव अधिकारवादी चिन्तनबाट अभिप्रेरित भई यिनै कार्यमा संलग्न रहँदै आइरहनुभएको । भविष्यमा उहाँको ‘स्मृति परीक्षा’ शीर्षकको कृति प्रकाशन हुन लागिरहेको छ । उक्त कृतिबाट धाराबाहिक केही अंशहरू नियमित रूपमा प्रस्तुत गरिनेछ )
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच