काठमाडौं । सुरक्षित सरसफाइ व्यवस्थापनका लागि समन्वय र सहकार्यमा जोड दिइएको छ । विश्व शौचालय दिवसका अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स, नेपाल(सोफेन)द्वारा मंगलबार आयोजित कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरूले यस्तो जोड दिएका हुन् । कार्यक्रम उद्घाटन गर्दै खानेपानी मन्त्री प्रदीप यादवले सरसफाइको आधारस्तम्भ शौचालय आत्मसम्मान र सुरक्षाका लागि आधारभूत आवश्यकता भएको बताउनुभयो । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र बढ्दो द्वन्द्वका कारण सरसफाइजस्तो आधारभूत अवश्यकता पूरा हुन नसक्दा मानव जीवनमा खतरा बढ्दै गएको उहाँको भनाइ थियो ।
प्रदूषणरहित वातावरण सिर्जना गर्न तथा प्रदूषणजन्य सरुवा रोगहरू र सरसफाइको कमीले निम्त्याउने रोग नियन्त्रण गरी वातावरण सुरक्षित गर्न ठूलो योगदान दिएका कारण शौचालय समृद्धिको सूचक भएको मन्त्री यादवले बताउनुभयो । तथापि सीमित स्रोत साधनका कारण अझै पनि सार्वजनिक शौचालय आमनागरिकको पहुँचमा नरहेको पनि उहाँले बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, ‘म शौचालय दिन सक्ने ठाउँमा त आइपुगेको छु तर म यो मन्त्रालयमा आउनुभन्दा अघि नै बजेट बनिसकेकाले गर्न खोज्दा पनि नसकिरहेको अवस्था छ । निजीस्तरमा धेरै सुविधासम्पन्न शौचालय बनेका छन् तर सार्वजनिक शौचालयको अवस्था दयनीय छ । हामीले सार्वजनिक शौचालयका विषयमा धेरै काम गर्न बाँकी छ । चिया पिउने बहानामा बाटोमा रहेका होटल तथा रेष्टुरेन्टमा शौच गर्न जानुपर्ने बाध्यता हुन्छ । त्यसैले सबैले सार्वजनिक स्थानमा शौचालय निर्माण गरी निरन्तर प्रयोगमा ल्याउन आवश्यक छ ।’
पूर्वमन्त्री गणेश साहले खानेपानी, शौचालय र फोहोरमैला व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘फोहोरमैला व्यवस्थापन कुनै संघ, प्रदेश वा स्थानीय सरकार एक्लाएक्लै गर्न सक्ने अवस्था छैन । यसका लागि स्रोतसाधन, प्रविधि, जनशक्तिको उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसैगरी सरकार र अन्य सरोकारवाला निकायसँग सहकार्य र समन्वय हुनुपर्छ । त्यसका लागि मन्त्रीज्यूले वातावरण बनाइदिनुपर्यो ।’ खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी तथा सरसफाइ क्षेत्रमा मन्त्रालय सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो । ट्वाइलेट्सः ए प्लेस फर पिस भन्ने नारा रहेको यस वर्षको विश्व शौचालय दिवसका अवसरमा सरकार तथा विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा सोफेनद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । सोफेनका अध्यक्ष शरद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा सेनिटेसन सिचुयसन अफ नेपाल विषयमा वाटर एड नेपालका गोविन्द श्रेष्ठ, पब्लिक ट्वाइलेट प्रोसिडुयोर ललितपुर म्युनिसिपालिटी विषयमा जुनु त्वायना, नेसनल पब्लिक ट्वाइलेट गाइडलाइनः मिनिस्टी अफ वाटर सप्लाइबारे पर्वत श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
शौचालय दिवसको पूर्वसन्ध्यामा स्मार्ट वास सोलुसन्सद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा पनि सरोकारवालाले सुरक्षित खानेपानी र सरसफाइ नागरिकको मौलिक अधिकार भए पनि सरकारले खासै चासो नदिएको गुनासो गरेका थिए । फोहोरमैला व्यवस्थापनलाई समस्याका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र त्यसका लागि प्रविधि र लगानीमा जोड दिनुपर्ने उनीहरूको सुझाव थियो । धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्यान्जोले खानेपानी, शौचालय तथा फोहोरमैलाको दिगो व्यवस्थापनमा धुलिखेल नगरपालिकाबाट अन्य स्थानीय तह, संघ र प्रदेशले पनि सिक्न सक्ने बताउनुभएको थियो । तथापि शौचालय, खानेपानी तथा सरसफाइ क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यमा समस्या रहेको पनि उहाँले बताउनुभएको थियो । नगरप्रमुख ब्यान्जोले भन्नुभयो, ‘संसारका सबै देशका संघीयतामध्ये नेपालको संघीय अनौठो छ । संघीयता भए पनि स्थानीय तहलाई कुनै पनि अधिकार दिन केन्द्र सरकार तयार छैन । केन्द्र सरकार स्थानीय तहका समस्यामा रमिते बनेर बसिरहेको छ ।’
उहाँले विभिन्न विपद्को समयमा विपद् स्थल अवलोकनका लागि केन्द्र र प्रदेश सरकारका मन्त्रीहरूको लर्को लाग्ने तर सहयोग भने एक पैसा पनि नगर्ने गरेको गुनासोसमेत गर्नुभयो । कार्यक्रमममा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले भने आफूले पनि विगत स्थानीय तहमै काम गरेकाले स्थानीय तहका समस्या र चुनौतीबारे जानकार रहेको भन्दै मन्त्रालय स्थानीय तहलगायत सबै सरोकारवाला निकायसँग सहयोग र सहकार्यका लागि तयार रहेको बताउनुभएको थियो । आयोजक संस्था स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप साहको सभापतित्वमा भएको कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य, नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सप्तकोशी नगरपालिका प्रमुख कृष्णप्रसाद ढकाल, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, एसएनभी नेपालकी वाटर सेक्टर लिडर नादिरा ख्वाजालगायतले पनि शौचालय तथा फोहोरमैलाको दिगो व्यवस्थापनमा जोड दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच