एक लेखकका चार किताब

Read Time = 16 mins

✍️ तिलकप्रसाद लुइँटेल
मातातीर्थ औँसी, अर्थात् २०७९ वैशाख १७ का दिन राष्ट्रिय सुसेली मञ्च नेपालको तेस्रो वार्षिकोत्सव थियो । स्रष्टा र द्रष्टा साहित्यकार धेरैको ओइरो लागेको थियो । निकै ठूलो हल मज्जैले भरिएको थियो । सुसेलीको लामो कार्यक्रम भइरहँदा यस पंतिकारले त्यस दिन पूरै समय त्यहीँ दिएको थियो । कार्यक्रमको समाप्ति हुने हुने बेलामा पाल्पाली लेखिका कमला देवकोटाले चारवटा किताब हातमा दिनुभयो ।

चारवटा कृतिमा पहिलो ‘आमाको सम्झनामा दुई थोपा आँसु’ नामको छ । यस खण्डकाव्यका प्रकाशकमा प्रा.डा.हरिहर शर्मा खनालको नाम लेखिएको छ । दुई हजार चौहत्तर सालमा छापिएको यस कृतिको मूल्य एक सय पचास रुपैयाँ छ । माधव घिमिरे, मोदनाथ प्रश्रित र गोपीकृष्ण शर्माले अग्रभागमा शुभकामना दिँदै विचार राखेको यस कृतिमा आत्मनिवेदन शीर्षकमा लेखकीय भनाइ छ ।

यसपछि पृष्ठ २१ मा आमाको सम्झनामा दुई थोपा आँसु शीर्षकका रूपमा राखेर पृष्ठ २३ देखि पृष्ठ ४१ सम्म आमाको वियोगका ६६ वटा चार हरफे कविता शीर्षक अनुसार सुहाउँदो गरी आएका छन् । पृष्ठ ४२ मा प्यारो भाइ श्रद्धाञ्जलि तिमीलाई (साहिँला भाइ बाबुराम) शीर्षकमा सुरु भएका छन् र २६ वटा चार हरफे कविता पृष्ठ ४९ मा पूरा भएका छन् । प्यारो कान्दाइ श्रद्धाञ्जलि छ तिमीलाई (श्यामकृष्ण खनाल) शीर्षक पृष्ठ ५० मा छ र पृष्ठ ५७ मा ४७ वटा चार हरफे कविता पूरा भएका छन् ।

त्यसपछि (मेरा पिता पण्डित लेखनाथ शर्माले आफ्नी जीवन संगिनी मेरी आमाको जीवनचर्या बारे लेख्नुभएको संक्षिप्त जीवनी) भन्ने जानकारी पृष्ठ ५८ मा राखेर पृष्ठ ५९ बाट लेखनाथ शर्मा रचित कविता सुरु हुन्छन् र ती कविताको समाप्ति पृष्ठ ६३ मा भएको छ । यसरी पुस्तकको समाप्ति भयो । आवरणको भित्री भागमा स्व.श्यामकृष्ण शर्मा खनाल र स्व.बाबुराम शर्मा खनालका फोटोमा श्रद्धाञ्जलि अर्पण गरिएको छ । आवरणको अन्तिम पृष्ठमा लेखक कमला देवकोटाको परिचय छ । समग्रमा पुस्तक पठनीय छ । श्रद्धाञ्जलिका अन्तरालमा कथनहरू दार्शनिक चेतना र नैतिक ज्ञानले भरिपूर्ण छन् ।

पाल्पाली ढाका र करुवा राखेर सजाइएका आवरणका तल कमला देवकोटा लेखिएको दोस्रो कृति, दुई हजार चौहत्तर सालमा छापिएको, मूल्य दुई सय उनान्सय रुपैयाँ रहेको मेरो पाल्पा तानसेन हो । यसै आवरणको भित्री भागमा पाल्पा जिल्लाको मानचित्र छ र त्यसमा जिल्लाका मुख्य स्थान संकेत भएका छ । विधाका रूपमा यसलाई खण्डकाव्य नै उल्लेख छ । माधव घिमिरे, मोदनाथ प्रश्रित र गोपीकृष्ण शर्माले अग्रभागमा शुभकामना दिँदै विचार राखेको यस कृतिमा पाल्पा तानसेनबारे मेरो दृष्टि शीर्षकमा लेखकीय भनाइ लेख्ता लेख्तै पृष्ठ २८ पूरा भएका छन् ।

मेरो पाल्पा तानसेन शीर्षक राखेर पृष्ठ २९ देखि थालिएका चार हरफे कविता १५३ वटा कविता पृष्ठ ७९ मा पूरा भएका छन् । पृष्ठ ८० मा पाल्पा जिल्लामा मनाइने जात्रा र मेलाहरू शीर्षकमा अति उपयोगी हुने गरी पाल्पाको सांस्कृतिक परम्परागत सामान्य ज्ञान राखिएको छ । पृष्ठ ८१ देखि पृष्ठ ८८ सम्म र त्यसपछि आवरणको भित्री पृष्ठमा समेत पाल्पाका दर्शनीय स्थलहरूका आकर्षक चित्रहरू राखिएको छ । आवरणको अन्तिम पृष्ठमा लेखक कमला देवकोटाको परिचय छ । पाल्पाका विषयमा धेरै कुराहरू स्वतः जानिने हुनाले यो पुस्तक सबैका लागि पठनीय छ ।

कमला देवकोटाद्वारा त्यस दिन प्राप्त गराइएको तेस्रो किताब मुसाको अक्कल बालकथा संग्रहका बाहिरी आवरणमा पुस्तकको नाम, विधा, राष्ट्रिय पोसाकमा दुई बालक, एउटा सेतो मुसो र त्यसका तलतिर लेखिकाको नाम छ । विविध रङहरूको सम्मिश्रणमा नीलो बाहुल्य रहेको, बाहिरी आवरण सुन्दर छ । आवरणकै कारण पुस्तक सुन्दर देखिएको छ । दुई हजार चौहत्तर सालमा छापिएको, गौरी पब्लिक रिलेसन एन पब्लिकेसन काठमाडौं, नेपाल प्रकाशक रहेको, व्यक्तिगत मूल्य पच्पन्न रुपैयाँ र संस्थागत मूल्य पन्चानब्बे रुपैयाँ तोकिएको यस पुस्तकमा डा.शैलेन्दुप्रकाश नेपालको शुभकामना छ । त्यसपछि लेखिकाले मेरो भनाइ शीर्षकमा आफ्नो भनाइ राखेर प्रकाशकीय लेख गौरी पब्लिक रिलेसन एन पब्लिकेसनका अध्यक्ष दामोदर ढकाल ‘दीपक’ को छ । पुस्तकको विषयसूचीमा सातवटा बालकथाको शीर्षक छ ।

पहिलो कथा अनौठो जीवमा लाटोकोसेराको फोटो छ । पृष्ठ सातबाट सुरु भएर त्यो कथा पृष्ठ ११ मा सकिएको छ । दोस्रो कथाको शीर्षक डर छ । गाईको लैनो बाछो र खस्रे भ्यागुताको चित्र भएको त्यो कथा पृष्ठ १२ बाट सुरु भएर पृष्ठ १४ मा सकिएको छ । हात्ती, जिराफ, बाघ, जेब्रालगायत विविध पशु र कमिलाको ताँतीसमेत चित्रमा रहेको र पृष्ठ १५ बाट सुरु भएको तेस्रो कथा सानो भनी हेला नगर्नू शीर्षकमा छ र त्यस कथाको समाप्ति पृष्ठ १८ मा भएको छ ।

दायित्व शीर्षकको चौथो कथा पृष्ठ १९ मा सुरु भएको छ । यसमा स्कुल भनेर चिनाउने बोर्ड टाँगिएको घर छ, त्यस बोर्डको मास्तिर घडी छ, त्यसकै तल स्कुलकै पोसाकमा दुईजना सफा सुग्घर, ससाना बालबालिका छन् । सँगै अर्को चित्र पनि छ । त्यसमा चाहिँ चारभन्दा बढी संख्यामा, फोहोरी जस्ता, धुलोमाटोमा गुच्चा खेल्दै गरेका, अलिक हुर्किनै लागेको जस्तो लाग्ने केटाहरू छन् र यो कथा पृष्ठ २१ मा सकिएको छ ।

सहयोग शीर्षकको कथा पाँचौं हो र यो कथा पृष्ठ २२ मा सुरु भयो । सुरुमा एक जोडी फिस्टाका बचेराको र अर्को एक जोडी जुरेलीको चित्र छ र कथाको समाप्ति २४ पृष्ठमा भएको छ । भारतबहादुर शीर्षक भएको छैटौं कथाको सुरु २५ पृष्ठमा भएको छ र सुरुमा दुईजना बालकको चित्र छ । बालकहरूमा एकजना अभिभावको संरक्षा सुरक्षा पाएको, स्वस्थ जस्तो देखिन्छ भने अर्को बालक अभिभावकत्व नपाएको, अस्वस्थ जस्तो लाग्छ । यस कथाको समाप्ति २७औं पृष्ठमा भएको छ । सातौं र यस किताबको अन्तिम कथा २८औं पृष्ठमा सुरु भएको छ । कथाको शीर्षक मुसाको अक्कल छ ।

यसै कथाको शीर्षकबाटै पुस्तकको नामकरण भएको छ र यो कथा पृष्ठ ३१ मा समाप्त हुँदा पुस्तकको समाप्ति पनि भएको छ भन्न सकिन्छ किनभने पुस्तको ३२औं पृष्ठ खाली छ । पुस्तकमा समावेश भएका कथाहरू रोचक छन् र शीर्षक एवं तस्वीर देखेपछि नै कथावस्तुमा पाठकको उत्सुकता बढ्छ । भाषाशैली बाल बालिकालाई सुहाउँदो छ । आवरणको भित्री पृष्ठ पनि खाली छ । आवरणको अन्तिम पृष्ठमा लेखक कमला देवकोटाको परिचय छ ।

उपहार स्वरूप त्यस दिन कमला देवकोटाद्वारा प्राप्त भएको चौथो किताब आशीर्वाद हो । बालकविता संग्र्रहका बाहिरी आवरणमा पुस्तकको नाम, विधा, एक बालकका निधारमा टीका लगाइरहेको हात देखिन्छ र त्यसका तलतिर लेखिकाको नाम छ । विविध रङहरूको सम्मिश्रणमा रातो बाहुल्य रहेको, बाहिरी आवरण सुन्दर छ । आवरणकै कारण पुस्तक सुन्दर देखिएको छ । दुई हजार चौहत्तर सालमा छापिएको, गौरी पब्लिक रिलेसन एन पब्लिकेसन काठमाडौं, नेपाल प्रकाशक रहेको, व्यक्तिगत मूल्य पच्पन्न रुपैयाँ र संस्थागत मूल्य पञ्चानब्बे रुपैयाँ तोकिएको यस पुस्तकमा डा. शैलेन्दुप्रकाश नेपालको शुभकामना छ । त्यसपछि लेखिकाले मेरो भन्नु शीर्षकमा आफ्नो भनाइ राखेर प्रकाशकीय लेख गौरी पब्लिक रिलेसन एन पब्लिकेसनका अध्यक्ष दामोदर ढकाल ‘दीपक’ को छ ।

पुस्तकको विषयसूचीमा अठारवटा बालककविताका शीर्षक छन् । विषयसूचीमा क्रमसंख्या २ छुटेको र १६ दोहोरिएको छ । त्यसैले विषयसूचीको क्रमसंख्या सच्याएर पढ्नुपर्ने देखिन्छ । किताबको सातौं पृष्ठमा पहिलो कविता कलमको जादु रहेको छ । यस कवितामा लेख्न लागेको कलमको चित्र छ । बालबालिकाको आहृवान गीत शीर्षकको दोस्रो कविता नवौं पृष्ठमा सुरु भएको छ र यसमा विदेश जान लागेका बाबाको फोटो देखाइएको छ र बालबालिकाले बाबाआमासँग साथमा बस्न रुचाएको भाव छ । तेस्रो कविता आज बालदिवस शीर्षकमा पृष्ठ ११ मा सुरु भएको छ । यस कविताको सुरुमा बालबालिकाले बालदिवस मनाउने र्‍यालीमा हातमा झण्डा व्यानर बोकेर सहभागी भएको फोटो छ ।

चौथो कविता तिमी हौ कर्णधार शीर्षकको पृष्ठ १३ मा छ । कवितामा धेरै खालका समाजका ससाना धेरै बालबालिका देखिएका छन् । अघि बढ शीर्षकको पाँचौं कविता पृष्ठ १४ मा छ । यस कवितामा फोटो राखिएको छैन । कक्षाको कालो पाटीमा शिक्षकले बालबालिका पढाउँदै गरेको र घरमा आमाले नानीलाई पढाउँदै गरेका दुई चित्र भएको शिक्षा लेऊ शीर्षकको छैटौं कविता पृष्ठ १५ मा छ ।

हाम्रो देश शीर्षकको १७औं पृष्ठमा रहेको सातौं कविताका सुरुमा नेपालको नक्सा छ । यस नक्सामा पछिल्लो समयको लिपुलेक, लिम्पियाधुरा आदि जनाउने चुच्चो देखिँदैन तापनि कविताले राष्ट्रिय भावना जागृत गराएकै छ । राष्ट्रिय झण्डा शीर्षकको आठौं कविता पृष्ठ १९ मा राष्ट्रिय झण्डाको चित्रसँगै छ । शीर्षकबाटै राष्ट्रिय भावको कविता भन्ने थाहा पाइन्छ । नवौं कविता मेरी प्यारी बहिनी शीर्षकमा २१ पृष्ठमा छ । सुन्दर स्वस्थ र परिपुष्ट सानी नानीको फोटो यस कवितामा छ । वातावरण जोगाऔं शीर्षकको दशौं कविता पृष्ठ २३ मा छ ।

यसको थालनीमा केही मानिसहरूले बोटबिरुवा रोपेको चित्र रहेको छ । बालबालिकालाई बिरुवा भन्नु वा बिरुवा पनि हाम्रै बालबालिका समान हुन् भन्ने भावना जागृत गराउन यो फोटो सक्षम देखिन्छ । बालबालिकालाई सामान्य ज्ञानका लागि उपयोगी एघारौं कविता अंग्रेजी महिना शीर्षक भएको चौबीसौं पृष्ठमा, बाह्रौं कविता बाह्र महिना शीर्षकको र तेह्रौं कविता सातबार शीर्षक भएको पच्चीसौं पृष्ठमा छन् ।

छब्बीसौं पृष्ठमा रहेको, एकदेखि सय शीर्षकको चौधौं कविता गन्ती सिक्ने बालबालिकालाई रमाइलो छ । उसरी नै अठ्ठाईसौं पृष्ठमा रहेको, कदेखि ज्ञसम्मको रमाइलो शीर्षकको कविता रमाइलो गरी गाउँदै बालबालिकाले अक्षर सिक्न सहयोगी छ । पृष्ठ तीसमा सिकौं शीर्षकको सोह्रौं कविताले ठूलो हिसाबका गन्ती र व्यावहारिक रूपमा जान्नुपर्ने कुराहरू सिकाउँछ । उसै पृष्ठको सत्रौं कविता के के भयो कहिले कहिले शीर्षकमा नेपालमा भएको बेला बेलाको दुःखद् मानवीय क्षतिबारे जानकारी गराइएको छ । अन्तिम अर्थात् अठारौं कविता पृष्ठ बत्तीसमा छ । कविताको शीर्षक आशीर्वाद छ ।

यसै कविताको शीर्षकबाटै पुस्तकको नामकरण भएको छ र यो कविता समाप्त हुँदा पुस्तकको समाप्ति पनि भएको छ । पुस्तकमा समावेश भएका कविताहरू रोचक र सुन्दर छन् । शीर्षक एवं तस्वीर देखेपछि नै कविताले भन्न खोजेको कुरामा पाठकको उत्सुकता बढ्छ । भाषाशैली बाल बालिकालाई सुहाउँदो छ । आवरणको भित्री पृष्ठ पनि खाली छ । आवरणको अन्तिम पृष्ठमा लेखक कमला देवकोटाको परिचय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?