जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको खबर र त्यसका गतिविधिहरूसँगै जनकपुरधामसहित मधेशमा खेल जगत्मा आफ्नो भविष्य देख्नेहरूमा आशा पलाउन थालेको छ । नेपाली खेलाडीहरू पनि लाखौँमा बिक्री हुन लागेको, विदेशका चर्चित क्रिकेटरहरू नेपालीसँग खेल्न आउन लागेको खबरहरूले मधेशको खेल क्षेत्र उत्साहित बन्दै गएको छ । जनकपुरधामको वडा नं. १४ रजौलमा प्रस्तावित रामजानकी बहुद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला टुर्नामेन्टबाहेक सुनसान रहन्छ । रंगशालामा अहिले खेलाडी र युवादेखि बालबालिकाहरूको उत्साहजनक सहभागिता छ ।
शनिबार एनपिएलका लागि घोषणा भएको जनकपुर बोल्ट टिमले देशव्यापी कार्यक्रमअन्तर्गत आफ्ना टिमलाई चाहिने दुईवटा खेलाडी छान्न जनकपुरधामस्थित रंगशालामा आयोजना गरेको ट्यालेन्ट हन्ट इभेन्टमा खेलाडीमात्र नभई खेल्न चाहने बालबालिकादेखि युवाहरूले सहभागिता जनाए ।
उनीहरू एनपिएलको आयोजनाले देशमात्र नभई खेलमा सुस्ताएको मधेशका युवाहरूमा आशा जागेको बताउँछन् । मधेशका आठवटै जिल्लाका आधिकारिक निकाय क्यानका जिल्ला सञ्जालहरू पनि एनपिएलका कारण मधेश र जनकपुरधामको क्रिकेट विरासत अब पुनः लयमा फर्किने प्रशस्त सम्भावना रहेको बताउँछन् । क्यान धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे विश्वमा नेपाल अब क्रिकेटका कारण पनि चिनिने र आफूहरूलाई गर्व लाग्ने बताउनुहुन्छ ।
खेलाडीको प्रतिभा अनुगमन गर्न व्यस्त जनकपुर बोल्टका प्रशिक्षक मनोज कटुवाल मधेशका खेलाडी र छनोट हेर्न आएका युवादेखि बालबालिकाहरूको उत्सुकता र उत्साहले पहिलो एनपिएल भव्य हुने बताउनुहुन्छ । अब खेलाडी पनि बन्नुपर्छ भन्ने सपना र लक्ष्य प्राथमिकतामा पर्न थाल्ने सम्भावना देखिन थालेको बताउनुभयो ।
२०४० को दशकमै जनकपुरधाममा तत्कालीन जनकपुर चुरोट कारखाना, श्री महावीर युवा कमिटीसहितका बलिया क्रिकेट टिम सक्रिय थिए । त्यसबाट राष्ट्रिय टोलीसम्म पुग्ने खेलाडीहरू पनि धेरै थिए । नेपालमा क्रिकेट भन्नेबित्तिकै जनकपुरधाम स्मरण हुने भए पनि पछिल्लो समय जनकपुर र मधेशमा क्रिकेट सुस्ताएको थियो । तर देश, विदेशमा नेपाली टिम र हुन लागेको एनपिएलजस्ता चर्चित क्रिकेटका इभेन्टहरूले आशाको सिर्जना गर्ने काम गरेको छ भने भौतिक संरचना र खेलमा लगानीका लागि राज्यलाई दबाब बढ्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच