काठमाडौं । चार श्रीमतीको नाममा सम्पत्ति लुकाएको आरोप लागेका सुरेश अधिकारीको मुद्दामा सर्वोच्च अदालतले फाइल झिकाउने आदेश गरेको छ । यातायात व्यवस्था कार्यालयमा रहेर ६१ करोड बराबर अकुत सम्पत्ति आर्जन गर्दै चार श्रीमतीको नाममा लुकाएको आरोप लागेका अधिकारीको मुद्दामा सर्वोच्चले फाइल झिकाउने आदेश गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको इजलासले विशेष अदालत र अख्तियार तथा अन्य सरोकारवाला निकायबाट फाइलसहित अन्य विवरण मगाउने आदेश गरेको हो ।
जनताबाट उठाएको राजस्व आफ्नै खातामा जम्मा गरी भ्रष्टाचार गर्ने यातायात व्यवस्था कार्यालय कोशी इटहरीका तत्कालीन लेखापाल अधिकारीविरुद्ध २०७४ असारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । अख्तियारले तत्कालीन समयमा उहाँसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुखसहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ बिगो माग गरेको थियो ।
इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आउनुभएका अधिकारीले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अख्तियारको अनुसन्धानका क्रममा पाइएको थियो । अधिकारीको व्यक्तिगत खातामा पाँच करोड र अन्य श्रीमतीको नाममा राखेको दाबी अख्तियारले अभियोग पत्रमा गरेको थियो । विशेषले उहाँलाई दोषी ठहर गरेको थियो ।
थुनामा रहेर माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउनुपर्ने दाबी
विशेषको निर्णयलाई चुनौती दिँदै उहाँ सर्वोच्च पुग्नुभएको थियो । उक्त मुद्दामा विस्तृत संवैधानिक व्याख्या गर्नुपर्ने भएपछि पाँच न्यायाधीशको बृहतपूर्ण इजलासमा पुगेको थियो । उहाँका चार श्रीमतीमा दुर्गा अधिकारी, दीपा श्रेष्ठ अधिकारी, सुस्मिता अधिकारी र सोममाया श्रेष्ठका नाममा सम्पत्ति लुकाएको दाबी अख्तियारले गरेको थियो ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ को सुविधा माग गर्दै उहाँ २०८० माघमा सर्वोच्च पुग्नुभएको थियो । संहिताको उक्त दफामा थुनामा रहेर माथिल्लो अदालतमा पुनरावेदन गर्न पाइने उल्लेख छ । उहाँले उक्त दफाको सुविधाअनुसार थुनाबाहिर रहेर सर्वोच्चमा पुनरावेदनको माग गर्नुभएको छ ।
लेखापाल अधिकारीले इटहरी, काठमाडौं र विराटनगरमा घर जोडेको पाइएको थियो । उहाँको इटहरीमा एक, विराटनगरमा दुई र काठमाडौंमा एउटा सुविधा सम्पन्न घर भएको पाइएको थियो । उहाँले सवा करोड मूल्य पर्ने टोयटाको फर्चुनर गाडी चढ्दै आउनुभएको अनुसन्धानमा खुलेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच