संसद अधिवेशनको लागि सांसदहरु नै तयार देखिनुहुन्न : सभामुख घिमिरे

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले संसद कानून बनाउने थलो भएपनि वर्तमान संसदले कानून बनाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले संसदमा कानून ल्याउँदा सरकारले आफ्नो आवश्यकता,अध्ययन,बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले कानून उत्पत्ति गर्दै सांसदहरुको सहभागिता बनाउने प्रवन्ध गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरुको भुमिकामा निर्भर हुने बताउनु भयो । उहाँले अहिले सांसदहरु नै संसद अधिवेशनको लागि तयार नदेखिएको बताउनु भयो । उहाँले समितिहरुले संसदमा पेस भएका विधेयकहरुलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ संसद कानून बनाउने ठाउँ हो तर कानून बनाउन हामी ढिलै भएका छौं । सरकारकोतर्फबाट कानून मन्त्रीले धेरै महत्वपूर्ण कुराहरु राख्नुभएको छ । विभिन्न तथ्य तथ्याङ्क र अब गर्ने कुरा राख्नुभएको छ तर एउटा नमिलेको कुरा छ । संसदमा कानून ल्याउँदा आफ्नो आवश्यकता,अध्ययन,बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने मात्रै स्थितिलाई अन्त्य गर्न जरुरी छ । कानून उत्पत्ति गर्दै सांसदहरुको संग्लनता कसरी गर्ने हाम्रोमा प्रवन्ध भएको छैन । कानून आयोग छ । कानून आयोगलाई कानूनी अध्ययन गर्ने,संशोधन र नयाँ कानून बनाउने जिम्मा दिएको छ । त्यहाँ बजेटको अभाव भन्नेकुरा छ । कानून आयोगले पनि संसदहरुसँग समन्वय गरेर काम गर्ने प्रवन्ध गरिनुपर्छ । आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषयमा पनि संसदहरुको भुमिकामा निर्भर हुन्छ र हुनुपर्छ । तर सांसदहरु नै त्यो तयार छैनौं । संसदमा पेस भएका विधेयकहरुलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिनसक्छौं । सरकारले बोलाउनु पनि हुन्छ ।’

उहाँले संसदको गरिमा उच्च रहेको र सांसदको भुमिका महत्वपूर्ण रहेको भन्दै सांसदहरुले संसदलाई कम ठानेर नलाग्न संसदहरुलाई आग्रह गर्नुभयो । उहाँले सांसदहरुले आफ्नो उचाईबाट सरकारलाई हेर्न सक्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?