
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई ‘आइटी हब’ बनाउने गरी सरकार आवश्यक तयारीमा लागेको बताउनुभएको छ । शुक्रबार आयोजित ‘आइसिटी अवार्ड-२०२४’ वितरण तथा सम्मान कार्यक्रममा उहाँले सञ्चार मन्त्रालयले प्रत्येक वडा र टोलमा इन्टरनेट पुर्याउने कामलाई तीव्रता दिइरहेको बताउनुभयो । देशका सबै क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा विकास आवश्यक रहेको भन्दै जति सक्दो चाँडो आइसिटी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताउनुभयो ।
नेपाललाई आइटी हबका रूपमा विकास गर्न भएका ऐन र कानुनको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यक ऐन कानुन निर्माणको तयारीमा मन्त्रालय रहेको उहाँको भनाइ थियो । उहाँले पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक, युट्युब, एक्स-ट्वीटर, टिकटक) को सदुपयोगभन्दा दुरूपयोग भएकाले नियमन गर्न सरकार ऐन ल्याउने तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा काठमाडौंको एलआर हाईस्कुल, मोरङको सुकुना सेकेन्डरी स्कुल, ग्लोबल आइएमई बैंक, फुडमाण्डुका सञ्चालक मनोहर अधिकारी र डा. विशेष खनाललगायत आइटी क्षेत्रमा योगदान पुर्याउने १४ संघ-संस्था र व्यक्तिलाई ‘आइसिटी अवार्ड-२०२४’ प्रदान गरिएको थियो । इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड क्रिमसन टेकले जितेको छ । आइटी प्रोडक्ट र इनोभेसनमा सहभागी भएका विगत पाँच वर्षभन्दा पहिले दर्ता भएका कम्पनीले मात्रै सहभागिता जनाउन पाउने व्यवस्था गरिएको थियो तर उक्त विधामा ५० भन्दा धेरैले आवेदन दिएका आयोजकले जनाएको छ । बासियो सर्भिसेज, क्रिमसन टेक, फेन्टासी गेम, जियोभेसन जेपाल र हेल्थ यार्ड आयो प्रालि उत्कृष्ट पाँचमा छनोट भएका थिए ।
त्यसैगरी एसिया फाउण्डेसन सोसल इनोभेसन आइसिटी अवार्डमा जियोकृषि उत्कृष्ट भएको थियो । सामाजिक क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाको सहयोगमा बनेको आइसिटी इनोभेसनमा सहभागी हुन पाउने उक्त विधामा ४० भन्दा बढी नोमिनेसन परेका थिए । त्यसमध्ये इ-कागजपत्र, जियोकृषि, डिजिटल एड्रेसिङ सिस्टम, एलएमसी अलर्ट र सफा नेपाल अन्तिम पाँचमा थिए ।
यस वर्षको आइसिटी अवार्डमध्ये पब्लिक च्वाइस आइसिटी अवार्ड ज्याक सर्भिसेज प्रालिले जितेको छ । उक्त विधाका लागि स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट १०, प्रोडक्ट आइसिटी अवार्डका उत्कृष्ट १३, राइजिङस्टार उत्कृष्ट आइसिटी अवार्डका उत्कृष्ट १२ र सोसल इनोभेसनका उत्कृष्ट १३ कम्पनी प्रतिस्पर्धामा सहभागी भएका थिए । अवार्डको प्रि–इभेन्टका रूपमा आयोजना भएको स्टार्टअप फेस्टमा आफ्नो प्रोडक्ट र इनोभेसन सोकेस गरेका उनीहरूका स्टोरी टेलिभिजनमार्फत् समेत प्रसारण गरिएका थिए । त्यसपछि गरिएको भोटिङमा उक्त कम्पनीले सबैभन्दा धेरै मत पाएर उत्कृष्ट घोषणा भएको हो । अन्य १३ विधाको अवार्डसमेत घोषणा गरिएकोमा आइसिटी प्रोडक्ट अवार्ड विधातर्फ एपिआई म्यानेजमेन्ट सिस्टमले अवार्ड प्राप्त गरेको छ । ४५ कम्पनीको नोमिनेसन परेको थियो । एपिआई म्यानेजमेन्ट सिस्टम, इ–निर्माण, जीकवच, खातापाना वेभ र कोइली उत्कृष्ट भएका थिए । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा यस वर्ष हाइफन एससिएस जिरो उत्कृष्ट भएको छ । सात देशबाट ६० प्रतिस्पर्धीको नोमिनेसन प्राप्त भएकोमा भुटानको एरोटेक, श्रीलंकाको डिजेनिक्स, नेपालको फागुन एआई, पाकिस्तानको हर सहुलन, भारतको हाइफन एससिएस जिरो उत्कृष्ट पाँचभित्र पर्न सफल भएका थिए ।
कृषितर्फ जीयोकृषि उत्कृष्ट भएको छ । स्टार्टअप आइसिटी अवार्ड विधामा यस वर्ष क्रिमसन टेक प्रालि उत्कृष्ट भएको छ । राइजिङस्टार इनोभेसन अवार्डतर्फ स्पिक अप नेपाल उत्कृष्ट भएको छ । उक्त संस्थाले पाँच सय डलरको पुरस्कार राशिसमेत प्राप्त गरेको छ । बाली विज्ञान, डा. फिस, हाइप्रेस, स्पिक अप नेपाल र राइटअन एआई उत्कृष्ट पाँचमा परेका थिए । जसमा कलेज तथा स्कुलबाट विद्यार्थी तथा ३० वर्षभन्दा कम युवाका स्टार्टअपलाई सहभागी गराइएको थियो । एनसेल विमेन आइकन आइसिटी अवार्ड नेपाल बैंक कार्ड तथा डिजिटल बैंकिङ विभागका प्रमुख वन्दना शर्माले पाउनुभएको छ । जसका लागि ४० भन्दा बढीले नोमिनेसन गरेका थिए । विजेता शर्माले एनसेलका तर्फबाट तीन लाख राशिको पुरस्कारसमेत जित्नुभएको छ । आइसिटीको पायोनियर अवार्ड प्राडा सुरेशराज शर्मालाई प्रदान गरिएको छ । उक्त अवार्डका लागि ३० जनाको नोमिनेसन परेको थियो । विदेशमा रहेर आइसिटी क्षेत्रमा योगदान गर्नेका लागि दिइने नेपाल डायस्पोरा आइसिटी अवार्ड नामी बरालले पाउनुभएको छ । युयोर्कमा रहेर स्टार्टअप सञ्चालन गर्दै आउनुभएकी उहाँले सन् २०१८ मा माइक्रोसफ्टको जागिर छोडेर स्टार्टअप सुरु गर्नुभएको थियो ।
इन्टरप्रेनरसिप अवार्डतर्फ फुडमाण्डुका मनोहर अधिकारी उत्कृष्ट हुनुभएको छ । आइटी इञ्जिनियर उहाँले सन् २०१० मा नेपालकै पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म निर्माण गर्नुभएको थियो । प्रोफेसनल एक्सिलेन्ट आइसिटी अवार्ड विधातर्फ विशेष खनालले प्राप्त गर्नुभएको छ । फ्रान्सबाट आइसिटीमा विद्यावारिधि खनाल उत्कृष्ट हुनुभएको हो । सरकारी संस्थाबाट यसपटक सर्वोच्च अदालत उत्कृष्ट भएको छ । जसका लागि नागरिक लगानी कोष, जल तथा मौसम विज्ञान विभाग र सर्वोच्च अदालत उत्कृष्ट तीनमा छनोट भएका थिए । निजी क्षेत्रतर्फबाट डिजिटल सर्भिस आइसिटी अवार्डमा आइएमई पे उत्कृष्ट भएको छ । आइएमई पे, वान बाई मेटलाइफ, एनआइसी एसियाको डिजिटल युनिभर्स उत्कृष्ट तीनमा छनोट भएका थिए ।
निजी र सामुदायिक विद्यालयमा उत्कृष्ट आइटी पठनपाठन गराउनेमध्ये डिजिटल एजुकेसन आइसिटी अवार्ड सामुदायिक विद्यालयतर्फ मोरङको सुकुना मावि उत्कृष्ट भएको छ । निजी विद्यालयतर्फको डिजिटल एजुकेसन आइसिटी अवार्ड एलआरआई स्कुलले जितेको छ ।
प्रत्येक प्रदेशबाट एक-एकजना उत्कृष्ट आइटी कम्पनीसमेत सम्मानित भएका छन् । कोशीमा डेल्टा टेक प्रालि, मधेशमा तेजस टेक प्रालि, बागमतीमा अभियान्त्रिक कर्मशाला प्रालि, गण्डकीमा आकाश डिजिटल प्रालि, लुम्बिनीमा निन्जा इन्फोसिस प्रालि, कर्णालीमा बिजिनेस अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिममा पावर वेस्ट इनोभेसन एण्ड रिसर्च सेन्टर सम्मानित भएका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच