माता शारदाका वरदपुत्र श्रद्धेय गुरुले आज महाप्रस्थान गरेको तस्रोहप्ता हुन लागेको छ । विसं २०६० सालमा रुरु संस्कृत विद्यापीठमा अध्ययन गर्दै गर्दा हातमा परेको काव्यदीपिका ग्रन्थको अनुवादकको रूपमा यौवनकालको तस्वीरमा प्रथमपटक दर्शन दिनुभएका प्राडा.वेणीमाधव ढकाल गुरुको अब भौतिक दर्शन पाउने छैनौं । विद्वता र विनम्रताका एकीकृत स्वरूप गुरुले विसं २०८१ वैशाख १८ गते आफ्नो नश्वर शरीर त्याग गरी अनन्तः बैकुण्ठ यात्राको महाप्रस्थानमा लाग्नुभयो । श्रीमद्भागवत सप्ताह यज्ञमार्फत् शास्त्रीय विधिले भागवत कथा श्रवण गरी आमशिष्य एवं धर्म मुमुक्षुहरुलाई आफ्नो श्रीमद्भागवत महापुराण नेपाली भाषा अनुदित कृति प्रदान गरेर एकहप्तामै उहाँले बैकुण्ठ गमन गर्नुभएको छ । जन्मेपछि मृत्यु स्वभाविक हो । ‘न हन्यते हन्यमाने शरीरे’को सिद्धान्तलाई सहस्र अंगीकार गर्ने हामीले गुरुको नश्वर शरीरको त्यागलाई स्वभाविक मान्नै प-यो ।
हालको ऋब्दिकोट गाउँपालिका–६ पौरखनी, पाल्पामा विसं २००४ साल पौष ११ गते माता दिव्यलक्ष्मी ढकाल र पिता चूडामणि ढकालका कोखमा दोस्रो सन्तानका रूपमा वेणीमाधव ढकालको जन्म भएको थियो । नेपालको पश्चिमी भेगका सर्वमान्य पण्डित स्थानेश्वर नेपाल, मीनप्रसाद नेपाल र माधवप्रसाद देवकोटाका छत्रछाँयामा आफ्नो बाल्यवयको औपचारिक अध्ययन पूरा गर्नुभएका प्राडा ढकालले गुरुहरुकै प्रेरणा र मार्गनिर्देशनमा औपचारिक शिक्षा ग्रहण गर्न ऋषिकेश प्रस्थान गर्नुभएको थियो ।
ऋषिकेशबाट पूर्वमध्यमा, उत्तरमध्यमा, शास्त्री र आचार्य परीक्षा उत्तीर्ण गर्नुभएका प्राडा.ढकालले भारतकै ऋषिकेशमा समेत अध्यापन गर्नुभएको थियो । साहित्य र सर्वदर्शन विषयमा आचार्य उत्तीर्ण गर्नुभएका गुरुले नेपाल सरकारको अनुसन्धान अधिकृतको रूपमा समेत काम गर्नुभएको थियो । महेन्द्र संस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्रले ‘लिच्छविकालिकानामभिलेखानां साहित्यिकमनुशीलनम्’ शीर्षकमा प्रस्तुत शोधप्रबन्धको आधारमा विद्यावारिधि उपाधि प्रदान गरेको थियो । त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थान वाल्मीकि विद्यापीठमा विसं २०३४ भाद्र १ गतेदेखि वेणीमाधव ढकाल गुरुले प्राध्यापन पेशा प्रारम्भ गर्नुभएको थियो ।
होचो कद, पावरवाला चश्मा, शिरमा टोपी, हातमा कालो झोला झुण्ड्याएर केही सोचेजस्तै लयमा प्रायः देखिनुहुने गुरु शिष्यहरुबीच निकै प्रिय र आत्मीय हुनुहुन्थ्यो । निरन्तर कलम समाएर लेखिरहने हुँदा उहाँका हातका चोर, माझी र बुढीऔंलाहरुमा गाँठा देखिन्थे । वाल्मीकि विद्यापीठको पुस्तकालयमाथिको कोठामा बसेर पढाउने गुरु आफ्ना मनमिलेका मानिसहरुसँगको मनोविनोदमा पनि उत्तिकै प्रिय हुनुहुन्थ्यो ।
यो आलेखको लेख तयार गर्दै गर्दा मेरो व्यक्तिगत जीवनमा गुरुको पूणर्तः प्रभाव परेको छ । जीवनका कुनै मोडमा बाटो अल्मलाएको अवस्थामा हात समातेरै सही मार्गनिर्देशन गर्नुहुने पूज्य गुरु प्राडा. वेणीमाधव ढकाल र प्रा.माधवराज गौतमज्यूप्रति म आजन्म ऋणी छु । एउटा अन्धकारमा रुमलिएको पथिकलाई मार्गनिर्देशन गर्ने मानिस वास्तवमै महान् हुन्छ । उहाँले मेरो विद्यावारिधिको शोधलेखन एवं निर्देशनमा गरेको सहयोग अविस्मरणीय छ । उहाँको सामिप्यता प्राप्त गरेकोमा मलाई अत्यन्तै गर्वको महसुस हुन्छ । सत्संगमा उहाँले सुनाएका राष्ट्रगुरु योगी नरहरिनाथ, डा.स्वामी प्रपन्नाचार्य र माता भुवनेश्वरीका प्रसंगहरु मानसपटलमा गुञ्जिरहेका छन् ।
प्राध्यापनसँगै प्राडा.ढकालका अनेकौं साहित्यिक, धार्मिक शैलेश खण्डकाव्य (विसं २०३०), जय ज्योतिष्मती मुमा नव्यकाव्य (विसं २०३१) पृथूदय महाकाव्य (विसं २०५५), अर्जुन शोककाव्य (विसं २०५६), स्वर्गद्वारी के महाप्रभु (विसं २०५८), दिव्यलक्ष्मी स्मृति शोककाव्य (विसं २०६५), रश्मिप्रभास खण्डकाव्य (विसं २०६९), आदि विभिन्न साहित्यिक कृतिको रचना गर्नुभयो । साथै उहाँले धर्मविज्ञान सह (विसं २०४५), ब्रहृमसूत्रशाङ्करभाष्यम् समन्वयाध्याय (२०५६), हिमवत्खण्ड, श्रीगणेशपुराण (विसं २०६६), निर्णयसिन्धु (विसं २०५७), आहिृनक सूत्रावली (विसं २०७२), त्रिशूलप्रहार रूपकम् (विसं २०५६), कुलचन्द्र गौतमसंकलित विवाह पद्धति (२०६९), श्रीमद्देवीभागवत (विसं २०७३), शिवमहापुराण (विसं २०७८), श्रीमद्भागवतमहापुराण (विसं २०८१), हरिकेलिनवनीत (विसं २०५५), काव्यदीपिका (विसं २०५७), कार्तवीर्योदयमकरन्द, (विसं२०६९) लगायत अन्य संस्कृतभाषाका महŒव पूर्ण ग्रन्थहरूको सरल, सुबोध्य नेपाली भाषामा अनुवाद पनि गर्नु भएको छ ।
त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित गरिएका संस्कृत नेपाली कोश, कर्मकाण्ड भास्कर, श्रीरामचरितम् लगायत विभिन्न ग्रन्थको सम्पादन मण्डलको संयोजकमा रहेर काम गर्नुभएको छ ।
नेपाल महात्म्य, पशुपति पुराण र गण्डकी महात्म्य समेटेर नेपाली भाषामा तयार पारिएको १६ सय पृष्ठको हिमवत्खण्ड ग्रन्थको नेपाली भाषामा अनुवाद गर्नुभएका प्राडा.ढकालको निधनले साँच्चै नै वैदिक सनातन परम्परामा आघात भएको छ । समाजमा अत्यन्त प्रचलित वैदिक धर्मशास्त्रीय ग्रन्थहरुको नेपाली एवं हिन्दी भाषामा अनुवाद गरेर अनुवादलेखन परम्पराको इतिहासमा प्राडा.ढकालको नाम स्वर्ण अक्षरले लेखिएको छ । प्राचीन संस्कृत भाषाका महŒवपूर्ण ग्रन्थहरुलाई आमसर्वसाधारणमा सहज पहुँच बनाउने कार्यमा प्राडा. ढकालको अद्वितीय योगदान रहेको छ । नेपाल एवं भारतका विभिन्न क्षेत्रमा आयोजित विभिन्न गोष्ठी, सम्मेलन तथा समारोहमा साहित्य तथा वैदिक परम्परासँग सम्बन्धित अनेकौं गहकिला सर्वस्वीकार्य कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विद्यालयदेखि तथा विश्वविद्यालयसम्म पाठ्यक्रम तथा पाठ्यपुस्तकको निर्माण गर्नुभएका प्राडा.ढकालको प्राज्ञिक योगदान स्मरणीय एवं वन्दनीय रहेको छ । ३५ वर्षको लामो प्राध्यापन कर्ममा संलग्न प्राडा.ढकालज्यूले नेपाल संस्कृत विश्वविद्यालयको प्रकाशन समितिमा संयोजक भएर नेपाली विद्वानहरुका स्वकीय एवं संकलित ग्रन्थहरूको प्रकाशन एवं सम्पादनमा महत्व पूर्ण योगदान पु-याउनु भएको थियो ।
करिब पचासवटा विद्यावारिधि शोधप्रबन्धको निर्देशक तथा विशेषज्ञको दायित्व कुशलतापूर्वक निर्वाह गर्नुभएका गुरु संस्कृतानुरागीहरुको मानसपटलमा सदैव रहिरहनुहुनेछ । नेसं.वि.अनुसन्धान परिषद् सदस्य, प्राज्ञिक परिषद् सदस्य, नेपाल संस्कृत विश्वविद्यालय पाठ्यक्रम परामर्श समिति संयोजक, नेपाल संस्कृत विश्वविद्यालय नीति, योजना र कार्यक्रम तयारी समितिको सदस्य, विश्वविद्यालय सभा–सदस्यलगायत अनेकौं महŒव पूर्ण प्राज्ञिक कार्यको कुशलतापूर्वक जिम्मेवारी सम्पन्न गर्नुभएका गुरुको प्राज्ञिक व्यक्तित्व समेत गौरव पूर्ण छ ।
तीनधारा संस्कृत छात्रावासको सुपरिवेक्षक, ने.सं.वि.अनुसन्धान परिषद्को निर्देशक एवं नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको दुई कार्यकालसम्म अध्यक्ष समेत भएर प्रशासनिक दक्षता समेत प्रदर्शन गर्नुभएका गुरु साँच्चै नै कर्मनिष्ठ हुनुहुन्थ्यो । प्राडा.ढकालले आफ्नो जीवनमा महेन्द्र विद्याभूषण (२०५३), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५४), शिक्षा दिवस पुरस्कार (२०५९), जयतु संस्कृतम् पुरस्कार (२०६०) ‘पाणिनि पुरस्कार’ (२०६०), दीर्घसेवा पदक’ (२०६२), दधिराम मरासिनी स्मृति सम्मान (२०६८) नइ पुरस्कार (२०७३), सेवानिवृत्त विद्वत्सम्मान (२०७६) लगायतका अनेकौं सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्राज्ञिक अनुसन्धानात्मक, साहित्यिक कृति तथा सामाजिक योगदानले विशिष्ट छवि बनाउनुभएका गुरुको कीर्तिशेष ज्वाजल्यमान छ । हजारौं औपचारिक तथा अनौपचारिक शिष्यगणका ज्ञानदाता प्रज्ञाद्योतित संस्कृतमनीषी प्राडा.वेणीमाधव ढकालको असामयिक देहावसानले सिंगो संस्कृत जगत् स्तब्ध बनेको छ । संस्कृत वाङ्मयको आजीवन सेवामा रहनुभएका विद्वता, सहजता र सरलताका प्रतिमूर्ति पूजनीय मुक्तात्मालाई श्री पशुपतिनाथको नित्य सान्निध्य प्राप्त होस् भनी भगवानसँग देहविमुक्त कीर्तिशेष गुरुज्यूको सायुज्य मोक्षको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच