अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेलमार्फत २५३, वेभसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत दुई र अन्य गरी २५ उजुरी परेका छन् । यसैगरी, आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४, हेटौँडामा ८५, इटहरीमा ९४ र आयोगको मुख्य कार्यालय टंगालमा ७९४ उजुरी परेको थियो ।

आयोगले चालु आर्थिक वर्षको २० दिनमा घुस मागेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक उप-सचिव र दुई अधिकृत छन् । यही साउन १ देखि साउन २० गतेसम्ममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय, टंगाल तथा त्यस मातहतका कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । साउन १८ गते आन्तरिक राजस्व कार्यालय, महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई आयोगको टोलीले घुससिहत पक्राउ गरेको हो । प्रधानले कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग तीस हजार घुस मागेको उजुरी परेपछि आयोग टोलीले रकमसहित उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यस्तै, साउन १८ गते सेवाग्राहीबाट घुसबापत लिएको ६ लाखसहित र स्रोत नखुलेको १६ लाख ५० हजारसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पक्राउ परे । आयोगको टोलीले नेपाललाई नागपोखरीस्थित एक होटेलबाट घुसबापतको रकमसहित नियन्त्रणमा लिएको थियो । त्यससम्बन्धी अनुसन्धान अघि बढेको प्रवक्ता भण्डारीले बताउनुभयो ।

त्यस्तै, चालु आवकै पहिलो दिन साउन १ गते कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीलाई कञ्चनपुरस्थित आयोगको टोलीले ३० हजार घुससहित पक्राउ गर्यो। घोडाघोडी नगरपालिका-१ स्थित नवरत्न होटेलबाट सेवाग्राहीको ३० हजार घुसबापतको रकमसहित उनी पक्राउ परेका थिए । सेवाग्राहीको रकम भुक्तानी दिने क्रममा ३० हजार घुस माग गरेको भन्ने उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । आयोगले आव २०७८/७९ मा भ्रष्टाचार भएको भन्दै १३१ अरोपपत्र विषेश अदालतमा दायर गरेको थियो । सार्वजनिक निकायमा हुने भ्रष्टाचारको उजुरीको आधारमा आयोगले अनुसन्धानपछि आरोपपत्र दायर गरेको हो । चालु आर्थिक वर्षको साउन २० गते भित्रमा आयोगले छ आरोपपत्र दायर गरेको छ ।

गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुम्लाको अदानचुली–१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरूले २१ लाख ४७ हजार ४९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा अदानचुली गाउँपालिकाका इञ्जिनियर मकरध्वज शाही, असिस्टेण्ट सव-इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी रहेका छन् । दायर गरिएको मुद्दामा उनीहरू सबैसँग २१ लाख ४७ हजार ४९२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

मुगुको तत्कालीन वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

यस्तै, आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले आर्थिक वर्ष २०७६÷७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा मुगुको डिभिजन वन कार्यालयका तत्कालीन सव-इञ्जिनियर गोर सिंह बडुवाल, असिष्टेण्ट सब–इञ्जिनियर हिमाल कुमार मल्ल, उपभोक्ता समितिका अध्यष मान बहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही रहेका छन् । दायर गरिएको मुद्दामा उनीहरूसँग जनही ६ लाख ३२ हजार ६७७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?