जुनियर निशाले तोडिन् सिनियरको कीर्तिमान

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । लुम्बिनीकी निशा चौधरीले १२औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा सिनियरको राष्ट्रिय कीर्तिमान तोड्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो ।

यसअघि शिलाले सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । जुनियरमा भने यो स्पर्धाको कीर्तिमान विपना परियारको नाममा ५.०९ मिटर थियो । निशाले मंगलबार एक सय मिटर दौडमा पनि १२.५३ सेकेन्ड समय निकाल्दै जुनियर राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारु सम्मिलित लुम्बिनी टोलीले चार गुणा एक सय मिटर रिले ५४.२० सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान स्थापित ग¥यो । यसअघि ५४.४० सेकेन्डको कीर्तिमान तत्कालीन पश्चिमाञ्चलको नाममा थियो ।

जुनियरमै अर्को कीर्तिमान छात्र लङजम्पमा लुम्बिनीका सलिम देवानले बनाउनुभयो । उहाँले ६.८४ जम्प गर्दै २०६५ मा भुवन महतोको नाममा रहेको ६.५३ मिटरको कीर्तिमान भंग गर्नुभयो । यसै स्पर्धामा दोस्रो हुनुभएका लुम्बिनीका सुदिप थारुले पनि भुवनको कीर्तिमान उछिन्ने क्रममा ६.६५ मिटरको प्रदर्शन गर्नुभएको छ ।

कराँतेमा चार स्वर्ण, तीन रजत र चार कास्यसाथ बागमती टिम च्याम्पियन बन्यो । दुई स्वर्ण, तीन रजत र एक कास्यसाथ सुदूरपश्चिम दोस्रो भयो । तेस्रो भएको गण्डकीले दुई स्वर्ण, एक रजत र चार कास्य हासिल गर्‍यो ।

भलिबलको छात्रमा गण्डकीले कर्णालीलाई २५-१५ र २५-१७ तथा लुम्बिनीले सुदूरपश्चिमलाई २५-१४ र २५-१८ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगे । छात्रामा लुम्बिनीले कर्णालीलाई २५-१० र २५-१३ तथा बागमतीले गण्डकीलाई २५-१४ र २५-१३ को सिधा सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

यस्तै कबड्डीको छात्रामा सुदूरपश्चिमले उपाधि हात पार्‍यो । पाँच टिम सहभागी राउन्ड रोविन लिगमा सुदूरपश्चिमले शतप्रतिशत जित निकाल्दै उपाधि जितेको हो । सुदूरपश्चिमले आठ अंक जोड्यो । गण्डकी ६ अंकसाथ दोस्रो भयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको प्रतिस्पर्धामा समान ६-६ अंक जोडेका सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त हुने भएको छ । छात्रमा पनि पाँच टिम सहभागी छन् ।

तेक्वान्दोमा बागमती टिम च्याम्पियन बनेको छ । चार स्वर्ण, एक रजत र दुई कास्यसाथ बागमती समग्रमा टिम च्याम्पियन बनेको हो । दोस्रो भएको लुम्बिनीले एक स्वर्ण तथा तीन/तीन रजत र कास्य जित्यो । तेस्रो स्थानमा चित्त बुझाएको सुदूरपश्चिमले एक स्वर्ण हात पा¥यो । विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

मार्सल आर्ट्समा बागमतीकै दबदबा रहृयो । उसुमा पनि बागमती नै टिम च्याम्पियन बन्नेक्रममा तीन स्वर्ण, दुई रजत र पाँच कास्य जित्यो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दुई स्वर्ण, तीन रजत र एक कास्यसाथ सुदूरपश्चिम दोस्रो भयो । तेस्रो स्थानमा रहेको कर्णालीले एक स्वर्ण प्राप्त गर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?