काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनाको राजस्व संकलन गत आर्थिक वर्षभन्दा झण्डै १७ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत विवरणअनुसार गत वर्षको सोही अवधिमा दुर्ई खर्ब ७६ अर्ब राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको हो । आर्थिक वर्ष २०७६/०७७ मा ११ खर्ब १२ अर्ब तीन करोडको लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो भने २०७७/०७८ मा १० खर्ब ११ अर्ब ७६ करोडको लक्ष्य रहेकोमा ९२.५० प्रतिशत प्रगति भएको थियोे ।
त्यस्तै २०७८/०७९ मा ११ खर्ब ८० अर्ब ६० करोड संकलन लक्ष्य रहेकोमा ९०.२४ प्रतिशत, २०७९/०८० मा १४ खर्ब तीन अर्ब १५ करोडको लक्ष्य रहेकोमा ६८.२३ प्रतिशत र २०८०/०८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व लक्ष्य रहेकोमा ७४.५४ प्रतिशत संकलन भएको थियो । चालु आर्थिक वर्ष राजस्व संकलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको छ ।
चालु आर्थिक वर्षको प्रथम चार महिना साउन, भदौ, असोज र कात्तिकमा चार खर्ब छ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य रहेकोमा तीन खर्ब २३ अर्ब २४ करोड अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व संकलन भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १६.८५ प्रतिशतले बढी हो ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत र खर्च व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचरण, अन्तरमन्त्रालय समन्वय, भन्सार बिन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौतीलगायतका पक्ष मध्यनजर गर्दै अघि बढ्न निर्देशन दिनुभयो । उहाँले कर संकलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।
अर्थसचिव डा. रामप्रसाद घिमिरेले राजस्व लक्ष्य पूरा गर्ने गरी अघि बढ्ने बताउँदै राजस्व संकलन रणनीति कार्यान्वयनमा जोड दिनुभयो भने राजस्व सचिव दिनेशकुमार घिमिरेले लक्ष्यलाई ध्यान दिएर थप मिहिनेत गरेर अघि बढ्ने बताउनुभयो । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजस्व संकलन बढे पनि चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहयोग जरुरी रहेको बताउनुभयो । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व संकलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरी ख्याल गर्दै राजस्व लक्ष्य पूरा गर्न आफूहरूले सक्दो पहल गरिरहेको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच