✍️ तिलकप्रसाद लुइँटेल
येनकर्माण्यपसोमनीषिणयज्ञेकृण्वन्तिविदथेषु धीराः ।
यदपूर्वयक्षमन्तः प्रजानान्तन्मे मनः शिवसङ्कल्पमस्तु ।१.६।
कर्महरूमा संलग्न धीर मनीषीहरू यज्ञमा जुन मनले कर्महरू सम्पादन गर्छन् त्यो अपूर्व र अविरल छ । प्रजाहरूका लागि मेरो त्यही मनले कल्याणको सङ्कल्प गरोस् ।
अष्टाध्यायी रुद्रीको पहिलो अध्यायको छैटौं मन्त्र यही हो । यजुर्वेद संहिताको ३४औं अध्यायको २औं मन्त्र पनि यही हो । वेदमा यस मन्त्रका ऋषि शिवसंकल्प हुन् भन्ने छ । यी मन्त्रको साक्षात्कार गरेपछि कुनै ऋषिको नाम नै शिवसंकल्प भएको पनि हुन सक्छ र यहाँ त्यही नाम उल्लेख भएको पनि हुनसक्छ । अथवा ऋषिको नाम नै त्यही थियो र आफ्नै नाम अनुसारको भावना मन्त्रमा प्रकट भएको हुनसक्छ । यहाँ ६ वटा मन्त्रका अन्तमा शिवसंकल्पमस्तु नै छ ।
जे जसो भए पनि उनै शिवसंकल्प ऋषिबाट यस मन्त्रको साक्षात्कार र उच्चारण भएको मानिन्छ । यस मन्त्रका देवता मन हुन् भनिएको छ । यहाँ विचार गर्दा ऋषि वा मानिसको स्थान असल संकल्पकर्ता र उसको असल मन देवता भन्ने स्पष्ट हुन्छ । यस मन्त्रको छन्द त्रिष्टुप् हो । त्रिष्टुप् छन्दलाई तीन ताप शमन गर्ने मानिएको छ । त्रिष्टुप् छन्दमा ११ अक्षरका दरले चार पंक्ति हुन्छन् र जम्मा ४४ अक्षर हुन्छन् । अक्षर र पद संख्याका आधारमा त्रिष्टुप्का अरू पनि भेद छन् ।
मानिसबाहेकको प्राणी जुन परिवेशमा जसरी जन्मियो ऊ त्यहीँ त्यसरी नै बाँच्न सक्छ । मानिसलाई जन्मने बित्तिकै बाँच्न पनि सहयोगी चाहिन्छ । त्यसैले मानिस सामाजिक हो । सामाजिक बन्न पनि उसले सिक्नुपर्छ । नसिकीकन मानिसले केही जान्दैन र सिकेपछि नजान्ने कुरो केही छैन ।
मन्त्रमा सबैभन्दा पहिले कर्मका विषयमा उल्लेख छ र कर्म मानिसले नै गर्छ । अझ भनौं भने मानिसको जीवन कर्ममय हो । मानिसले आजीवन केही न केही कर्म गर्नु नै पर्छ । ‘न हि कश्चित् क्षणमपि जातु तिष्ठत्यकर्मकृत्’ अर्थात् मानिस कुनै क्षणमा पनि कर्म नगरीकन रहँदैन भन्ने भनाइ शास्त्रको वचन भएरमात्रै सत्य मानिएको होइन । यो त व्यावहारिक रूपमै सत्य हो । मानिसका जीवनलाई हेर्ने हो भने बिहानदेखि बेलुकासम्म र जन्मदेखि मृत्युसम्म कर्म नगरी नबाँच्ने रूपमा निर्माण भएको छ । त्यस्तो रूपमा ईश्वरले सृष्टि गरे भनौँ वा प्रकृतिले बनायो भनौँ तर सत्य चाहिँ मानिस कर्मशील नै छ ।
किनभने मानिस बाहेकको प्राणी जुन परिवेशमा जसरी जन्मियो ऊ त्यहीँ त्यसरी नै बाँच्न सक्छ । मानिसलाई जन्मने बित्तिकै बाँच्न पनि सहयोगी चाहिन्छ । त्यसैले मानिस सामाजिक हो । सामाजिक बन्न पनि उसले सिक्नुपर्छ । नसिकीकन मानिसले केही जान्दैन र सिकेपछि नजान्ने कुरो केही छैन । यद्यपि एउटै मानिसले संसारका कुरा सिक्न सक्छ भन्ने होइन, उसको उमेर र अवसर अनुसारको सिक्दै जाँदा कोही कुनै पक्षमा पोख्त हुन्छ त कोही कुनै अर्कै क्षेत्रमा । फेरि ती सबैका सबै कर्मको सम्बन्ध संसारका अरू मानिससँग हुन्छ ।
मानिसलाई बाँच्नका लागि साधन चाहिन्छ । अघिल्ला मन्त्रमा पनि रथ, लगाम आदि साधनको कुरो आइसकेको छ । साधन भएपछि नसिकीकन चलाउन जानिँदैन । जीवन निर्वाहका लागि सिक्नै पर्छ र निर्वाहका कुरा सिक्तै जाँदा उसले अरू पनि सिक्छ । मानिसका जीवनमा विधि र साधनाको महत्व जति छ, साधन वा प्रविधिको पनि उति नै छ । अझ भन्ने हो भने शरीरयात्राका लागि साधन अपरिहार्य छ । सबै मानिस साधनजीवी र त्यसैभित्र साधनाजीवी पनि हुन्छन् भन्न सकिन्छ ।
बुद्धिको अर्को नाम मनीषा हो । मानिससँग चाहे साधना सिक्ने वा साधन सिक्ने तत्परता जसबाट आउँछ त्यो बुद्धि वा मनीषा नै हो । जसले बुद्धिलाई उच्च स्तरमा पुग्ने गरी सिकेको छ, उही मनीषाको स्वामित्व भएको मनीषी हो । मनसँग नै मनीषी शब्दको सम्बन्ध छ । मनको शक्ति अति उच्च स्तरमा पुगेपछि ऊ मनीषी हुन्छ । मन्त्रमा उल्लेख भएका मनीषीहरू मनको शक्ति उच्च गराएका वा बुद्धिले स्वामित्व ग्रहण गर्न सक्ने स्तरमा पुगेका हुन् भन्न सकिने अवस्था छ ।
मनीषीहरूले पहिलेबाटै कर्मतन्तु स्थापना गरे, विस्तार गरे र पछि आउनेहरूले त्यसलाई लगाम लगाएर रथको मार्ग पहिल्याए झैँ लिएर आए भन्ने त अघिल्लो मन्त्रमा पनि आयो । ठूलो परिणाम आउने सिंगो कर्म पूरा गर्न थालनी र त्यसलाई परिपुष्ट गर्ने कर्म नै गर्नुपर्ने हुन्छ । जस्तै घर बनाउँदा एउटा कर्म पूरा हुन्छ । त्यसका लागि सरसामान जुटाउनु त्यही कर्मको उद्देश्यले गरिएको सहायक कर्म हो । पिल्लर खम्बा ठड्याउने, गारो लगाउने, ढलान गर्ने यी सबै एउटा कर्मका नै पूरक कर्महरू हुन् । यो एउटा घर बनाउने उदाहरण सानो कामको भयो ।
यसरी राज्य निर्माणका काममा पनि, मानिसको समाजलाई व्यवस्थित गर्ने काममा पनि अनेकौं सानातिना कामहरूको संयोजन नै भइरहेको हुन्छ भन्ने सधैं देखिएकै कुरा हो । जसरी अनेकौं अंगहरू, व्यवस्थाहरूसँगै मन बुद्धिले सम्पन्न भएपछि हाम्रो शरीर बन्छ भन्ने अघिल्ला मन्त्रमा आयो उसरी नै राज्यका ठूला कामहरू पनि नाना प्रकारका सानातिना कामहरूको संयोजनबाट एउटा सफल परियोजनाका रूपमा सम्पन्न हुन्छ । समिधा जुटाउने, नाना किसिमका भाँडा र यज्ञ साधन भेला गरेर चरु आदि हव्य पदार्थ तयार गर्ने र विधिपूर्वक हवना आदि कर्महरू गरेर ऋषिहरूले यज्ञ पूरा गरेको मानिन्छ र त्यो परम्परा अझै छँदै छ ।
राज्यमा जनकल्याणका लागि गरिने सबै थरी ठूला कर्महरूलाई यज्ञका रूपमा हेर्न सकिन्छ । यसका आधारमा राज्य वा समाजको निर्माणको सुरुवात पूर्वसमयका विज्ञहरूबाट भयो । जुन क्षेत्रका कर्मको थालनी जोबाट भयो, त्यस क्षेत्रका ऋषि उनीहरू नै हुन् ।
उसरी नै राज्यमा जनकल्याणका लागि गरिने सबै थरी ठूला कर्महरूलाई यज्ञका रूपमा हेर्न सकिन्छ । यसका आधारमा राज्य वा समाजको निर्माणको सुरुवात पूर्वसमयका विज्ञहरूबाट भयो । जुन क्षेत्रका कर्मको थालनी जोबाट भयो, त्यस क्षेत्रका ऋषि उनीहरू नै हुन् र तिनको परम्परा बलियो रूपमा अगाडि आयो यज्ञपरम्परा स्थापित भएको मान्न सकिन्छ ।
माथि पनि चर्चा भएको छ, कुनै एउटा कर्म पूरा गर्नुपर्दा त्यसको तयारीका लागि पनि कर्म नै गर्नुपर्छ । खाना पाक्यो भन्नका लागि त्यसको तयारीमा रहेका अनेकौँ कामहरू पूरा भएपछि बल्ल खाना तयार भएको बुझिन्छ । ती पूरक कर्महरू भइरहेको अवधिमा बाधा व्यवधान पनि आउन सक्छन् । जस्तै धेरै दिनको वनको बाटो हिँड्ने यात्रीहरूलाई भोक लाग्यो र खाना बनाउने रहर गरे । आगो, भाँडाकुँडा, खाद्यान्न उनीहरूसँग थिए, दाउरा वनमा भेटिए । खाना बनाएर खाने रहर गरी चुलोचौको तयार गरे तर वरिपरि कतै पानीको स्रोत पाइएन भने कसो गर्ने ?
त्यसरी नै घर बनाउन लाग्दा आवश्यक पर्ने कुनै एउटा सामग्रीको अभाव भयो भने पनि सम्भव त हुँदैन । एउटा सानो वस्तुको उदाहरण हो यो, कर्म सफल गर्नमा यसरी बाधा आउँछन् । त्यसरी आएका बाधालाई समाधान गर्ने एउटा शक्ति हो धैर्य । जोसँग धैर्य छ उही धीर हो । चाहे दैवी यज्ञ होस् वा व्यावहारिक अन्य कर्महरू सबैले धैर्यलाई अपेक्षा गर्छन् । ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने पनि यस्तै अवस्थाका लागि हुनुपर्छ । पूर्ण सफलता हातमा नआएसम्म कर्मको फल भविष्यकै गर्भमा हुन्छ र कर्मशृंखलाबाटै एक पूर्ण कर्म हुन्छ ।
कर्मको चिन्तन गर्ने वा कर्मका लागि प्रेरित हुने मन नै हो । जुन कर्म जसले गर्छ त्यो अपूर्व नै हुन्छ । लोकभाषामा अपूर्व भनेर सबैभन्दा राम्रो भन्ने अर्थ लाग्छ तापनि पनि अपूर्व भन्ने शब्दको अर्थ पहिले वा पूर्वमा नभएको भन्ने हो । सूर्य दिनदिनै उदाएको र अस्ताएको हामीले सधैं देखेकै छौं । त्यसरी नै हामी दैनिक भोजन गर्छौं, राति सुत्छौँ र भोलिपल्ट बिहान उठ्छौं । यी दैनिक कर्म सधैं भएका हुन्, त्यसैले अपूर्व भन्न मिल्दैन भन्ने अर्थ लाग्ला ।
तर, विचारेर हेरौं, विगतको समय व्यतीत भइसक्यो, हिजोको कर्म हिजै वा अघिको कर्म अघि नै सकियो । यो जुन यसबेला गरिँदै छ, त्यो स्वयं नै नवीन छ । वेदमा पनि सूर्य दिनदिनै नयाँ भएर उदाउँछन्, हरेक दिन नयाँ उषा आउँछिन् भनेको छ । त्यसैले शुभ संकल्प मनले गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच