नयाँदिल्ली । भारतीय टी-२० क्रिकेट टोलीका कप्तान रोहित शर्माले सन्न्यास घोषणा गरेसँगै टिमको नयाँ नेतृत्वबारे चर्चा सुरु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार कप्तानमा हार्दिक पाण्ड्या, ऋषभ पन्त र शुभमन गिलको चर्चा छ ।
भारतीय टिमको कप्तान बन्ने दौडमा हार्दिक पाण्ड्या सबैभन्दा अगाडि हुनुहुन्छ । उहाँलाई टी-२० विश्वकपका लागि भारतीय टोलीको उपकप्तान पनि नियुक्त गरिएको थियो । त्यसैले उहाँ भारतको अर्को कप्तान बन्ने अपेक्षा गरिएको छ । पाण्ड्याले कप्तानका रूपमा गुजरात टाइटन्सलाई आइपिएलमा च्याम्पियन बनाउनुभएको थियो । आइपिएल टिम मुम्बई इण्डियन्समा रोहितलाई प्रतिस्थापन गरेर कप्तान भए पनि सिजन भने खराब रहृयो ।
भारतीय टिमको कप्तानीका लागि ऋषभ पन्त पनि उत्कृष्ट विकल्प मानिनुहुन्छ । आइपिएलमा दिल्ली क्यापिटल्सको कप्तानी गरेको अनुभव उहाँसँग छ । यसबाहेक उहाँ विकेटकिपर हो । विकेटको पछाडि बसेर खेललाई राम्रोसँग नियन्त्रण गर्न सहज हुने अपेक्षा छ ।
रोहित र विराट दुवैले सन्न्यास लिएसँगै शुभमन गिलका लागि ठाउँ खाली भएको छ । उहाँ टोलीमा छनोट हुन सक्नुहुनेछ । शुभमन गिल पनि कप्तानका लागि राम्रो विकल्प हो । उहाँ निकै शान्त खेलाडी मानिनुहुन्छ । उहाँसँग कप्तानीको अनुभव पनि छ ।
प्रशिक्षकमा गौतम गम्भीर र वुर्केरी वेंकट रमनको चर्चा
भारतको नयाँ कप्तानसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले मुख्य प्रशिक्षकको पनि खोजी गरिरहेको छ । मुख्य प्रशिक्षकमा गौतम गम्भीर र वुर्केरी वेंकट रमनको चर्चा सबैभन्दा अगाडि आएको छ । आइसिसी टी-२० विश्वकपअघि नै प्रशिक्षक राहुल द्रविडले आफ्नो जिम्मेवारी छाड्ने घोषणा गरिसक्नुभएको थियो ।
बिसिसिआईले श्रीलंकासँग हुने शृंखलाअघि नै प्रशिक्षक र कप्तानको टुंगो लगाइसक्ने जनाएकोे छ । भारतले श्रीलंका गएर समान तीन खेलको टी-२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने तालिका छ । ट्वान्टी-२० शृंखला जुलाई २७ देखि ३१ र एकदिवसीय शृंखला अगस्ट २ देखि ७ सम्म हुनेछ ।
गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने निश्चित जस्तै छ । गम्भीरको प्रशिक्षणमा कोलकाता नाइट्स राइडर्स भर्खरै सम्पन्न इण्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको थियो । बिसिसिआईका सचिव जय साहले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि छनोट समितिले दुईजनाको अन्तर्वार्ता लिएको बताउनुभएको छ । ‘छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दुईजनाको अन्तर्वार्ता लिएको र श्रीलंकाविरुद्धको शृंखलाअघि नै नयाँ प्रशिक्षकको टुंगो लाग्नेछ,’ साहले भन्नुभयो ।
विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार गौतम गम्भीर र भारतीय महिला क्रिकेट टोलीका पूर्वप्रशिक्षक वुर्केरी वेंकट रमन अन्तिम दौडमा हुनुहुन्छ ।
विश्वकप विजेता भारतीय टोलीलाई बिसिसिआईले १२५ करोड दिने
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले टी-२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोड (भारु) पुरस्कार दिने घोषणा गरेको छ । बिसिसिआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई १२५ करोड पुरस्कार दिने घोषणा गर्नुभएको हो । ‘आइसिसी टी–२० विश्वकप २०२४ जित्ने टिम इण्डियालाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । भारतीय टोलीले प्रतियोगिताभरि असाधारण प्रतिभा, दृढ संकल्प र खेलकुद प्रदर्शन गरेको छ । यस अद्भूत उपलब्धिका लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ,’ उहाँले लेख्नुभएको छ । टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको थियो । विश्वकप जितेकोमा भारतीय टोलीलाई आइसिसीले करिब २० करोड रुपैयाँ पुरस्कार दिएको छ ।
टी-२० विश्वकप टिम अफ दी टुर्नामेन्टमा चार देशका खेलाडी
आइसिसी टी-२० विश्वकप २०२४ को टिम अफ दी टुर्नामेन्ट घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रतियोगिता समापन भएपछि प्रतियोगिताको ‘प्लेइङ-११’ घोषणा गरेको हो ।
टिममा चार देशका खेलाडी छन् । रोहित शर्मा कप्तान रहेको टिममा भारतकै सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, जसप्रित बुमराह, अक्सर पटेल र अर्सदीप सिंह हुनुहुन्छ । यस्तै, अफगानिस्तानका रहमनुल्लाह गुरबाज, रसिद खान र फजालहक फारुकीले पनि स्थान बनाउनुभएको छ ।
वेष्ट इण्डिजका निकोलस पुरन र अष्ट्रेलियाका मार्कस स्टोइनिस पनि टिम अफ दी टुर्नामेन्ट रहनुभएको छ । दक्षिण अफ्रिकाका एनरिच नोत्र्यालाई १२औँ खेलाडीका रूपमा राखिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच