काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ । बिहान १० देखि अपराहृन ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका तथा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । आयोगले आइतबार नै उम्मेदवारको सूची प्रकाशन गरेको छ । यसैगरी, मंसिर ३ गते बिहान १० देखि अपराहृन ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराहृन ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहान ९ देखि अपराहृन १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराहृन ५ बजेसम्म मतदान हुनेछ । सो दिन विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ ।
कीर्तिपुरको मेयर पदका लागि २० जनाको उम्मेदवारी
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा उपचुनाव हुने एक मात्र नगरपालिका कीर्तिपुर नगरपालिको प्रमुखमा दलीय र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ । जसमध्ये दलका तर्फबाट नौ र ११ जना स्वतन्त्रको उम्मेदवारी परेको हो । त्यस्तै, कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा नौ र वडा नम्बर ४ मा १३ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसले कृष्णमान डंगोल, नेकपा एमालेले सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रले शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जन, जसपा नेपालले दीपक महर्जन (हनी), डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले दिलकुमार महर्जनलाई उम्मेदवार बनाएको छ । यस्तै, सरसफाइ अभियन्ता राजमान महर्जनले पनि उम्मेदवारी दिनुभएको छ ।
हनी र मनीको उम्मेदवारी
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि जसपा नेपालबाट तेस्रो लिंगी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मनी)ले उम्मेदवारी दिनुभएको छ । मेयरमा हनी महर्जन र वडा नं ४ को वडाध्यक्षमा मनीले उम्मेदवारी दिनुभएको हो । दुवै उम्मेदवारले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरूले शनिबार मायाको पहिचान नेपालको कार्यालयमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नुभएको थियो । मेयरकी उम्मेदवार हनी महर्जनले सफा, स्वच्छ र सुन्दर कीर्तिपुरलाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कीर्तिपुर मेयरको दौडबाट रास्वपाको ‘वाकओभर’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएन । चाहे जस्तो उम्मेदवार नभेटिएपछि चुनावी प्रतिस्पर्धा नगर्ने निष्कर्षमा पुगेको रास्वपाले जनाएको छ । रास्वपाले यसअघि कीर्तिपुरको मेयरमा जयराम कार्कीलाई उठाउने तयारी गरेको थियो । रास्वपाले अब स्वतन्त्र उम्मेदवार बनेकाहरूमध्ये एकजनालाई समर्थन गर्ने जनाएको छ ।
कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षको तोडफोड
कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता)को कार्यकक्षमा एक वडाध्यक्षले तोडफोड गरेका छन् । कीर्तिपुर वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयरको कार्यकक्षमा शनिबार दिउँसो तोडफोड गर्नुभएको हो । कर्मचारीहरूले वडाको काममा ढिलासुस्ती गरिदिएको गुनासोसहित वडाध्यक्ष महर्जन उपमेयरको कार्यकक्षमा पुग्नुभएको थियो । त्यही विषयमा विवाद हुँदा उहाँले टेबुल फुटाएको एक कर्मचारीले जानकारी दिए । ती कर्मचारीले भन्नुभयो, ‘उपमेयर शाक्यले वडाध्यक्षले माफी माग्नुपर्छ भनेर फुटेको टेबुल पनि उठाइएको छैन ।’ कार्यवाहक मेयर शाक्यले वडाध्यक्ष महर्जनले प्रमुख प्रशासकीय अधिकृतको समय नपाएपछि आफ्नो कार्यकक्षमा आएर तोडफोड गरेको जानकारी दिँदै भन्नुभयो, ‘प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुखहरूको बैठक राख्नुभएको थियो । त्यही बेला ३ नम्बर वडाध्यक्षले वडाको विभिन्न मागहरूले लिएर नगरपालिका आउनुभएको थियो । त्यो बेला समय नपाएपछि उहाँ रिसाएर मेरो सचिवालयमा पस्नुभयो । मसहित अरू जनप्रतिनिधि सँगै थियौँ । उहाँले प्रमुख प्रशासकीय अधिकृतले समय नदिएको भनेर रिसाउँदै टेबल फुटाउनुभयो ।’
रुकुमपूर्वमा माओवादीविरुद्ध एमाले-कांग्रेसको मोर्चा
नेकपा माओवादीले आफ्नो बलियो आधार क्षेत्र मानेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले मोर्चाबन्दी गरेका छन् । यसअघि ०७९ को निर्वाचनमा पनि केही स्थानमा सहकार्य गरेर माओवादीले यसअघि जितेका केही ठाउँमा सफलता पाएपछि अहिले दुवै दलले मोर्चाबन्दी गरेर अगाडि जाने सहमति गरेका हुन् । दुई दलले पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा सहमतिमा साझा उम्मेदवार बनाएर उम्मेदारी दर्ता गरेका छन् । नेपाली कांग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार केशकुमारी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिहृन रूखबाट उम्मेदवारी दिने सहमति गरेको जानकारी दिनुभयो । यस्तै, २ नं वडामा सूर्य चुनाव चिन्हमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदवार बनाउने सहमति दुई दलबीच भएको छ । माओवादीले ज्ञानदेवी पुनलाई उम्मेदवार बनाएको छ ।
उपचुनावमा कांग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुन्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने दाबी गर्नुभएको छ । आइतबार कीर्तिपुरको मेयरमा आफ्नो पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले देशभरको तथ्यले त्यो देखिएको जिकिर गर्नुभयो । मतदाताले दिएको मतलाई कांग्रेसले सदैव सम्मान गर्ने भन्दै उहाँले अधिकांश स्थानमा कांग्रसकै जित हुने दाबी गर्नुभयो । अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दबाब दिन पनि मतदाताले कांग्रेस उम्मेदवारलाई जिताउने उहाँको तर्क छ ।
उम्मेदवारलाई डर धम्की देखाएको भन्दै आयोगमा उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई डर धम्की दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगसमक्ष लिखित रूपमा निवेदन दिँदै उक्त कार्यमा संलग्नहरूलाई कारबाहीको समेत माग गर्नुभएको छ । आयोगसमक्ष दिइएको उजुरीमा सुजाता र उनको श्रीमान् बल थापालाई ४०-५० जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै लगिएको र उक्त कार्यमा कांग्रेसका कार्यकर्ता संलग्न रहेको दाबी गरिएको छ । यस्तै, मधेश प्रदेशमा पनि उम्मेदवारी दिने तयारीमा रहेका आफ्ना कार्यकर्ता र परिवारलाई डर धम्की देखाइएको रास्वपाले दाबी गरेको छ ।
उम्मेदवारी दर्ता गर्न हिँडेका माओवादी उम्मेदवार बाटोमै हिस्स
कीर्तिपुरको वडा नम्बर १ मा उम्मेदवारी दिन तामझामसहित निस्किएका अष्टमान महर्जन बीच बाटोबाटै फर्किनुपरेको छ । उहाँले माओवादीबाट उम्मेदवारी दिने तयारी गर्नुभएको थियो । टीका, खादा र माला लगाएर माओवादीका तीन उम्मेदवारहरू सहितको ¥याली निर्वाचन आयोगतर्फ जाँदै थियो । बाटोमै १ नम्बर वडामा माओवादीले जसपालाई सघाउन लागेको खबर आयो । त्यसपछि महर्जन हिस्स पर्नुभयो । माओवादीले जसपाका सरल महर्जनलाई सघाउने भएको छ । माओवादीको ¥यालीमा सरल पनि मिसिएका थिए । अष्टमानले सरललाई शुभकामना दिए र सँगै फोटो पनि खिचाउनुभयो । आफू पार्टीको निर्णय मान्ने प्रतिक्रिया दिँदै अष्टमानले भन्नुभयो, ‘पार्टीले जसपासँग गठबन्धन गर्ने निर्णय गरेको छ । म बागी उम्मेदवारी दिन्नँ । सरल महर्जनलाई मेरो समर्थन छ ।’
जिससमा कांग्रेस र एमालेबीच तालमेल
सत्तारूढ दुई घटक नेपाली कांग्रेस र नेकपा एमालेले जिल्ला समन्वय समिति (जिसस)मा चुनावी तालेमल गरेका छन् । यही मंसिर १६ गते कैलाली र ओखलढुंगामा जिसस प्रमुखको लागि उपचुनाव हुँदै छ । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार उठाएन । एमालेले कांग्रेसलाई सहयोग गर्ने भएको छ । नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज डंगौरा, सचिव केशव मिश्र र नेकपा एमाले कैलालीका इञ्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुंगाना, सचिव ममता चौधरी लगायतका नेताबीच मंसिर १६ गते हुने समन्वय प्रमुखको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो । कांग्रेसबाट जिसस प्रमुखमा टीका कुमारी चौधरी (भुल)ले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै, ओखलढुंगाको जिसस प्रमुखमा पनि एमालेले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने दुई दलबीच सहमति भएको छ । कांग्रेसबाट जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
२९३ मतदान केन्द्र, सात हजार दुई सय प्रहरी परिचालन
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा २९३ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउन आइतबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर प्रारम्भिक सुरक्षा खाका पेस गर्नुभएको छ । केही स्थानीय तहमा विगतका निर्वाचनमा मतपत्र आगजनीदेखि मतपेटिकासमेत तोडफोड गरेका घटना भएकाले ती मतदान केन्द्रलाई अति संवेदनशीलमा राखिएको छ । निर्वाचनमा विगतको जस्तै भित्री पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा आवश्यकताअनुसार नेपाली सेना परिचालन हुनेछन् । प्रहरी प्रधान कार्यालयले कार्य विभागका एसपी सञ्जयसिंह थापाको नेतृत्वमा निर्वाचन सेल गठन गरेको छ । सेलले प्रारम्भिक चरणमा सात हजार दुई सय प्रहरी परिचालन गर्नुपर्ने खाका केन्द्रीय सुरक्षा समितिमा पेस गरेको छ । तर, यो संख्या अझै बढ्न सक्ने बताइएको छ । उपनिर्वाचनमा कुल दुई लाख २६ हजार सात सय ९९ मतदाता छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच