पाल्पा । शिक्षा हासिल गर्न कहाँ जाने ?’ भन्ने प्रश्न सोधे धेरैको उत्तर हुन सक्छ, विद्यालय । तर विद्यालय मात्र हाम्रो शिक्षा पूरा हुँदैन ।
विद्यालयले सैद्धान्तिक ज्ञान दिन्छ भने व्यवहारिक शिक्षा भने विद्यालय बाहिर नै हुन्छ । त्यसैले तानसेनमा रहेको सेन्ट कपितानियो स्कुलका साना विद्यार्थीहरू गएको बुधबार पढ्नका लागि खेतमा गए । सधैं विद्यालयका कक्षाकोठा भित्र किताब पढ्ने उनीहरु खेतका आली र गह्रामा रमाउँदै, सिक्दै थिए । उनीहरु रोपाइँ हेर्न खेतमै पुगेका थिए ।
सहरमा जन्मिएका र सहरमै हुर्किएका बालबलिकाका लागि यो बिल्कुलै नौलो अनुभव थियो । कोही उत्साहित देखिन्थे भने कोही डराएजस्ता । कोही खेतमा हिलो खेलिरहेका थिए भने कोही छेउमा बसेर हेरिरहेका । बालबालिका, शिक्षिका र किसानहरू खेतमा रोपाइँ गर्दै रमाइरहेको दृश्य लोभलाग्दो देखिन्थ्यो । तानसेनको प्रभास फाँटमा परिचयपत्र लगाएर विद्यार्थीदेखी पाका पुस्ताका महिला, पुरुषहरु खेतमा धान रोप्दै थिए । पहिलो पटक खेतमा पुगेका विद्यार्थीहरुलाई भने धान रोपाइँ अनौठो लागेको देखिन्थ्यो ।
हामीले फेसवुक, युटुव, टेलिभिजनमा मात्र धान रोपाइँ गरेको देखेका थियौ तर आज विद्यालयले हामीहरुलाई किसानको खेतमै सहभागी गराएर आफै धान रोप्दा निकै मजा आएको विद्यार्थी अदिती बस्यालले बताउनुभयो । किताबमा असारमा धान रोप्ने भनेर त पढियो तर कसरी धान रोपिन्छ, कसरी विउ राखिन्छ, खेतका गह्राहरुमा हिलो कसरी मिलाईन्छ भनेर जानेका थिएनाैँ आज फाँटमै गएर सर -मिसहरु साथी संगीहरुसँगै मिलेर धान रोपेको अर्की विद्यार्थी अमृता रावलको भनाई छ । अर्की विद्यार्थी मनिषा श्रेष्ठ किताबमा पढेको भन्दा खेतमा गएर कृषकसँग काम गर्दा छुट्टै अनुभव भएको सुनाउनुुभयो । ‘कक्षाकोठामा बसेर किताबमा खेती किसानीको बारेमा पढेको भन्दा आफैं खेतमा आएर काम गर्दा छुट्दै अनुभव हुँदोरहेछ,’ उनले भनिन्, ‘आजसम्म खेतमा काम गरेको थिइनँ । खेतमै आएर धान रोप्न सिकें, कृषकसँग कुरा गर्न पाएँ, खुसी लागेको छ ।’ ‘छुपुमा छुपु हिलोमा धान रोपेर छौडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला...’ भन्ने कविता कक्षा–५ को नेपाली विषयमा पढेकी थिए’, उहाँले भन्नुुभयो, ‘कक्षामा पढ्दा भन्दा यहाँ आएर कविताको वास्तविक अर्थ बुझियो । कवितामा पढेको जस्तो सजिलो नहुने रहिछ, धान रोप्न । धेरै मेहनत गर्नुपर्ने रहिछ ।’
विद्यालयकी शिक्षिका अप्सरा न्यौपाने, सकुन्तला बोहोरा, सिष्टर रेजिना, शिक्षकहरु तुल्सीराम पोखरेल, दिपक बस्यालसँगै विद्यार्थी अदिती बस्याल, अमृता रावल, प्रसुन पोखरेल, रदीप बज्राचार्य, समिप गोदार, सिमसन घर्ती अनिस श्रेष्ठसँगै कक्षा ६ र ७ का विद्यार्थीहरु समेत धान रोप्न तानसेनको प्रभास फाँटको हिलो खेतमा पसेर रमाइलो गरे । शिक्षिकासँगै विद्यार्थीहरुले हिलोमा छुपुमा छुपु धान रोपे । शिक्षकहरुसँगै विद्यार्थीहरुले धान रोप्नको लागि खेतका गह्राहरु मिलाउने, आली लगाउने, खेतका गह्रा सम्माउने, धानको विउ एक स्थानबाट अर्काे स्थानमा ओसार पसारको काममा सघाए ।
नेपाल कृषि प्रधान देश हो, हिमाल, पहाड तराई जताततै नेपालमा धान खेती गरिन्छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई नेपाली खेती प्रणाली, खेती गर्ने तरीका बारे सिकाउन, देखाउन र व्यवहारमै महशुस गराउन धान रोपाइँमा सहभागी गराएको विद्यालयकी प्रिन्सिपल सिष्टर एनिस जोसेफले बताउनुभयो । हामी विद्यार्थीलाई नेपाली मौलिक भेषभुषा, भाषा, परम्परागत शैली, संस्कृति र देशको कृषि प्रणाली सिपसँग जोड्ने अभ्यासमा निरन्तर लागि परेको विद्यालयकी प्रिन्सिपल जोसेफले बताउनुभयो ।
धान रोपाइँमा सहभागी भएका विद्यार्थीहरु रमाएका छन्, खुसी भएका छन्, धान रोप्ने तरीका सिकेका छन्, विद्यार्थीले नयाँ ज्ञान पाएका छन्, विद्यार्थीलाई कक्षा कोठामा मात्र होइन व्यवहारिक शिक्षा दिनुपर्छ भनेर खेतमा धान रोप्ने कार्यमा सहभागी गराएको विद्यालयका इसिए संयोजक दीपक बस्यालले बताउनुभयो ।
पछिल्लाे समय बालबालिका मोबाईल र ईन्टरनेटमा मात्रै बढी केन्द्रीत हुने, व्यवारिक ज्ञान, सिप, कृषि खेती प्रणालीको बारेमा जानकारी कम भएकाले बालबालिकाहरुलाई व्यवहारिक अभ्याससँगै कामको अनुभव सिकाउन धान रोपाइँमा सहभागी गराएको विद्यालयका शिक्षक तुल्सीराम पोखरेलले बताउनुभयो । धान रोपाइँ सहभागी भएका विद्यार्थी बालबालिकाहरुले आफुहरुले धान रोप्न सिकेको बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच