सान्फ्रान्सिस्को । हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले विदेशमा ज्ञान, सीप र परिवारका लागि विभिन्न कारणले पुग्नु भएका तथा बसोवास गर्नुहुने नेपालीहरूले आफूले प्राप्त गरेको अनुभव, ज्ञान र सीप मातृभूमिका लागि केही भए पनि प्रदान गर्नुपर्ने विचार प्रकट गर्नुभएको छ । निजी पारिवारिक भ्रमणमा क्यालिफोर्नियाको सान्फ्रान्सिस्को शहरमा डिसेम्बर २४ देखि २८ सम्मको संक्षिप्त बसाइक्रममा उहाँले सो विचार प्रकट गर्नुभएको हो ।
दाहालले भन्नुभयो, ‘विदेशमा बस्नु हुने र अत्यन्त कडा परिश्रम गरी जीवन निर्वाह गरिरहनु भएका नेपालीहरूले पहिले आफ्नो परिवारको प्रगति, पालनपोषण गर्दै स्वदेशमा विपन्न अवस्थामा रहेका नागरिक परिवारलाई स्वास्थ्य र शिक्षामा सहयोग गर्न सके महत्वपूर्ण योगदान हुने छ । नेपालमा व्याप्त दलीयकरणको राजनीतिक रोगका कीटाणूहरूको संक्रमणबाट मुक्त भएर यहाँका दाजुभाइ दिदीबहिनीहरूको योगदान मातृभूमिका लागि भएमा अत्यन्त परिणाममुखी हुनेछ ।’
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का अध्यक्ष सर्वज्ञराज वाग्ले र नेजस क्यालिफोर्नियाका सभापति नारायण खनालले दाहालको चर्चित उपन्यास शान्ता अंग्रेजी संस्करणलाई समेत क्यालिफोर्नियाका लागि सार्वजनिकीकरण गर्नुभएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष साहित्यकार वाग्लेले शान्ता उपन्यास उत्कृष्ट मानवीय भावनाले ओतप्रोत भएको चर्चा गर्नुभएको थियो । कार्यक्रम उद्घोषणक्रममा युवा कलाकार देवीराम पराजुली (भोकलाग्यो) ले पत्रकारितामा दाहालको योगदान र शान्ता उपन्यासको अन्तर्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा शान्ता उपन्यासकी मूल पात्र शान्ताको समेत उपस्थिति रहेकोमा वक्ताहरूले प्रसन्नता प्रकट गरेका थिए ।
नेपाली व्यवसायीले सञ्चालन गरेको गोर्खा किचेनमा आयोजित सो कार्यक्रममा प्राडा.आमोद पोख्रेल, वरिष्ठ चिकित्सक डा.रमेश आचार्य, समाजसेवी, व्यवसायी हरिहर दाहाल, नेपाली स्वतन्त्रता आन्दोलनका एक सशक्त व्यक्तित्व लक्ष्मीप्रसाद बाँस्कोटा, शिक्षासेवी पदमप्रसाद नेपाल, सञ्चारकर्मी ईश्वरी न्यौपाने, सरोज काफ्ले, दीपक दाहाल, ध्रुव दाहाल, हिमाल श्रेष्ठ, समाजसेवी शिव नेपाल, दीप श्रेष्ठ, किरण पुडासैनी, विनोद महत, रवीन्द्र पोख्रेल, विनोद वाग्ले, रवि आचार्यसहित सो क्षेत्रमा बसोवास गर्ने र कार्यरत शिक्षा, सञ्चार, साहित्य, कलासहित विभिन्न व्यवसायमा सक्रियहरूको उपस्थिति रहेको थियो ।
यो सम्वाददातासँग अनौपचारिक सम्वादक्रममा नेपाली समुदायको अत्यन्त बाक्लो बसोवास रहेको हुनाले साहित्य, संस्कृति, खेलकुद जस्ता कार्यक्रमहरू गरिरहेको जानकारी कलाकार देवीराम पराजुलीले दिनुभएको थियो । पत्रकार तोया दाहालका अनुसार : अनुकूल मौसम, प्रविधि र शिक्षाको हव भएको हुनाले नेपालीहरूको आकर्षण यहाँ अधिक हुने गरेको छ । प्रशान्त महासागरको किनारमा रहेको यो शहरको सुन्दरताले कवि लेखकहरूको मन सदा आकर्षित भइरहने विचार पत्रकार ईश्वरी न्यौपानेको रहेको छ । न्यौपानेका अनुसार नेपालीहरूको सम्बन्ध र सद्भाव विकास गर्न यतिखेर नेपाली सामुदायिक केन्द्रको सक्रियतासमेत रहेको छ ।
सान्फान्सिस्को वे एरियामा नेजस, अनेसास, नेजा, नेपाली कम्युनिटी सेन्टरसहित मुक्तिनाथ धाम जस्ता संस्थाहरू कार्यरत रहेका छन् । यस सम्वाददातसँगको अनौपचारिक सम्वादमा मुक्तिनाथधामका अध्यक्ष अनिल पाण्डेले पूर्वीय दर्शन संस्कृतिलाई जीवन्त तुल्याउन, आफ्नो मातृभूमिलाई स्मरण गर्न र मुक्तिनाथ धामका माध्यमले नेपालको अत्यन्त प्राचीन मुक्तिनाथ तथा अन्य धार्मिक सांस्कृतिक क्षेत्रको पर्यटन प्रबद्र्धनसमेत गर्न सकिने बताउनु भएको छ ।
पाण्डेको मातृभूमिप्रति समर्पित संस्थासमेत कार्यरत छ । अनिल पाण्डे तेल भिसा नामक चर्चित सिनेमाका प्रबद्र्धक तथा कलाकार पनि हुनुहुन्छ । शिक्षासेवी पूर्वशिक्षक पदमप्रसाद नेपालको विचारमा नेपालीहरूले प्राविधिक विज्ञता हासिल गर्न यहाँको शिक्षाका अनेक पक्ष अनुकरणीय रहेका छन् । पत्रकार सरोज काफ्ले र शिव नेपालले दिनुभएको जानकारी अनुसार विश्व साइकल यात्री चर्चित नेपाली सपुत पुष्कर शाहीको घुँडाको वैज्ञानिक अनुसन्धान यही हुनेभएको छ र उहाँ यसैका लागि सान्फ्रान्सिस्कोमा हुनुहुन्छ । यो सम्वाददातासँग संक्षिप्त भेटमा पुष्कर शाहीले भन्नुभयो, ‘हामी नेपालीहरू धेरै कुरामा संसारभन्दा पछाडि छौं ।’
डा.रमेश आचार्य र प्राडा.आमोद पोख्रेल स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र आमनागरिकमा सहज पु¥याउनसके देशको विकास हुने धारणा राख्नुहुन्छ । उहाँहरूको अनुभवमा अमेरिकीहरूको विकासको आधार शिक्षा र स्वास्थ्य नीतिमा समेत देखिएको छ ।
क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा नेपाली व्यवसायीहरू प्रशस्त छन् । हरिहर दाहाल पनि व्यवसायी भएर काम गरिरहनु भएको छ । तर, असाध्य महँगो शहर हो यो ः उहाँको अनुभव छ । माओवादीले पिताजीको हत्या गरेपछि अमेरिका आउनुभएका हरि भट्टको व्यावसायिक अनुभव पनि यस्तै छ । उहाँहरू दुवैको रेष्टुरेन्ट व्यवसाय छ । यही प्रसंगमा ओखलढुंगाबाट माओवादीको यातनामा परेका प्रजातान्त्रिक योद्धा लक्ष्मी बाँस्कोटा भन्नुहुन्छ, ‘विदेश पलायन र श्रमवजारमा नेपालीहरूलाई जान बाध्य पार्नेहरू सत्तामा आए पनि कुनै परिवर्तन नगर्दा पलायनको आकार अझ बढ्दै गएको छ ।’
तैपनि नेपाली साहित्य, संस्कृति र माटोप्रतिको ममता यथावत् छ : युवा व्यवसायी प्रसुतको निष्कर्ष छ । युवा व्यवसायी प्रसुत पनि नेपाललाई विदेशमा बस्नेहरूबाट सहयोग गर्न सकिने वातावरण बनेको हेर्न चाहन्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच